कस्तोे शिक्षा दिदैछौँ सन्तानलाई ?

  प्रकाशित मिति
४ चैत्र २०७५, सोमबार १०:०८


नीता पोखरेल

संसार ध्रुवीकरण भइरहँदा देश गाउँमा परिणत भएको प्रतीत हुनु आश्चर्य मान्नु पर्ने कुरा हँुदैन । धर्म, संस्कृति, रहनसहन, भेषभुषा र चालचलनको अनुकरणलाई पनि समय परिवर्तन स“गसँगै सामान्य मान्नु पर्दछ । तर, गुह्य कुरा हामीले हाम्रो आफ्नोपनबाट टाढिनु भने हुँदैन । हाम्रो आफ्नो पहिचान नै गुमनाम बनाएर कोही पनि समाजमा आत्मसम्मान पूर्ण बाच्न सक्दैनौँ ।

हामी सबै केही गर्न, केही पाउन प्रयत्नरत छौँ । हामी आफु केही पाउनका लागि अरुलाई पछार्ने र लडाउने काम गरिरहेका छौँ भने निश्चय पनि हामी एउटा विकृत समाजको स्वागत गरिरहेका छौँ । हामी पछिका पुस्ताले हाम्रो अर्ती उपदेश लिने नभई हाम्रो व्यवहार सिकिरहेका हुन्छन् । हामी हाम्रो व्यवहारमा कति स्पष्ट र तटस्थ छौँ भन्ने कुराले निकै महत्वपूर्ण भूमिका खेल्छ, पछिल्लो पुस्ताको व्यक्तित्व निर्माणमा । सामाजिक सञ्जालको प्रयोगको पह“ुच आज हरेक घर–घरमा पुगिरहेको अवस्था छ । जानेर नजानेर हामीहरु कतै मिसयूज त गरिरहेका छैनौँ सामाजिक सञ्जालको ? अवश्य एकपल्ट सबैले सोच्नु पर्ने बेला आएको छ ।

हाम्रा नानी बाबुहरु हामीभन्दा निकै तेज र तीव्र गतिमा अगाडि बढिरहेका छन् । उनीहरुको अध्ययन र खोजलाई सामाजिक सञ्जाल र इन्टरनेटका माध्यमले निकै फराकिलो बनाइदिएको छ । गाउँका केटाकेटी शहरको सिको गर्न सजिलै सक्छन् । शहर मात्रै कहाँ हो र विश्वस्तरीय गतिविधिका बारेमा सूचना राख्न सक्छन् । तर, उनीहरुलाई रचनात्मक निर्देशनको जरुरत पर्दछ । यस्ता रचनात्मक निर्देशन सही समयमा सही तरिकाले प्राप्त गर्न नसक्दा तिनै ज्ञान÷बुद्धि पनि गलत ठाउँमा प्रयोग भई बाबु नानीले गलत बाटो पनि समात्न सक्छन् । बालबालिकाको आचरण बनाउने भनेको पहिलो पाठशाला घर नै हो र पहिला गुरु भनेकै बाबुआमा हुन् । बालबालिकाले सबैभन्दा पहिला बाबुआमाकै सिको गर्छन् नकि उनीहरुले दिएको आज्ञा पालन । उनीहरुबाट धेरै आशा राख्नुभन्दा पनि उनीहरुलाई सही समयमा सही शिक्षा र ज्ञान दिनुका साथै उनीहरुको आवश्यकता र आत्म सम्मानलाई बाबुआमाले ध्यान दिनैपर्छ ।

आमा बुबाको अनावश्यक अर्ती÷उपदेशले बच्चाको मस्तिष्कमा त्यति ठाउँ लिदैन, जति आमाबुबाको चालचलन, बोलीचाली र व्यवहारले तिनको जीवनमा प्रभाव पारिरहेको हुन्छ । बच्चा उदण्ड हुनु, असभ्य हुनु, जिद्दी हुनु सबै आर्जित व्यवहार हुन् । तिनले परिवार, समाज र स्कुलबाटै सबै कुरा सिकिरहेका हुन्छन् । तर, के सही हो र के गलत हो भनी छुट्याउन र तिनलाई रचनात्मक बनाएर अगाडि बढ्न प्रोत्साहित गर्ने काम र कर्तव्य अभिभावककै हुन्छ ।

तपार्इं हामीले सकारात्मक भएर आफ्ना नानी बावुहरुलाई सिकाउन बुझाउन सक्दैनौँ भने कसले तिनलाई बुझाउने त ? तपाईं भन्दा न्यानो र स्नेही अरु को हुन सक्छ तिनका लागि ? ब्यस्त जीवनशैलीका कारण या तपाईं हाम्रा निहीत स्वार्थ र बाध्यताका कारण आफ्ना सन्तानलाई मानसिक आघात पुर्याउँदै हुनुहुन्छ भने तपाईं कदापी असल र जिम्मेवार अभिभावक हुन सक्नु हुने छैन । तपाईंको सामिप्यता र उपस्थिति तपार्इंका सन्तानको लागि कति महत्वपूर्ण छ भन्ने कुरा तपाईंले हिजो नबुझेकै कारण आज हाम्रा बच्चाहरु कुलत, कुमार्ग र कुविचारका सिकार भइरहेका छन् । तपाईं हाम्रा सन्तान मात्रै किन तपाईं हामी पनि असभ्यताको पराकाष्ठमा पुगिरहेका त छैनौँ ? यसको जवाफ तपाईं हामीले समयको कुनै कालखण्डमा दिनैपर्छ । तपाईं हामी हाम्रा नानी बाबुहरुलाई नै गलत मार्गमा हुत्याइरहेका छौँ जानी नजानी ।

पैसा खर्च गरेर ठूलो स्कुल या क्याम्पसमा पढाउँदैमा तपाईं हाम्रा सन्तान ठूलो मान्छे बन्दैनन् । ठुलो मान्छे हुनु भनेको डिग्री र डाक्टर अगाडि झुण्डिनु मात्रै होइन । हुनसक्छ यी झुण्डिएका पदहरुले उनीहरुलाई योग्य र दक्ष त बनाउँछ तर कहिले काहीँ मानव भई समाजमा उभ्याउन नसक्ने पनि हुन्छ ।

सन्तानलाई राम्रा स्कुल या युनिभर्सिटीमा पढाउन सकिएन या पढ्न पाएनन् भनेर जति दुखी र बेखुशी हुनुहुन्छ, त्यो भन्दा बढी चिन्तन हाम्रा व्यवहार र सिकाइका हस्तान्तरणले हाम्रा सन्तानलाई कस्तो बाटोतर्फ धकेल्दैछौँ भन्ने कुरामा केन्द्रित बनौँ, यदि यसो गर्न सकेमा हाम्रा सन्तानले हामीलाई कहिल्यै निराश पार्ने छैनन् । तर, बालबच्चालाई हाम्रा व्यवहारले निरीह जीवन ज्यून र मानसिक यातना पुर्याइरहेको छ भने अवश्य हामी बावुआमा हुनको बावजुद पनि अपराध गरिरहेका हुन्छौँ ।

हिजो हामी कसरी हुर्कियौँ यो मुल मुद्दा होइन । जसरी हिजोले आजको हाम्रो सिकाइलाई विस्थापित गर्दै गइरहेका छन्, जसरी हिजोले आज हामीलाई जीवन जिउन मुस्किल बनाइरहेका छन् या हिजोले आज हाम्रो वर्तमान सिकाइ र बुझाइलाई कठिन तुल्याइरहेका छन् या हिजोकै कारण आज हामी अब्बल र दक्ष बन्दै गएका छौँ । यो कुराको रचनात्मक विश्लेषण हामी स्वयम्ले गरेर हाम्रा बालबालिकालाई भविष्यप्रति सचेत र जिम्मेवारीको बोध गराउन आजैदेखि नथाले अवश्य भोलिको भोली तिनका लागि कठीन बन्न सक्छ । हिजो हामी कसरी हुर्कियौँ भनेर आजका सन्तानलाई तुलना गर्दै त्यस्तै प्रकृतिबाट दीक्षित गर्दैछौँ । यदि यसो हो भने अवश्य जानी नजानी आजका बालबालिकाको तीव्र वेगमा अवरोध सिर्जना गरिरहेका छौँ ।

हामीले सन्तानलाई प्रतिस्पर्धी बन्न प्रेरित गर्ने होइन, प्रतियोगी बन्न प्रेरित गरौँ । उत्कृष्ट मात्रै आकर्षण होइन । सामान्य भित्र रहेको उत्कृष्ट खोज्न सिकाऔँ । असफलतास“ग पनि झेल्न सिकाऔँ । सफल हुनु मात्रै तारिफ योग्य होइन, प्रयास जारी राख्न सधैँ उत्प्रेरित गरौँ । निरन्तरताले नै अन्ततः जीवनमा मानिसलाई सही मार्गमा पुर्याउँछ । आफ्ना सन्तानलाई अरुस“ग दाजेर उनीहरु भित्र भएको क्षमताको क्षय हुन नदिऔँ । उनीहरुको क्षमताको खोजी कार्यमा बरु अभिभावक जुटौँ ।

……………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: