कसले गर्यो मनमायाको हत्या ?

  प्रकाशित मिति
१३ आश्विन २०७७, मंगलवार ११:५५


फोटो : ओमकार टाइम्स, गौरादह

गौरादह, १३ असोज । गौरादह–१ की ६५ वर्षीया मनमाया भण्डारीको हत्याको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले आज दिनभरिमा अभियुक्तका बारेमा केही न केही तथ्यहरु सार्वजनिक गर्ने अनुमान लगाइएको छ ।

‘हामी गहिरो ढङ्गले घटनाको अनुसन्धान गरिरहेका छौं,’ प्रदेश प्रहरीका एक उच्च अधिकारीले लोकतन्त्र पोस्टसँग भने–‘आज भरेसम्ममा केही न केही टुङ्गो लाग्न सक्छ ।’

गौरादहको नयाँ घरमा बस्न थालेको पहिलो दिन नै मनमायाको सोमवार दिउँसो विभत्स हत्या भएको थियो ।

घर सफा गर्दै गर्न अह्राएर गौरीगञ्ज बजार गएका उनका पति अपरान्ह साढे ४ बजेतिर घर फिर्दा हात बाँधेको अवस्थामा खाटमुनि मनमायाको लाश भेटिएको थियो ।

प्रहरीले चन्द्रगढी, विराटनगर र धरानमा उपलब्ध साधन, स्रोत र जनशक्ति प्रयोग गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।

शिवसताक्षीको झिलझिलेमा गत महिना यस्तै अर्को हत्यामा प्रहरीले अभियुक्त पत्ता लगाएको थियो । तालिमप्राप्त कुकुरको प्रयोग लगायतका उस्तै प्रविधि प्रहरीले यो घटनामा समेत प्रयोग गरिरहेको छ ।

कुकुरले दियो सङ्केत

धरानबाट ल्याइएको तालिम प्राप्त कुकुरले घटनास्थल सुँघेर हत्यारा भागेको हुनसक्ने बाटो ट्रयाकिङ गरेको स्रोतले जनाएको छ ।

कुकुरले घटनास्थल पूर्वको किस्ने खोलासम्म सम्भावित अभियुक्त भागेको सङ्केत दिएको बताइएको छ । खोला पारि भने कुकुरले ट्रयाकिङ गर्दैन ।

सोमवार मृतक मनमाया भण्डारी आफ्ना पति भीम भण्डारीसँग किस्ने खोला पूर्वस्थित ढ्याङ्ग्री भन्ने ठाउँको आफ्नो पुरानो घरबाट गौरादहको नयाँ घरमा आएका थिए ।

२ छोरा र एक छोरी भएका भण्डारी दम्पत्ति गौरादहमा आएकै दिन हत्या हुनुलाई अनुसन्धान अधिकारीहरुले निकै सुक्ष्म ढङ्गले अध्ययन गरिरहेको बताइएको छ ।

प्रहरीले मृतक दुश्मनी, पारिवारिक झगडा, छिमेकीसँगको सम्बन्ध, लगाएका गरगहना, नगद लगायतको बहुमूल्य सम्पत्ति आदिका बारेमा सोधीखोजी गरेको बताइएको छ ।

‘अपराधीले केही न केही दसी छाडेकै हुन्छ, केही ढिलोचाँडो हुनसक्छ तर अपराधी उम्किन सक्दैन,’ प्रदेश प्रहरीका एक उच्च अधिकारीले भने–‘अनुसन्धान जारी रहेका बेला सबैकुरा भनिहाल्नु मनासिव हुँदैन, जे पत्ता लाग्छ मिडियामा दिइहाल्छौं ।’

प्रहरीले घटनास्थल र वरपर केही नगद, बैङ्कको कागजातलगायतका प्रमाण सङ्कलन गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: