मेचीनगर । नेपाल–भारतको सीमा नाका काँकरभिट्टामा कार्यरत सशस्त्र प्रहरीका १८ जना जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकरभिट्टामा कार्यरत १८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनीहरुको ३ दिनअघिमात्र पीसप्आरको नमुना संकलन गरेर कोभिड अस्पताल धरान पठाइएको थियो ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले सशस्त्र प्रहरी काँकरभिट्टाका उनीहरुमा संक्रमण पुष्टि भएको बताए ।
उनले संक्रमित सबै जनालाई उपचारका लागि सुनसरीको गोठगाउँ स्थित कोभिड अस्पतालमा उपचारका लागि लगिएको बताए ।
यसअघि सशस्त्र प्रहरीका २ जनालाई कोरोना संक्रमण भएको थियो ।
मेचीनगरका १८ जनासहित शुक्रबार झापामा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको फोकल पर्सन चौलागाईले जानकारी दिए ।
काँकरभिट्टाका १८ जना सशस्त्र प्रहरी, बाह्रदशी गाउँपालिकाका ३, झापा गाउँपालिका ३ र बिर्तामोड नगरपालिकाका १ जनामा कोरोना भाइरस संक्रमण भएको उनले बताए ।
मेचीनगरमा संक्रमितको संख्या ५९ पुगेको छ । ४६ जना निको भएर घर फर्किसकेका छन् ।