।। अर्जुन कार्की ।।
मेचीनगर, २८ चैत । लकडाउनका कारण काँकरभिट्टाका विभिन्न होटलमा बसेका ६६ जना यात्रु बेखर्ची भएका छन् । साथमा भएको पैसो सकिएकाले उनीहरुलाई होटल व्यवसायी संघको पहलमा निःशुल्क खानाको प्रबन्ध मिलाइएको छ ।
लकडाउन हुनु भन्दा २ दिन अघि भारतबाट आएका ६० जना र लकडाउन भएकै दिन नेपालका पश्चिम ठाउँहरुबाट आएका ६ जना यात्रु काँकरभिट्टाका विभिन्न होटलहरुमा अलपत्र परेका छन् ।
२० दिनदेखि होटलमा बसेका यात्रुहरुले पैसा सकिएको बताएका छन् । होटलमा उनीहरुको १ लाख भन्दा बढी बाँकी भइसकेको होटलवालाहरुको भनाई छ ।
होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले उनीहरु लामो समय लकडाउन हुँदा विचल्लीमा परेको बताए ।
होटलमा लामो समय बस्दा बेखर्ची हुन थालेका यात्रुहरुलाई होटल व्यवसायी सङ्घले शुक्रबारदेखि मेस सञ्चालन गरेर खाना खुवाउन सुरु गरेको हो ।
मेसमा खाना पकाएर प्रत्येक होटलमा यात्रुका लागि खाना कोठामा नै पुर्याइदिने व्यवस्था मिलाइएको संघका सचिव हस्त तामाङले जानकारी दिए ।
आगामी वैशाख ३ गतेसम्म संघले यात्रुहरुलाई मेस सञ्चालन गरेरै खाना खुवाउने उनले बताए । वैशाख ३ गतेपछि लकडाउन लम्बिए यात्रुको खाना र बस्नको व्यवस्था राज्यले गर्नु पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।
यात्रुहरु काँकरभिट्टा स्थित लामा होटलमा १२, मयुरमा ५, देउरालीमा ३, झापाली गेष्ट हाउसमा १८, मुनालमा २, आंसिमा ९, अर्किटमा ४, शर्मामा २, कामरुपमा ३ र हलेसी होटलमा ८ जना रहेको अध्यक्ष श्रेष्ठले बताए ।
भारतबाट आएर काँकरभिट्टाका होटलमा बसेका अधिकांश बाजुरा, दैलेख, धादिङ, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, मौली, काठमाडौँ लगायतका जिल्लाका छन् ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले होटलमा विचल्ली परेका नागरिकको र्यापिड डाइगोनिस्टक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गरिएपछि मात्र घर फर्काइने बताइन् ।
तर, प्रदेश नं. १ को प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट चिकित्सकको टोलीले उनीहरुको आरडीटी परिक्षण नगर्ने बताएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयविन्द्र यादवले पहिलो चरणमा सरकारले निर्देश गरेको क्वारेन्टाइनमा मात्र आरडीटी परिक्षण गरिने दावी गरे ।
नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रातीले होटलमा विचल्ली परेका यात्रुको संघले नै हाललाई खाना खुवाउने व्यवस्था मिलाउने बताए । नगरपालिकाले पछि उनीहरुलाई खाद्यान्न सामग्री राहत दिने उनको भनाई छ ।