काँकरभिट्टाको खुला तेलको व्यापार बन्द

  प्रकाशित मिति
२२ पुष २०७२, बुधबार ०५:२७


pet

मेचीनगर । प्रशासनले झापाको मुख्य नाका काँकरभिट्टामा पेट्रोलियम पदार्थको खुला व्यापारमा रोक लगाएको छ ।
भारतीय नाकाबन्दी सुरु भएयता नाका क्षेत्रमा अबैध रुपमा भारतबाटै भित्राइएको पेट्रोल र डिजेलको खुला व्यापार हुँदै आएको थियो ।
व्यापारीहरूले मेचीनगर–११ स्थित प्यारीभिट्टाको खुला चौरमा ‘तेल बजार’ नै सञ्चालनमा ल्याएका थिए । विगत ५ दिनदेखि प्रशासनको आदेशमा तेल बजार ठप्प भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी डम्वरु निरौलाले विकृति बढेको कारण तेलको खुला बजार बन्द गराइएको बताए । उनले पहिलो चरणमा काँकरभिट्टा नाकामा राजमार्ग वरपरको अबैध तेल बजार बन्द गराइएको र अर्को चरणमा जिल्लाका सबै क्षेत्रमा तेलको अबैध रोक्ने योजना अघि बढाइएको जानकारी दिएका छन् ।

पुस १५ गते काँकरभिट्टामा काभ्रेबाट आएको दुधको ट्याङ्करले डिजेल भर्दै गरेको फेला परेपछि स्थानीय प्रहरी प्रशासन तेलको अबैध व्यापार रोक्न अग्रसर भएको हो ।

त्यहीबेला सञ्चारमाध्यमहरूमा भारतबाट तेलका भुल्डुङमार्फत तेलको तस्करी भइरहेको समाचारले प्रमुखता पाएपछि गृहमन्त्रालयले नै जिल्ला प्रशासनमार्फत धन्धा रोक्न आदेश दिएको बुझिएको छ ।

काँकरभिट्टाको पालियाखोलादेखि मेचीको पुलसम्म राजमार्ग वरपर जताततै तेलको ड्रम र भुल्डुङ राखेर तेलको व्यापार चलाउँदै आएका सयौँ स्थानीय व्यापारी प्रशासनको कडाइपछि विस्थापित भएका छन् ।

प्यारीभिट्टाका नगेन सुनुवारले तेल बजार बन्द भए यता बस, ट्रक, ट्रयाक्टर र भ्यानका लागि तेल खोज्न आउने सयौँ व्यक्ति खाली हात फर्किने गरेको सुनाए ।

‘केहीले प्रहरीको आँखा छलेर लुकाइछिपाइ बेचिरहेका छन्’, तेल बजारले सङ्कटका बेला अलिकति महङ्गोमा भए पनि सुविधा दिएको बताउँदै सुनुवार भन्छन्–‘सरकारले दिन नसक्ने अवस्थामा खुकुलो नीति नै अपनाउनु मुलुकका लागि राम्रो हुन्थ्यो ।’
काँकरभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम अधिकारीले कालोबजार बढेकोले नाकामै धन्धा रोक्न प्रहरी लागिपरेको बताउँछन् ।

प्रहरीले नाकामा चेकजाँच कडा बनाउन थालेपछि विगतमा जस्तो नाकाबाट खुला रुपमा भारतबाट तेल भित्रिन छाडेको छ । भारतीयहरू नै नाफाको लोभमा मोटरसारइक र साना गाडीमार्फत भारतबाट ठूलो मात्रामा इन्धन नेपाल ल्याउने गरेका थिए । अहिले त्यो ठप्पै छ ।
एक जना सरकारी अधिकारीले विगतमा सङ्कटको अवस्था भनेर तेलको व्यापारमा प्रशासनले आँखा चिम्लिएको तर त्यसको आडमा कालोबजारी बढेकाले प्रशासन मुकदर्शक बन्न नसक्ने बताए ।

प्रधानमन्त्रीको जिल्लामा कालोबजारी बढेको भनेर आलोचना भएकाले समेत सरकार यसको नियन्त्रणमा कडाइका साथ लागेको उनको भनाई छ ।

तेलको खुला व्यापार बन्द भए लगत्तै भूमिगत बजारमा तेलको भाउ बढेको छ । एक जना कारोवारीका अनुसार पेट्रोलको प्रति लिटर १ सय ६० रुपैयाँ र डिजेलको प्रति लिटर १ सय २५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: