कसले घटायो रे लोडसेडिङ ?

  प्रकाशित मिति
७ जेष्ठ २०७४, आईतवार १७:०८


 

pradip
प्रदीप नेपाल

कुलमान घिसिङले लोडसेडिङ समाप्त पार्ने प्रक्रिया सुरु गरेर राम्रो काम गरेका हुन् । भार व्यवस्थापनमा दक्षता देखाएर उनले काठमाडौँ उपत्यकामा चौबीस घण्टा उज्यालो दिएको कुरालाई सबैले सकारात्मक रूपमा लिनुपर्छ । कुलमानको गीत गाउनेहरूले एकैचोटि सिङ्गो नेपालमा बिजुलीको अँध्यारो अन्त्य भएको हल्ला गरेर हैरान पारे । सत्य के हो भने कुलमानजीले पहिले उपत्यकामा लोडसेडिङ अन्त्य गरे र सिङ्गो नेपाललाई चौबीसै घण्टा उज्यालो दिने उनको अभियान अहिले पनि जारी छ । कुलमान घिसिङको प्रयत्नले सफलताको पाइला चुमोस् । यो मेरो शुभकामना !

यो सफलतालाई माओवादीको प्रचारयन्त्रले अत्यन्तै वितण्डावादी ढङ्गले प्रचार गरेको देखेर म छक्क परेको छु । ‘केपी ओलीको १८ घण्टा अँध्यारो, माओवादी सरकारको २४ घण्टा उज्यालो’ अथवा ‘एमाले आउँछ, कुलमान हटाउँछ’ आदि आदि । आफूसित सकारात्मक परिणाम नहुनाले माओवादी केन्द्रका प्रचारविज्ञहरूले यो वितण्डा मच्चाएका हुन् ।

यथार्थमा केपी ओलीको पालामा १० घण्टाभन्दा कम अँध्यारो थियो । तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले कुलमानलाई हटाएकी होइनन्, उनको म्याद नथपेकी मात्र हुन् । कुलमान त्यतिबेला चिलिमेका प्रमुख थिए ।

अहिले एमालेका केही केही नेता कार्यकर्ता ‘केपी ओलीले एक वर्षमा लोडसेडिङ हटाउँछु भन्नुभएको थियो, अहिले त्यही कुरो भएको मात्र हो’ भनेर रक्षात्मक प्रतिवाद गरिरहेछन् । यो पनि बेकारको कोसिस हो । लोडसेडिङ समाप्तिको जस कुलमान घिसिङलाई नै जान्छ । अरू कसैले दावी नगर्नु राम्रो । यो माओवादी वितण्डा, जलस्रोत क्षेत्रको काङ्ग्रेसी वितण्डा जस्तै हो ।

२०५१ सालमा गिरिजाप्रसाद कोइरालाले संसद भङ्ग गरेपछि विश्व बैङ्कले अरुण तेस्रोमा ऋण सम्झौता गर्ने प्रक्रिया थाल्यो । नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले विश्व बैङ्कलाई एउटा पत्र लेखे–चुनावी सरकारसँग दीर्घकालीन असर पार्ने सम्झौता नगरियोस् भनेर । एमालेका नेताहरू अरुण तेस्रोको जस लिन चाहन्थे । त्यसैले माधव नेपालको पत्रमा चुनावी सरकारसँग होइन, चुनावपछि आउने सरकारसँग मात्र यो सम्झौता गरोस् भन्ने सोच लुकेको थियो ।

loadseddingचुनावी माहोल पूरै एमालेको पक्षमा थियो र एमालेका नेताहरू दोस्रो प्रतिनिधिसभामा बहुमतको सरकार बनाउछौँ भन्ने सोचमा थिए । त्यसैले माधव नेपालको पत्र अरुण तेस्रोप्रति सकारात्मक थियो । आपूmले जस लिन पाउने आशयको थियो । तर ‘चुनावी सरकारसँग दीर्घकालीन असर पार्ने’ भन्ने वाक्यका कारण अरुण गयो, एमालेले अरुण खायो भन्ने वितण्डा मच्चाएको हो नेपाली काङग्रेसले ।

अरुण तेस्रो प्रकरणमा राम्रो जानकारी राख्ने मान्छे अहिले पनि जीवितै छन् । यति ठाडो झूट त बोल्नु हुँदैन नि ! रामशरण महत, गोपाल शिवाकोटी चिन्तन, मातृका तिम्सिना, अर्जुन कार्की, हरिप्रसाद पाण्डे अरुण तेस्रोका जीवित साक्षी हुन् । नेपाली काङ्ग्रेस अरुण तेस्रोको जस एमालेले नपाओस् भन्ने चाहन्थ्यो र त्यो चाहना स्वाभाविक पनि थियो ।

रामशरण महत विश्व बैङ्कसँग निकट हुनुहुन्थ्यो र नेपालमा संसदीय निर्वाचनमा पराजित भएर पनि राष्ट्रिय योजना आयोगको शक्तिशाली उपाध्यक्ष हुनुहुन्थ्यो । गोपाल चिन्तन, मातृका तिम्सिना र अर्जुन कार्की तीनै जना वातावरण बचाऊ अभियानका अभियन्ता हुनुहुन्थ्यो। एउटा ठट्टा चलेको पनि थियो उतिबेला–पुतली बचाउनेहरूले अरुण तेस्रो आउन दिएनन् । हरिप्रसाद पाण्डे एमालेका जलस्रोत मन्त्री हुनुहुन्थ्यो । उहाँ आफ्ना विज्ञ सहयोगीहरूसहित विश्व बैङ्कको केन्द्रीय कार्यालय पुग्नुभएको थियो । उहाँलाई नै हो विश्व बैङ्कका अधिकारीले अरुण तेस्रोमा लगानी नगर्ने अन्तिम निर्णय सुनाएको ।

तर एउटा गम्भीर पक्षतिर कसैको ध्यान गएको देखिएन । यो लोडसेडिङ समाप्तिमा भारतबाट आयात गरिने बिजुलीको ठूलो हिस्सा छ । अहिले नेपालले ३७४ मेगावाट बिजुली भारतबाट आयात गर्छ । यो आयात रोकियो भने नेपाल फेरि ७÷८ घण्टा लोडसेडिङको अँध्यारोमा जान्छ ।
भारत हाम्रो दुष्ट छिमेकी हो भन्ने सबैलाई थाहा भएकै कुरा हो । यो कुनै आरोप होइन । आफूसँग अनुमति नलिई नेपालको संविधान जारी गर्यो भन्ने रिसमा नेपालका विरुद्ध छ÷छ महिनासम्म पूर्ण नाकाबन्दी लगाउने मुलुक भारत नै हो । भोलि उसलाई रिस उठ्यो भने भारतले नेपाललाई झ्याप्पै अन्धकारमय बनाउन सक्छ । यो खतरातिर नहेरी फुरफुर गर्नुको कुनै अर्थ छैन ।

भारतले बिजुली नदिँदा पनि नेपाल झलमल्ल भइरहोस्, हामीले यो दिशातिर सोच्ने हो । अर्को कुरातिर पनि हल्लाखोरहरूको ध्यान जान सकेको छैन । भारतबाट आयात गरिने प्रति युनिट बिजुली आठ रुपैयाँको आसपास तिर्नुपर्छ । विद्युुत प्राधिकरणले नेपाली उत्पादकलाई पनि आठ रुपैयाँ दिने हो भने नेपालभित्रैबाट जति पनि बिजुली उत्पादन गर्न सकिन्छ ।

एमालेलाई जति आरोप लगाए पनि यतिबेला सङ्गठित रूपमा भन्ने हो भने त्यही पार्टीका कार्यकर्ताले बनाएका आयोजनाले कूल नेपाली उत्पादनको १० प्रतिशत ओगटेको छ । अहिलेसम्म एमालेको जलस्रोत तथा ऊर्जा विभागमा सङ्गठित नेता कार्यकर्ताको लगानीमा एकदेखि १४ मेगावाटसम्मका एक दर्जनभन्दा बढी आयोजनाले राष्ट्रिय प्रसारणमा योगदान दिइरहेका छन् । यतिबेला २२ मेगावाटदेखि ४२ मेगावाटसम्मका आयोजनाहरू निर्माणाधीन छन्, जसले आगामी तीन वर्षमा १०० मेगावाट राष्ट्रिय प्रसारणमा जोड्नेछन् ।

आज म इतिहास कोट्याउने र अरू पार्टीलाई लज्जित तुल्याउने पक्षमा छैन । नेपाली ऊर्जा विकासको इतिहासमा अहिलेसम्म ठूलो रहेको कालीगण्डकी, विद्युत प्राधिकरणले नमुना मानेको चिलिमे र केही समयपछि नेपालको सबैभन्दा ठूलो हुने क्षमतामा निर्माण भइरहेको माथिल्लो तामाकोशी निर्माणको श्रेय पनि एमालेकै खातामा जान्छ ।

माथिल्लो तामाकोसी नर्वेलाई दिने मनस्थितिमा थियो नेपाली काङ्ग्रेस । तर विद्युत प्राधिकरणका केही इञ्जिनियर, नेकपा एमाले, माथिल्लो तामाकोसी सरोकार समाज र स्थानीय जनताको चर्को दवाबका कारण काङ्ग्रेस पछि हटेको थियो । इलामको पुवा खोलाको सुरुङमा दुई÷दुई पटक म नै छिरेको थिएँ । तर उद्घाटनको श्रेयचाहिँ पशुपतिशमशेरजीको खातामा गयो । यसमा कुनै गुनासो नगर्नु नै राम्रो होला ।

लोडसेडिङको यो यथार्थ कथा पढेपछि पाठकलाई पनि लाग्नुपर्ने हो–कुनै पनि सरकारले दश हजार र बीस हजारको भाषण नगरी, बिजुली बेच्ने सपना नदेखी, नेपाल र नेपालीका लागि मात्र बिजुली उत्पादन गर्ने वातावरण बनाइदिने हो भने नेपाल कहिल्यै अँध्यारो हुनेछैन । त्यसैले आजको नारा हुनुपर्छ–आत्मनिर्भर विद्युत उत्पादन स् समृद्धिको अभियान ।

(लेखक नेकपा एमालेमा नेता तथा पूर्व मन्त्री हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: