बुट्टावारी । दुई वर्ष अघि पुस÷माघकै चिसो ठिही चलेका बेला पत्रकार पर्वत पोर्तेल विर्तामोडबाट काँकरभिट्टा हुइँकिदै थिए । बुट्टावारी कटेर चारआलीको जङ्गल आइनपुग्दै बाटाको दक्षिणपट्टि तत्कालीन अनारमनी–१ स्थित हिमाल फार्मको सुन्दर हरियाली बगानतिर उनको नजर गयो । पत्रकारका आँखा न हुन्–सुन्दर बगैचाको गेटै अगाडि चौतारोमा सिउसिउ गर्दै ठण्डीले कापिरहेकी एक सुत्केरी महिलालाई उनले देखेँ । तिनका काखमा नवजात शिशु रुँदै थियो अनि रोइरहेको बच्चालाई फुल्याउने प्रयास गर्दै थिए एक असहाय दम्पति ।
पर्वजी बाइक राजमार्गमै रोकेर चौतारोतिर लम्किए । त्यो चौतारो त ती दम्पतिको बाँस रहेछ । भाइटिकाका दिन जन्मेको ख्याउटे शिशु जाडोले वित्ला वित्ला जस्तो अवस्था थियो भने बाबुआमा पनि खान र बस्नको दुःखले पिरोलिएका थिए । पर्वतजीले कान्तिपुर दैनिक र जनसंसद् दैनिकमा समाचार बनाएर त्यो अवस्थाबारे दुनियाँलाई थाहा दिए । अनि ओइरिन थाल्यो सहयोग ।
कसैले सिरक, कसैले डसना । कसैलै बोराका बोरा चामल र कसैले नगद हजारौँ । समाचार छापिएपछि कालीकोटदेखि कतारसम्मबाट सहयोग जुट्न थाल्यो । सहयोग व्यवस्थित गर्न स्थानीय समिति बन्यो । समाजसेवीको रुपमा पत्रिकामा नाम टिपाउनेको ओइरो लाग्यो त्यसबेला । सहकारीमा नगद जम्मा गरियो र सरसामान रुङ्न प्रहरी पनि खटिन थाल्यो । नसोचेको सहयोग जुटेको देखेर चौतारोबासी दम्पति दङ्गै परे । आकाशबाटै धनवर्षा भएसरी भयो उनीहरूलाई । जुटेको नगदबाट एउटा घर बनाउन जग्गा किन्ने निधो भयो । एक बर्षपछि बुट्टाबारी प्रहरी चौकीनेर ५ धुर जग्गा १ लाख रुपैयाँमा किनियो पनि ।
……………..
तर अहिले कहाँ होलान् ती दम्पति ? सहयोगबाट कस्तो घर बन्यो होला ? ती दम्पति अहिले सुखी नै होलान् त ? प्रश्न सबैका मनमा उठ्न सक्छ । वास्तविकता भने निकै तीतो छ । अहिलेसम्म घर बनेको छैन । ती दम्पतिलाई दुई बर्ष अघि पत्रकार पर्वतजीले जस्तो अवस्थामा देखे÷भेटेका थिए, त्योभन्दा पनि नाजुक हालतमा उनीहरू अर्को एउटा चिसो छाप्रोमा रात गुजारिरहेका छन् । पहिले त सडक विभागको सीमाभित्र पर्ने खाली जग्गामा रहेको पक्की चौतारो जो थियो, त्यही उनीहरूको घर थियो । एक बर्ष अघि त्यो चौतारो भत्काइएको छ । हिमाल फार्म पनि अहिले छैन । त्यहाँ जग्गाको विशाल प्लटिङ हुँदैछ । केहीले रातारात करोडौँ कमाउनेवाला छन् प्लटिङबाट । चौतारो भत्काएर प्लटिङवालाले निजी बाटो निकालेका छन् । धपाइएका छन् ती दम्पति । अलिपर सडककै अर्को खाली जग्गामा सानो छाप्रो बनाएर उनीहरू बस्दै आएका छन् ।
यो दुःखको कहानी लोकबहादुर गाइनेको हो । ५० बर्षको बुढ्यौली टेक्न लागेका उनी ५ बर्षको उमेरदेखि नै आफ्ना बाबुसँग भोजपुरको माङ्दिनमा सारङ्गी रेट्दै हिड्थे । हिड्दा हिड्दै उनी गरिखाने अठोटका साथ २०४० सालतिर झापाको शनिश्चरे आइपुगे । २०६४ सालमा शनिश्चरेकै एक अबोला रइनी युवतीसँग उनले पिरती साटे । मनकुमारी चेम्जोङ नामकी ती युवतीलाई पत्नी बनाएर उनी गाउँ गाउँमा सारङ्गी रेट्दै हिडेँ । जहाँ पुग्यो त्यही बाँस बस्थे उनीहरू । तर २०७० सालमा दोस्रो छोरी जन्मेपछि बस्ने ठाउँ नपाएर उनीहरूले बुट्टावारीको सार्वजनिक चौतारोलाई नै घर बनाएका थिए ।
………………..
हिजो (शुव्रmवार) यो पङ्तिकार पुग्दा लोकबहादुर र उनको परिवार बासी भात खाएर घरबाट बाहिरिने तयारीमा थियो । पूर्व फर्किएको उनको छाप्रो बाहिर पारिलो घाम लागे पनि भित्र ओसिएको भुइमा सिरक र कपडा असरल्ल थिए । कुनै हिसावले त्यो छाप्रो मान्छे वस्नलायक थिएन । आकासमा चरा उडेको भित्रैबाट देख्न सकिन्थ्यो । ढोका थिएन, झ्याल थिएन । पातला त्रिपाल र थोत्रा जस्ता पाताले बेरा हालिएको थियो । पोहोर परार दाताले दिएका लुगाफाटा थोत्रिसकेका थिए । विजोकै देखियो लोकबहादुरको जिन्दगानी ।
‘मेरो घर कहिले बन्छ हजुर सोधिदिनु प¥यो ?’–उनले धेरैपटक यही प्रश्न दोहो¥याए ।
‘चौतारोबाट सामन्ती शोसकले खेदे हजुर, फेरि यहाँबाट पनि खेद्ने भन्दैछन् !’–उनले व्यथा पोखे धेरैपटक ।
निरक्षर गाइने परिवारको रासोबासोको विषय अझै अनिश्चित नै छ । कसैकसैले उनीहरूका नाममा उठेको पैसो खाइदिएको शङ्का गर्छन् लोकबहादुर । सहयोग जुटेको २ बर्ष र जग्गा किनिएको १ बर्ष वितिसक्दा पनि घर नबनाइए पछि उनलाई त्यस्तो लाग्नु पनि अस्वाभाविक होइन ।
लोकबहादुरकी पत्नी मनकुमारीको बोली आउँदैन । तर भान्साचुलोको सबै काम उनैले गर्छिन् । ठुलीछोरी तुलसा नजिकको सरकारी विद्यालयमा पढ्न जान थालेको एक बर्ष भयो । दिनभरि गाउँतिर सारङ्गी रेट्न जाँदा लोकबहादुर पत्नी र कान्छी छोरीलाई साथै लैजान्छन् ।
कमाएर ल्याएको अन्न र नगद राख्ने छाप्रोमा ठाउँ नै छैन । विहान टिनका बाकस र थाङ्नामुनि लुकाएर राखेका नगद र अन्नपात बेलुका गाउँ डुलेर फर्किदा चोरी भइसकेका हुन्छन् । कहिलेकाहिँ स्थानीय प्रहरी चौकीबाट उनको सुरक्षाका लागि दिउँसो र राति गस्ती गरिदिने गरेको लोकबहादुर बताउँछन् । कसैले राति नै आएर मार्ला कि भन्ने डर लागेको समेत उनी बताउँछन् ।
……………..
सम्पतिको नाउमा उनको एउटा बुढो सारङ्गी छ । बाबुले सानैमा गरिखानु भनेर दिएको अर्को सारङ्गी चोरी भएपछि उनले २०५० सालतिर गान्तोकमा ५ सय भारु तिरेर अहिले बोक्ने गरेको सारङ्गी किनेका रहेछन् ।
गाउँ गाउँ डुल्दा उनी २०३० सालमा सिंहदरवार जलेको र २०३४ सालमा मनाङका एक बाहुनले जुवा खेल्न छोरी मारेको हृदयविदारक घटनालाई गीति लयमा सुनाउने गर्छन् ।
सिंहदरवारको गीत यस्तो छ–
पहिलो सुरुप आगो लाग्यो मन्त्रालयदेखि,
हेर्दाहेर्दै क्याप्चर ग¥यो चारैतिर छेकी ।
त्यतिखेर आगोलाई कस्तो भो,
पानी थप्दा मट्टितेल जस्तो भो ।।
छोरी मारेको गीत यसरी सुनाउँछन् उनी–
दुई हजार चौतीस साल मङ्सिरको महिना,
अठार गते गएको थियो शनिवारको दिन ।
तीन नम्वर मनाङ जिल्ला क्याम्पे भन्ने गाउँ,
आफ्नी छोरी आफै मार्ने हरिप्रसाद नाउँ ।।
२०३० सालमा सिंहदरवार जलेको घटनादेखि थुप्रै कथा जोडेर विलौना गाउँदै हिड्ने लोकबहादुर गाइनेको गीत चाहिँ अहिलेसम्म कसैले लेखेको छैन । मुलुकमा गरीवको मुहार फेर्ने भाषण सुनाउने थुप्रै शासक र सत्ता फेरिइसकेका छन् । प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र सबै आइसक्यो । तर, यी लोकबहादुरको आँगनसम्म चाहिँ अहिलेसम्म कुनै राम्रोतन्त्र झुल्किएको छैन ।
‘केही भन्नै पर्ने कुरा छ कि ?’ भनेर यो पङ्तिकारले हिड्ने वेलामा सोध्दा उनले निधार गुजुमुज्ज पार्दै भनेका थिए–‘एकपटक पत्रकार पर्वत पोर्तेललाई (भेट्न) जानु अरे भन्दिनु न सर !’