काँकरभिट्टा । झापा खेलकुद विकास समितिद्वारा आयोजित पतञ्जली योग शिविरमा योगाभ्यास गर्ने प्रशिक्षार्थीहरुको सङख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
मानव स्वास्थ्यलाई ध्यानमा राखेर उक्त समितिले यहि जेष्ठ ११ गते देखि काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा सञ्चालनमा ल्याएको १५ दिने सो शिविरमा योग अभ्यासमा रुची राख्ने स्थानीयहरुको सङ्ख्या बढ्दै गएको हो ।
योगा, शारीरिक व्यायाम, प्राणायाम, आसन लगायत विभिन्न विधाहरुमा दैनिक विहान दई घण्टा प्रशिक्षण गराइने शिविरमा १८ देखि ६५ वर्ष उमेर समूहका महिला र पुरुष गरी करिब ७० जनाले सहभागिता जनाएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङकर थापाले बताए ।
‘योग र खेलकुदको सम्बन्ध नङ र मासुको भैmं छ’–अध्यक्ष थापाले भने–‘त्यसैले शिविर सञ्चालनमा ल्याएका हौ ।’
खेलकुदका गतिविधिमा प्रत्यक्ष रुपमा भाग लिन असमर्थ बृद्धवृद्धा तथा युवा वर्गका लागि पनि शिविर उपलब्धीमूलक सावित भएको त्यहाँ नियमित अभ्यासरत काँकरभिट्टा निवासी कल्पना पाण्डेको बुझाई छ ।
उक्त शिविरमा पतञ्जली योग समितिका पूर्वाञ्चल क्षेत्रीय प्रभारी गङ्गाप्रसाद ढकाल, मेची अञ्चल प्रभारी जीवनकुमार श्रेष्ठ, योग प्रशिक्षक इन्द्र खरेल, रुद्र ओली र महिला योग प्रशिक्षक शान्ता नेपालले प्रशिक्षण दिइरहेका छन् ।
योगका विषयमा निशुल्क अभ्यास र परामर्श सेवा दिँदै आएको सो शिविरमा स्थानीय युवायुवतीहरुको पनि आकर्षण दिनानुदिन बढ्न थालेपछि शिविर सञ्चालनको अवधि १५ दिन थप गरिएको आयोजकले जनाएको छ ।