काँकरभिट्टाको ‘नागरिक प्रदर्शन’मा सर्वदलीय झल्को

  प्रकाशित मिति
१५ माघ २०७७, बिहीबार १८:३६


मेचीनगर, १५ माघ । संसद् पुनस्र्थापनाको माग गर्दै युवा तथा राजनीतिक दलका कार्यकर्ताहरुको सहभागितामा आज काँकरभिट्टामा प्रदर्शन भएको छ ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेपछि राजनीतिक दलहरु एक्ला एक्लै आन्दोलनमा होमिएका बेला काँकरभिट्टामा आज भएको प्रदर्शनले ‘सर्वदलीय आन्दोलन’को झल्को दिएको थियो ।

प्रदर्शनपछि आयोजित सभाका वक्ताहरुले प्रदर्शनलाई ओलीतन्त्रविरुद्ध झापाबाट सुरु भएको नागरिक आन्दोलनको संज्ञा दिएका थिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगनमकारी कदम चालेको वक्ताहरुको आरोप थियो ।

प्रदर्शनमा रिडर्स झापाका अगुवाहरु, नेकपाको प्रचण्ड माधव नेपाल समूहका नेता, नेपाली कांग्रेसका नेता, जनता समाजबादी पार्टीका नेता, सामाजिक संघ संस्थाका अगुवा, पत्रकार, लेखक, साहित्यकारलगायत विभिन्न पेशाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रदर्शन शान्तिपूर्ण थियो । सहभागीहरुले बजार परिक्रमा गर्दै प्रतिगमनको विरोधमा नारा लगाएका थिए ।

प्रदर्शनको आयोजक सार्वजनिक नगरिए तापनि रिडर्स झापाका केही अगुवाहरुले प्रदर्शनमा सहभागिताका लागि एक दिन अघिदेखि नै सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए ।

आह्वानकर्तामध्येका अगुवा रिडर्स झापाका सागर शिवाकोटीले फेसबुकमार्फत आह्वान गर्दै आन्दोलनमा कुनै पार्टीको झण्डा प्रयोग गर्न नपाइने, कुनै पार्टी विशेषको समर्थन र विरोधमा नारा लगान नपाइने र व्यक्तिगत गाली गलौज प्रतिबन्धित रहेको जनाएका थिए ।

प्रदर्शनका वक्ता समेत रहेका शिवाकोटीले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम राजनीतिक, संबैधानिक र नैतिक आधारमा प्रतिगामी भएको दावी गरेका थिए ।

उनले संसद् पुनस्र्थापना हुनुपर्ने माग समेत गरेका थिए ।

कार्यक्रममा विद्यार्थी संस्कृति रिजालले समेत मन्तब्य राखेकी थिइन् । उनले लोकतान्त्रिक संविधानलाई कमजोर तुल्याउने प्रवृत्तिका विरुद्ध सडकमा आउन आफुहरु बाध्य भएको बताएकी थिइन् ।

नागरिक आन्दोलनमा दलहरुको ऐक्यवद्धता रहेको नेकपाका जिल्ला सदस्य एवम् प्रचण्ड नेपाल समूहका नेता डिल्लीराम घिमिरे बताउँछन् ।

संविधान मिचेर प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको बताउँदै घिमिरेले संसद् पुनस्र्थापनाका लागि नागरिक समाज आन्दोलित हुनु स्वाभाविक भएको बताएका छन् ।

धुलावारी क्याम्पसका प्रमुख पुष्प पौडेलले सभामा उद्घोषण गरेका थिए ।

प्रदर्शनमा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, मेचीनगर सभापति इन्द्र बुढाथोकी, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङल, साहित्यकार पुण्यप्रसाद खरेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: