कस्तो बन्ला त मेचीनगर ?

  प्रकाशित मिति
२९ जेष्ठ २०७५, मंगलवार १७:३८


स्थानीय निकायको पुनः संरचना पश्चात मेचीनगर भिमकाय बनेको छ । साविक मेचीनगर नगरपालिकामा बाहुनडाँगी, ज्यामिरगढी, दुहागढी र धाइजन गाविस गाभिएर बनेको भिमकाय नगरपालिका समृद्ध नेपाल र खुसी नेपाली अन्तर्गत कस्तो बन्ने हो हिजो आजको दिनमा सोच्दैछु । निर्वाचन पश्चात करिब एक वर्षको अवधिलाई हेर्दा सबैभन्दा बढी बाटाहरु ग्राभेल भएका छन् । काँकरभिट्टा क्षेत्रमा सतह नालाहरु निर्माण हुने क्रममा छन् । शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनमा खासै केही परिवर्तनका सङ्केत देखिएका छैनन् । मानव विकास, सामाजिक पुँजी निर्माणका क्षेत्रमा समेत केही मात्रामा झिना मसिना कार्यहरु भइरहेका देखिन्छन् ।

उत्तरमा इलामदेखि दक्षिणमा गलगलियाको सिमानासम्मको लामो र लम्पट क्षेत्र अझ वडा नं १५ त मेची पारीसम्म पुगेको छ । यत्रो ठुला क्षेत्रमा भएका विविध भाषाभाषी, जातजातिका समस्या सम्बोधन गर्न र तिनीहरुलाई मेचीनगरका नागरिक हुँ भनेर भन्न सक्ने अवस्था सिर्जना गर्न कठिन नै छ । तर, असम्भव भने छैन । कृषिका लागि उर्वर भूमिहरु दिनानुदिन बाँझिने क्रम बढ्दो छ । कृषिका लागि उर्वरभूमि रहेका क्षेत्रहरुको संरक्षण र सिँचाइ लगायतका आवश्यक पूर्वाधार तयार गरिदिने हो भने केही मात्रामा भएपनि आयात कटौती गर्न सकिन्छ भने सानो र अल्पकालीन भएपनि रोजगारी सिर्जना हुनेछ ।

पर्यटकीय सम्भावनाको जति विज्ञापन गरेपनि विद्यमान प्राकृतिक सम्पदा जे जति छन्, तिनको रुपान्तरण नगरी प्रतिफलको आशा गर्नु सोम शर्माको कथा हुनेमा ढुक्क भए हुन्छ । तर, देश र विदेशका पर्यटकीय क्षेत्रहरुका लागि प्रस्थान विन्दु काँकरभिट्टा बन्ने कुरामा कुनै शङ्का छैन । त्यसका लागि काँकरभिट्टा लगायतका क्षेत्रहरुमा पर्यटक मैत्री होटल, वातावरण र पर्याप्त सुरक्षा आवश्यक छ । यत्रतत्र सर्वत्र विकास र समृद्धिका कुरा सुनिन्छ । यही विकास र समृद्धिका नारामा यो सरकार बनेको छ ।

विकासको बुझाइ फरक–फरक रहनु स्वभाविक नै हो तर केही आधारभुत विषयहरुम भने एकमत हुन आवश्यक छ । ठुला सहर र पूर्वाधार विकास होइन भन्ने हैन । तर, त्यतिले मात्र आम मानिसमा सकारात्मक परिवर्तनको अनुभूति हुँदैन । विद्वानहरुका अनुसार जतिजति ठूला संरचनाहरु निर्माण हुन्छ, त्यति–त्यति सङ्कट सिर्जना हुने विचार राख्दछन् । ठुला हाट बजार र सपिङ मलहरुले स्थानीय वस्तुका लागि जति बजारको अवसर सिर्जना गर्दछ, त्यसको तुलनामा बहुराष्ट्रिय कम्पनीहरुका वस्तुको बजारीकरण गर्दै रैथाने उत्पादनहरुको लोप गराउँदछ । परिणाम स्वरुप कोदाको रोटी, भुटेको मकै, सातु, मोहीलाई लोप गराइ क्रमशः चाउचाउ, कुरमुरे, पेप्सी, कोकाकोला र रियोले नेपाली समाजमा स्थान लिइसके ।

पोशाक, फेसन र गीत सङ्गीतको हकमा यही भइरहेको छ । ग्रामीण क्षेत्रमा क्रियाशील लघुवित्त संस्था तथा सहकारीहरु समेत हिजोआज उत्पादन भन्दा उपभोग सिकाइरहेका देखिन्छन् । फ्रिज किन्नका लागि ऋण दिने, लोड सेडिङमुक्त भई सक्दा समेत सोलारमा लगानी गर्ने देखिएको छ । सहकारी समेतको यही अवस्था छ । उपभोगको रैथाने प्रवृत्तिलाई परिवर्तन गर्ने, दुधबाट दही र घिउ बनाई आफ्नो आवश्यकता पूरा गरी केही रकम आर्जन गर्ने परम्परागत क्रियाकलापलाई विस्थापित गराई आवश्यकताका वस्तुहरु प्याकेटमा उपलब्ध गराउने देखिएको छ । खाद्यान्नका प्रकारहरु थपिदैछन् । अब ग्रामीण क्षेत्रका हरेक घरमा मिनरल वाटर नामको पानी भान्सामा केही वर्ष भित्र पुग्यो भने अचम्म मान्नु पर्दैन ।

आजकल हाम्रो नगरको विकासका लागि साना, झिना, मसिना योजनामा रकम विनियोजन नगर्ने बरु गौरवका योजनाहरुमा लगानी गर्ने योजना रहेको सुन्न सकिन्छ । सम्भावना नभएको कुनै वस्तु हुँदैन । शिल्पकारले जसरी एउटा काठको ठुटामा मूर्ति, फर्निचर लगायतका विभिन्न कलाकारिता देखेको हुन्छ, त्यसैगरी हाम्रा जनप्रतिनिधिहरुले सम्भावना देखेको हुनसक्छ । तर, यसरी ठुला योजना मात्र कार्यान्वयन गरिरहँदा त्यसको प्रतिफल आम मानिसमा कसरी वितरण हुन्छ त्यो हेक्का राख्न जरुरी छ ।

सन् १८३० देखि पाटनबाट तनहुँको बन्दीपुरमा व्यापारिक ध्येयले आई उद्योग समेत स्थापना गरेका व्यापारीहरु सन् १९५४ मा राप्ती भ्याली योजना सुरुआत भए पश्चात नारायणघाट बसाइँ सरे । बन्दीपुर भन्दा नारायणघाटले व्यापारीहरुलाई आकर्षण गर्यो । बन्दीपुर क्रमशः जीर्ण बन्दै गयो । हँुदै गरेको विकास अवरुद्ध भयो तर पर्यटनको अपार सम्भावना भएकाले आजभोलि फेरि तङ्ग्रिदैछ । ठुला पूर्वाधारहरु निर्माण हुने क्रममा ती शहर केन्द्रित नै हुनेछन् । जसका कारण ती क्षेत्रमा जनसङ्ख्याको चाप बढ्ने छ । अवसरका कारण जनसङ्ख्या केन्द्रित हुनु स्वभाविकै भएपनि यसबाट वातावरणीय समस्या बढ्छ जुन अहिले मेचीनगरको काँकरभिट्टामा देखिन थालेको छ । तसर्थ, अब बन्ने पूर्वाधारहरु क्षेत्रगत हिसावले मिलाएर गर्न सक्ने हो भने सन्तुलित हुन सक्छ ।

नगरमा विविध समस्या र सम्भावनाहरु रहेका छन् । तर, गौरवका योजनाहरु (ठुला) नगर्ने भन्ने होइन, ठुला योजना गरिरहँदा आम नागरिकमा कतिको लाभ पुग्ने हो भन्ने हेक्का राख्न सक्ने हो भने प्रभावकारी हुनसक्छ । एउटा कुलोको मुहान मर्मत गरिदिँदा कृषक लाभान्वित हुन सक्छन्, केही मात्रामा कृषि वस्तुको उत्पादन बढ्न सक्यो भने आयात कमी भई अर्थतन्त्रलाई बल पुग्दछ । साना सडकहरुमा थोरैमात्र रकम खर्चेर ग्राभेल गरिदिन सक्यो भने आवतजावतमा सहजता उत्पन्न हुन्छ । साना र झिना मसिना योजनामा खर्च गर्दा निम्न वर्गका लागि राहत हुने कुरामा दुईमत छैन ।

तर, यहाँ आम मानिसको महत्वलाई भन्दा पनि ठूला व्यापारी, उद्योगपति बहुराष्ट्रिय कम्पनी लगायतका लागि फाइदा पुग्ने कुरा देखिन्छ । ठूला आयोजना निर्माण गर्दा कच्चा पदार्थ मेसिनरी जस्ता वस्तुको आयात गर्दा ठुला व्यापारीलाई फाइदा पुग्ने मात्र नभई विप्रेषणवाट आर्जित मुद्रा समेत विदेसिने हुन्छ । उत्पादित वस्तु र सेवाहरुले वैदेशिक मुद्रा आर्जन गर्न सके भने त अर्थतन्त्रलाई टेवा पुग्ला नत्र भने परनिर्भरता बढ्दै जाने हुन्छ ।

सन् १९३० मा जन्मिएर कोलम्विया विश्वविद्यालयबाट विद्यावारिधि गरेका समाजशास्त्री इमानुएल वालरस्टाइनले विश्व व्यवस्था दृष्टिकोणको चर्चा गर्दै केन्द्र र पृष्ठको बारेमा ब्याख्या गरेका छन् । उक्त व्याख्याको विश्लेषण गर्ने हो भने सहर केन्द्रमा हुने र त्यसका ग्रामीण क्षेत्रहरु परिधिमा पर्ने भएकाले केन्द्रले पृष्ठबाट शोषण गर्दछ, अर्थात अब मेचीनगरका दुर्गम क्षेत्रहरु कर्णाली बन्ने छन् ।

साविक बाहुनडाँगीका खुम्बुटार, स्याङ्दानटार, पाटापुर, साविक ज्यामिरगढी दक्षिण मेची पारीका भागहरु समानुपातिक विकासका दृष्टिकोणले नगरमा जोडिन सक्दैनन् भन्ने आशङ्का सर्वत्र छ । यो आशङ्का मिथ्या सावित होस् र नगरले सबै क्षेत्रलाई जोड्ने काम गरोस् भन्ने कामना गर्नु शिवाय केही छैन । बाँकी बजेट सार्वजनिक पछाडि भन्न सकिएला ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: