काँकरभिट्टामा पर्यटन दिवस : ‘नछुनु न एकछिन सास फेर्न पाउँ’

  प्रकाशित मिति
११ आश्विन २०७९, मंगलवार १६:४२


मेचीनगर, ११ असोज । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले भुईमान्छेदेखि सबै सरोकारवाला संघ–संस्थाले साथ दिएमात्र मेचीनगरमा पर्यटन प्रबर्धन गर्न सकिने बताएका छन् ।
मंगलबार विश्व पर्यटन दिवसको अवसरमा पर्यटन कार्यालय काँकरभिट्टाले आयोजना गरेको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

‘यस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित गर्नु हुँदैन’, मेयर बुढाथोकीले भने–‘सार्थक उपलब्धीका निम्ती व्यापक छलफल गर्न आवश्यक छ । मेचीनगरमा पर्यटन प्रबर्धन गर्न सबैको साथ र सहयोगको खाँचो छ ।’

मेचीनगरमा पर्यटन भित्राउने हो भने झापा, इलाम, पाँचथर र ताप्लेजुङ सम्मलाई जोडेर बृहत पर्यटकीय गन्तव्य बनाउन सके मात्र सबैको हित हुने उनको भनाई छ ।

काँकरभिट्टा नाकामा पर्यटकलाई गर्ने व्यवहारका बारेमा चित्रण गर्दै मेयर बुढाथोकीले भने–‘नछुनु न एकछिन सास फेर्न पाउँ । मेची पुल तर्न अ‍ैँठन हुँदै मेचीनगरभित्र नपसुन ।’

भारत तथा अन्य मुलुकबाट पर्यटक काँकरभिट्टा बसपार्क आउन पाएको हुँदैन एउटाले झोला, अर्कोले मान्छे तान्न थालिहाल्छन् । यस्तो प्रवृतिको अन्त्य गर्न सबै मिलेर लाग्नु पर्ने उनको भनाई छ । उनका अनुसार पर्यटक हैरान भएपछि त्यसो भन्ने गरेका छन् ।

विगतदेखि काँकरभिट्टा नाकाबाट आएका पर्यटकलाई होटल व्यवसायी, ट्राभल, यातायातका मजदुर लगायतका व्यक्तिहरुले हैरान पारिरहेको अवस्था बारेमा सजग र इमानदार बन्न उनले आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, पर्यटन अभियन्ता एवम् मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेची अभियानका संयोजक विजय डालमिया, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, नाट्टा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, पूव मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डीएसपी ज्ञानकुमार महतो, मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल लगायतले पर्यटन प्रबर्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए ।

कार्यक्रम सुरु हुनु अघि काँकरभिट्टा बजारमा प्रभात फेरि र्याली निकालिएको थियो । कार्यक्रममा झाँकीसहित कलाकारले गीत तथा नित्य प्रस्तुत गरिएको थियो ।

पर्यटन कार्यालयका प्रमुख प्रलाद भट्टराईले स्वागत तथा अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन सोहि कार्यालयका अधिकृत निरोज कट्टेलले गरेका थिए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: