।। गगन ढकाल ।।
मेचीनगर, २८ पुस । पत्रकार बसन्त बस्नेतको उपन्यास ‘महाभारा’माथि बुधबार काँकरभिट्टामा छलफल भएको छ ।
पर्यटन कार्यालय परिसरमा गरिएको उक्त कार्यक्रममा पुस्तकका लेखक बस्नेत र रिडर्स झापाका उपाध्यक्ष दामोदर ढुङ्गेल वक्ता थिए भने कार्यक्रमको संचालन रिडर्सकी सदस्य संस्कृति रिजालले गरेकी थिइन् ।
कार्यक्रममा दामोदर ढुङ्गेलले उपन्यासको कथाबस्तु बारे सरसर्ती बताए पछि लेखकले आफ्नो कुराहरु राखेका थिए ।
महाभारा उपन्यासमा नेपालको पूर्वी पहाडको महाभारा क्षेत्रको सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षलाई कथाबस्तुमा समेटिएको छ ।
आफुले बाँचेको भूगोलको चित्रण उपन्यासमा गरेको चर्चा गर्दै लेखक बस्नेतले सहभागीले पुस्तकसँग सम्बन्धित भएर सोधेको प्रश्नहरुको जवाफ दिएका थिए ।
रिडर्स झापाका उपाध्यक्ष ढुंगेलले माओबादी द्वन्द्वकालमा कसरी मानिस नचाहँदा नचाहँदै पनि विद्रोही बनेका थिए भनेर उपन्यासको प्रमुख पात्र डुक्पाको चरित्र चित्रणबाट झल्किने बताए ।
पात्र, प्रवृत्ति, परिवेश र कथनहरु सँधै देखिरहेको र सुनिरहेको जस्तै लाग्ने उनले बताए ।