काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क

  प्रकाशित मिति
६ पुष २०७७, सोमबार १२:२३


अम्बिका भण्डारी
झापा, ६ पुस । नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ सयौ आन्तरिक पर्यटक रमाउने गरेका छन् ।

मुलुकको प्रवेश नाकामै रहेको यो पार्क छ बर्ष अघिसम्म लागूऔषधका दुव्यर्सनीहरुको अखडा जस्तै थियो । त्यसबेला यहाँ देवकोटाको अर्धकदको शालीक थियो । असामाजिक तत्वहरुले शालीक पटकपटक तोडफोड गरेका थिए । स्थानीय युवाहरुले पार्कको महत्व बुझेर स्याहार सम्भार गर्दै जाँदा अहिले देवकोटा पार्क पर्यटक लोभ्याउने स्थलको रुपमा विकसित भएको हो ।

कोभिड–१९ का कारण चैतदेखि बन्द रहेको पार्क तिहारको लक्ष्मीपूजाको दिनदेखि खुलेको थियो । विभिन्न मनमोहक फूल र बृक्षले भरिभराउ पार्कमा बालवालिकालाई पिङ, चप्लेटी, ढिकिच्याउ, मिनी रेललगायतका खेल्ने सामान राखिएको छ । बाल उद्यानका कारण दैनिक सयको हाराहारीमा बालवालिकाहरु नै अभिभावकसहित आउने गरेका छन् ।

पार्कको संरक्षण र सौन्दर्यकरणका लागि स्थानीय युवा बालकृष्ण थापाले युवा स्वयम्सेवकहरुको अगुवाई गरिरहेका छन् । पार्कको सरसफाई, बगैचाको गोडमेल, फूलको रोपण जस्ता काममा युवा स्वयम्सेवकहरु नियमित खट्छन् । युवाहरुको लगनशीलता देखेर स्थानीय नगरपालिका, प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले पार्कलाई व्यवस्थित तुल्याउन आर्थिक सहयोग गर्न थालेका छन् ।

देवकोटा पार्क निर्माण तथा व्यवस्थापन समितिका सचिव फडिन्द्र घिमिरेले आर्थिक सहयोग जुटेपछि शालिकको नियमित रङरोगन, पक्की घेराबारा, बाल उद्यान, शौचालय, वाईफाई, विजुली, खानीपानी समेतको व्यवस्था गरिएको बताए ।

उनले युवाहरुले पार्कको व्यवस्थापन सम्हालेपछि पार्कमा निर्माण गरिएको पुस्तकालय र कफी सेन्टर चाँडै उद्घाटनको तयारीमा रहेको जानकारी दिए ।

पार्क व्यवस्थापनका लागि प्रदेश नम्बर १ को सरकारले रु एक लाख, मेचीनगर नगरपालिकाले १४ लाख, वडा नम्बर ६ ले रु. तीन लाख, नेपाल पर्यटन बोर्डले रु. सात लाख आर्थिक सहयोग गरेको देवकोटा निर्माण व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले बताए ।

‘कुनै बेला लागुऔषध दुव्र्यसनीको अखडा बनेको पार्कको विकास गर्न स्थानीय युवाले गरेको योगदान सराहनीय छ,’ उनी भन्छन्, ‘देवकोटा पार्कलाई सजाउन हामीले सरकारी अनुदानको मात्र भर नपरी स्वेच्छिक सहयोग समेत गरेका छौं ।’

कोभिड कहरकै अवधिमा काँकडभिट्टासम्म एसियन राजमार्गको छ लेनको फराकिलो सडक निर्माण भइसकेको छ भने मेचीमा चार लेनको नयाँ पुल बनेको छ । निकट भविष्यमा नाका खुला भएपछि पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट भित्रिने पर्यटकको पहिलो नजर देवकोटा पार्कमा पुग्ने मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष बिना तामाङले बताए ।

व्यवस्थापन समितिले पार्कमा खेल्न आउने १२ बर्ष मुनिका बालबालिकाका लागि रु. १० टिकटको व्यवस्था गरेको छ । बालबालिकाले टिकट लिएपछि अभिभावकहरुलाई हेरचाहमा प्रवेश निःशुल्क गरिएको छ । कोरोनाका कारण विद्यालय बन्द रहेकाले दैनिक सय बढी बालबालिका पार्कमा खेल्न घुम्नका लागि आउने गरेको सचिव घिमिरेले बताए ।–––

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: