कहिले बन्ला लाखौँको लागि स्वर्ग ?

  प्रकाशित मिति
२३ श्रावण २०७४, सोमबार १०:३७


”डा. गोविन्द केसी जस्ताको आवाज सुन्ने दिन कहिले आउला ? अर्थात लाखौँको लागि समेत यो देश स्वर्ग बन्ने दिन कहिले आउला ? बसाईँ हिड्नेको ताँती कहिले रोकिएला ? कि फेरि जनताले अर्को कुनै नायकको खोजी गरेर सडकमै आउनु पर्ने हो ?”
……………………

r 1 (1)
रामचन्द्र उप्रेती

‘लाखौँको लागि उजाड छ यो देश, मुठ्ठिभरलाई त स्वर्ग छ’–यो गीत सुनेको बर्षौं बित्यो । परिस्थिति उस्तै छ कि फेरियो, म रनभुल्लमा छु । यो गीत जतिबेला सुनियो खुबै मन छुन्थ्यो । त्यस्तै अर्को गीत थियो–‘बसाईँ हिँड्नेको ताँतीले, बस्नेको मन रुवाउँछ ।’ यो गीतले पनि खुबै छोएको थियो । यी गीतलाई कम्युनिस्टको गीत भनिन्थ्यो । सायद यी गीत सुनेर धेरै मानिस कम्युनिस्ट भए होलान् । त्यो बेला राजा र पञ्चायतलाई यसको दोषी मानिन्थ्यो । पञ्चायत फालियो, राजा फालियो । समयले कोल्टे फे¥यो । जनताका छोराछोरी जनताबाटै निर्वाचित भएर शासनको बागडोर हाँकेका छन् । परिस्थिति फेरियो कि उस्तै छ, म रनभुल्लमा छु ।

अहिले पनि मुठ्ठिभरलाई त यो देश स्वर्ग छ । अहिले जन्मजातका राजा छैनन् तर निर्वाचित राजा छन् । लोकसेवा पास गरेका राजा छन् । उहिलेका राजा संविधान माथि थिए । देशमा रजाईँ उनको र उनका परिवारको चल्थ्यो । अहिलेका राजा संविधान, नियम, कानुन धोती लाएर देश लुटछन् । मारमा सर्वसाधारण लाखौँ जनता छन् । देश लुटले मुठ्ठिभर राजालाई अहिले पनि देश स्वर्ग जस्तै छ । राजा पहिले नारायणहिटीमा बस्थे र मनमौजी देश लुट्थे । उनलाई कानुनले छुँदैनथियो । अहिलेका राजा जताततै छन् । पार्टी कार्यालयमा राजा भेटिन्छन् । सिंहदरवारमा राजा भेटिन्छन् । ती राजाका कारिन्दा (कार्यकर्ता भए पार्टीका हुने थिए, आप्mनै नेताले पनि देशको अहित गर्दा विरोधको आवाज उठाउने थिए । तर नेताका लागि मात्र काम गर्ने र देश लुटेको भाग खाने भएकाले कारिन्दा) केन्द्रदेखि जिल्लासम्म जताततै भेटिन्छन् । हेर्दा सलक्क परेका, मेरी आमाका भाषामा खाइलाग्दा, सप्रेका, ठुला भनिने मानिस लाखौँलाख जनताको पसिनाबाट आर्जित राजस्वमा ¥याल काडेर बसेका छन् । हाजिर गरेर तलव र भत्ता लिन्छन् । काम गरेको र फाइल सदर गरेको सेवाग्राहीबाट कमिशन लिन्छन् । उहिलेको घुस अहिले सेवा शुल्क भएको छ । सेवा शुल्क नदिए कसैले काम गर्दैनन् । किनकि आजकल घुस कसैले खाँदैनन् । कार्वाही घुस खानेलाई हुन्छ, सेवा शुल्क लिनेलाई होइन ।

जनताका प्रतिनिधि अहिले डा. गोविन्द केसी भएका छन् । कान्तिपुर र अरु कतिपय मिडिया हाउस भएका छन् । जनता तिनलाई हेरेर, सुनेर, पढेर मन दुखाउन बाध्य छन् । किनकि जनता बर्तमानमा शासनको गौडागौडामा बसेका राजाबाट पीडित छन् । एउटा कुलमान कस्सिदा विद्युुत प्राधिकरण सप्रिदो रहेछ । प्रधान न्यायाधीश शुशिला कार्कीले पछिल्लो समय एक महिना काम गर्न पाएकी भए कति राजाहरुको निन्द्रा भङ्ग हुने थियो । तिनलाई निर्वाचित राजाहरुले महाअभियोगको जालमा पारेर पखेटा काटिदिए ।

TUTH Dr Govinda KC
Dr Govinda KC

लाखौँ मानिसको स्वास्थ्यका व्यापारीसँग निर्वाचित र लोकसेवा पास गरेका राजाहरुको सालनाल गासिएका कारण एघारौँ पटक डा. गोबिन्द केसी अनसन बसेका छन् । सालनाल छुट्याएर अलग गर्न । तर राजाहरु स्वास्थ्यका व्यापारीसँग छुट्टिनै मान्दैनन् । सार्वजनिक खपतका लागि डा. केसीका माग पुरा गर्छन् कागजमा तर फेरि चाल पुरानै । विचरा केसी जिल्लिएका जिल्लियै । डा. केसी जिल्लिएर उनलाई केही फरक पर्दैन । उनको माग पुरा हुँदा पनि उनलाई व्यक्तिगत लाभ हुँदैन । माग पुरा भए जनताले सुविधा पाउँछन् । माग पुरा नगरे नेताहरुको रङ तिब्र गतिमा खुइलिदै जानेछ र नेताको विकल्प खोजिने छ । अर्थात नेताको राज खोसिने छ । त्यो राजमा पनि डा. केसी हर्ताकर्ता हुने छैनन् । त्यसकारण डा. केसीले आप्mना लागि होइन, जनताका लागि सत्याग्रह आन्दोलन गर्र्र्दैछन् ।

अर्का कर फस्र्योट आयोगका प्रमुख डा. चुडामणि शर्मा एक्लैले २० अर्ब बढीको राजस्व मार्ने व्यापारीलाई मिनाहा दिएका हुन् भनेर कोही मान्न तयार छैनन् । तर निर्वाचित राजाहरुको आशिर्वाद र दामासाहीको भागि सबै दरवारमा पुगेका कारण उनी लाज मानिरहेका छैनन् । प्रहरीका टाउकेहरु जेलमा छन् उनीहरु लाज मानिरहेका छैनन् किनकि त्यो काम उनले उनै राजाहरुको लागि गरिदिएका थिए । काम गरिदिएको ज्याला अवश्य लिए नै । आयल निगम घायल भएको छ । कान्तिपुर र अरु मिडिया चिच्याउँछन् । लाखौँ जनता मन खिन्न पारेर समाचार पढ्न बाध्य छन् । उनै राजाहरु चुपचाप देखेको नदेखै गर्छन् । अख्तियार, न्यायालय उनै राजाको इसाराको पर्खाइमा छन् । किनकि तिनलाई महाअभियोगको डर छ । लोकको अपमान गर्ने लोकमानको अवतार जतासुकै छ । तिनले लाखौँ जनताको लागि यो देश उजाड बनाएकै छन् ।

एउटा अञ्चल यातायात कार्यालयको साधारण कर्मचारीले ६० करोडको घोटाला गर्दा त्योभन्दा माथिको हाकिमको सहमति थिएन, उनले भाग पाएका थिएनन् भनेर कसरी पत्याउनु । तर, उनलाई कसैले छुँदैन । साधुलाई सुली चोरलाई चौतारो कहिले इतिहास बन्ने हो, कहिले पुरानो कथा हुने हो । कानुन सबैका लागि, नियम सबैका लागि कहिले हुने हो । नहुँदासम्म त ‘लाखौँका लागि उजाड छ यो देश मुठ्ठिभरलाई त स्वर्ग छ’ भन्ने गीत पुरानो नहुने रहेछ ।

बसाई हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ । आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाट दैनिक १५ सय कामको खोजीमा विदेशिन्छन् । जाने र बस्ने सबैले आँसु खसालेकै हुन्छन् । अझ पश्चिम नेपालबाट भारतमा दरवान, कुल्ली हुन जानेको त हिसाब नै छैन । बर्षौंवर्षदेखिको यो चलन कहिले फेरिने हो ? यता राजा हुन र राजामा थामिन मुठ्ठिभरको जगजगी जारी छ ।

मेरो आसय तपाईको मन दुखाउने हुँदै होइन । यहाँ केही भएको छैन भनेर निरासा व्यक्त गर्न खोजेको पनि होइन । हो हामी हिजोको अवस्थाबाट निकै माथि उठेका छौँ । तर जहाँ पुग्नु पर्ने हो त्यहाँ पुग्न सकेनौँ । हामीले लामो सङ्घर्ष गरेर पनि सबैका लागि सुरक्षित देश, सुरक्षित समाज निर्माण गर्न अभैm बाँकी छ भनेको र त्यसको बाधक को हुन् भनेर सङ्केत मात्रै गरेको हुँ ।

कुनै समयमा अति नै अभेद्य लाग्ने पञ्चायत र राजा फाल्न नेपाली जनताले ठुलो बलिदानी गरे । त्यो चानचुने कुरा थिएन । नेताको आदेशमा जनता जस्तोसुकै जोखिम उठाउन तयार थिए । पार्टीको निर्णय कार्यकर्ताका लागि ज्यानभन्दा ठुलो थियो । मुलुकमा यो परिवर्तन पनि सितिमिति भएको होइन । आज मुलुकले फेरि एउटा नयाँ सङ्कल्पको खोजी गरेको छ । सङ्कल्प पुरा गर्ने नेताको खोजी गरेको छ । हिजो राजनीतिक आन्दोलनका लागि जनता सडकमा आए । आज आवश्यकता छ सामाजिक आन्दोलनको । यो आन्दोलन राजनीतिक दलको अराजकता, अकर्मण्यता र स्वार्थको अन्त्य गर्न निर्णायक दवाव दिनका लागि हुनुपर्छ । यदि राजनीतिक शक्ति पुनः सच्चिएर आउन तयार भए ठिकै छ होइन भने सामाजिक आन्दोलनले राजनीतिक आकार ग्रहण गर्न सक्छ ।

यद्यपि नेपालमा अहिले नै राजनीतिक पार्टीको विकल्प बन्ने गरी सामाजिक आन्दोलनको सम्भावना छैन । तर पनि राजनीतिलाई लगातार खराव गरिरहने छुट दिनु हँुदैन । सच्चिनका लागि दवाव खडा गर्नुपर्छ । अन्यथा राजनीतिक पार्टीहरु अरु भ्रष्ट हुँदै जाने सम्भावना जारी रहने छ । डा. गोविन्द केसीको सत्याग्रहको आन्दोलन यसैको एउटा कडी हो । डा. केदारभक्त माथेमा, पुर्व प्रधानन्यायाधीश शुशिला कार्की, डा. गोविन्द केसी, कृष्ण पहाडी यस्ता केही भरपर्दा सामाजिक अभियन्ताका नाम हुन् । यी नाममा अरुनाम थपिदै जानुपर्छ ।

मुलुकमा यतिधेरै बेथितिहरु सार्वजनिक भइरहेका छन् तर तिनले कार्वाही भोग्नु पर्नेछ भनेर ढुक्क हुने अवस्था छैन । मुलुकमा कानुनको शासन स्थापित हुँदैछ कि कानुन मिच्नेहरुको शासन स्थापित हँुदैछ छुट्याउन सकस हँुदै गएको छ । यो सकसको मुल कारण राजनीतिक नेता, तिनका कारिन्दा (कार्यकर्ता होइन) र तिनकै छत्रछायामा हुर्किएका कर्मचारी तन्त्र बन्ने गरेको छ । जबसम्म यो चरित्र बदलिदैन तबसम्म यो देश लाखौँको लागि उजाड हुने र मुठ्ठिभरलाई स्वर्ग रहिरहने छ । बसाईँ हिडनेको ताँतीले बस्नेको मन रुवाउने छ ।

कुनै समयमा मकवानपुरका रुपचन विष्टले थाहा चाहियो भनेर सत्तालाई चुनौति थिएका थिए । आज पनि जनतालाई थाहा चाहियो राजनीतिक दल र तिनका नेता यो देशमा भइरहने भ्रष्टाचारीको संरक्षक हुन छाड्ने र डा. गोविन्द केसी जस्ताको आवाज सुन्ने दिन कहिले आउला ? अर्थात लाखौँको लागि समेत यो देश स्वर्ग बन्ने दिन कहिले आउला ? बसाईँ हिड्नेको ताँती कहिले रोकिएला ? कि फेरि जनताले अर्को कुनै नायकको खोजी गरेर सडकमै आउनु पर्ने हो ?
[email protected]

(नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका लेखक नेपाली सहकारी आन्दोलनका अगुवा हुन् ।)
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: