काँकरभिट्टामा अन्तर्राष्ट्रिय बुद्विचाल प्रतियोगिता हुने

  प्रकाशित मिति
१० फाल्गुन २०७६, शनिबार १५:४४


अर्जुन कार्की
मेचीनगर । नाइट चेस क्लब काँकरभिट्टाले अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ ।

स्वर्गीय पिवी थापाको स्मृतिमा क्लबले आगामी फागुन २० देखि २५ गतेसम्म दोस्रो चरणको प्रतियोगिता गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

मेचीनगर–६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका गरी दुई सय ५० जना खेलाडीहरुको सहभागिता रहने नाइट चेस क्लबका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताका लागि बंगलादेशका २० जना, भारतका ३० जना तथा नेपालका केही खेलाडीहरुले नाम दर्ता गराई सकिएको क्लबले जनाएको छ ।

‘कोरोना भाइरसका कारण भुटान सरकारले त्यहाँका नागरिकलाई बाहिर नजान उर्दी जारी गरेको रहेछ’ अध्यक्ष कार्कीले भने–‘तर पनि त्यहाँको बुद्धिचाल संघले प्रतियोगितामा खेलाडी सहभागी गराउने आश्वसन दिइएको छ ।’

उनका अनुसार संघको प्रक्रिया अनुसार खेलाडी आउने नै छन्, त्यस बाहेक बाहिरका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विजेता हुने ३८ जना खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । त्यसमध्ये २० जना उत्कृष्ट हुने छन् । जसमा प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ नगद प्राप्त हुनेछ ।

चौथोलाई १८ हजार, पाचौँलाई १५ हजार, छैठौँलाई १२ हजार र सातौँ पुरस्कार विजेतालाई रु.९ हजार नगद पुरस्कार प्राप्त हुने क्लबले जनाएको छ ।

त्यस्तै आठौँदेखि दशौँका विजेतालाई ७ हजार, ११औं देखि १५औं सम्मकालाई नगद ५ हजार र १६ औँदेखि २० औंसम्मका खेलाडीहरुलाई ४ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यसैगरी भेट्रान, प्रदेश स्तरीय, मेचीनगरका विभिन्न उमेर समूहलगायत अन्य थप १८ जना खेलाडीहरुले १ हजारदेखि ३ हजार रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गर्ने क्लबले बताएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा पशुपति अङ्ग्रेजी मावि काँकरभिट्टाकी प्रिन्सिल तथा क्लबकी पूर्व कार्यसमिति सदस्य अनिता थापा रहने छिन् ।

उनका बुबा पिवी थापाको स्मृतिमा उक्त प्रतियोगिता सञ्चालन हुँदै आएको छ । यसअघि पनि प्रथम संस्करण भव्यताका साथ सम्पन्न भएको थियो । थापा सानैदेखि बुद्विचाल प्रतियोगिताप्रति झुकाव राख्ने व्यक्ति थिए ।

क्लबले प्रतियोगिता सम्पन्न गर्नका लागि २४ लाख १४ हजार रुपैयाँ अनुमानित खर्च लाग्ने पत्रकार सम्मेलनमा जनाएको छ । प्रदेश र स्थानीय सरकार, मुख्य प्रायोजक, प्रायोजक, सहप्रायोजक र अन्य दाताहरुको सहयोगबाट करिव २९ लाख ११ हजार ८ सय रुपैयाँ सहयोग प्राप्त हुने अनुमान क्लबले गरेको छ ।

भ्रमण वर्ष २०२० को अवसर पारेर बुद्धिचाल खेलप्रमी तथा खेलाडीहरुको हौसला र प्रबर्धन गर्ने उद्देश्यले पनि प्रतियोगिता आयोजना गरिन लागेको आयोजकको भनाई छ ।

क्लब स्थापनाकालदेखि नै सामाजिक गतिविधिमा सक्रिय छ । क्लबले विभिन्न समयमा बुद्धिचाल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

क्लबले नेपालमै पहिलो पटक रसियाका चेसका इन्टरनेशनल ग्राण्ड मास्टर अलेक्जेण्डर फोमिनीलाई बोलाएर अन्तराष्ट्रिय रेटिङ बुद्विचाल प्रतियोगिता गरेको थियो ।

प्रतियोगिताको प्रमुख आर्विटारमा विजयकुमार थापा र निर्देशकका रुपमा विश्वविजय घिमिरे रहनेछन् । मेचीनगर निवासी घिमिरे बुद्धिचाल प्रतियोगिताका अन्तराष्ट्रिय खेलाडी समेत हुन् ।

पत्रकार सम्मेलनमा क्लबका संस्थापक सचिव घिमिरे, पूर्व अध्यक्षहरु गोपाल तामाङ, शेरबहादुर बस्नेत (सुन्दर), कृष्णकान्त खनियाँ (नवराज), मुख्य प्रायोजक अनिता थापा, कार्यसमितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

क्लबका अध्यक्ष कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव असोककुमार राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: