काँकरभिट्टालाई पाँच दिन बेहुली झैं सिगारिने

  प्रकाशित मिति
६ माघ २०७६, सोमबार १९:२५


मेचीनगर । यही माघ २६ देखि फागुन १ गतेसम्म पाँच दिन नेपालको पूर्वी नाका काँकरभिट्टालाई बेहुली झैं सिगारेर एसियन ग्रामीण पर्यटन महोत्सव सञ्चालन गर्ने आयोजकले योजना सार्वजनिक गरेका छन् ।

महोत्सव अवधिभर काँकरभिट्टाको हरेक घर, कार्यालय र पसल अगाडि पानी भरिएको घडा राख्ने, फुलका गुच्छाले पाहुनालाई स्वागत गर्ने र सरसफाईले सहरलाई चिटिक्क बनाउने आयोजकको योजना छ ।

‘पर्यटकले पहिलो पाइला टेक्ने र नेपाल देख्ने काँकरभिट्टालाई झकिझकाउ बनाउने हाम्रो योजना छ,’ महोत्सव मूल आयोजक समिति एवम् ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले सोमवार पत्रकार सम्मेलन गर्दै भनेका छन्, ‘यसपटक कुनै खास स्थानमा मात्र केन्द्रित हुनेछैन, काँकरभिट्टा बजारभरि नै फैलिने उत्सवले साँच्चिकै महाउत्सवको स्वरुप लिनेछ ।’

आयोजक समितिले सोमवार काँकरभिट्टाको जस्केलो होटलमा पत्रकार सम्मेलन गरी महोत्सवको स्थान, बजेट र तयारीका बारेमा विस्तृत जानकारी दिएको छ ।

यस अघिका महोत्सवभन्दा भिन्न बनाउने लक्ष्यका साथ आयोजना गरिएको यो महोत्सवको १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने र उद्घाटन समारोहमा भारतको सिक्किमका मुख्यमन्त्री पीएस गोले विशेष अतिथि रहने कार्कीले बताए ।

महोत्सवमा मेचीनगर नगरपालिकासँग मितेरी सम्बन्ध गाँसेको बेलायतको फोक्सटन सिटीका मेयरको समेत सहभागिता रहने भएको छ ।

काँकरभिट्टाको नेपाल बैङ्कको कार्यालय अगाडिपट्टिको भाग, देवकोटा पार्कको भित्री भाग, वीपी पुष्पलाल बाटिका र मेची सामुदायिक भवनको प्राङ्गणमा महोत्सवको विशेष स्टल रहने भएका छन् । उद्घाटन कार्यक्रम देवकोटा पार्कमा हुनेछ । मिनी मार्केट र बसपार्क उत्तरपट्टिको सडक क्षेत्र महोत्सवको केन्द्र बन्नेछन् ।

‘यस अघि कुनै एउटा मैदान वा खाली ठाउँमा सबै स्टल राखेर महोत्सव गर्ने चलन थियो,’, आयोजक समितिका अध्यक्ष कार्कीले भने, ‘अब खुला र फराकिलो सोचका साथ सिङ्गै काँकरभिट्टालाई महोत्सवमय बनाउनेछौं ।’

महोत्सवका कुनै पनि स्टलमा प्रवेश गर्न र स्टल राख्न शुल्क नलाग्ने बताइएको छ । मेचीनगरका २२ जनजातिको आफ्नो भेषभूषासहितको सांस्कृतिक स्टल रहने आदिवासी जनजाति महासङ्घ मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङले जानकारी दिएका छन् ।

स्थानीय कलाकार, साहित्यकार र प्रतिभाहरुलाई महोत्सवमा समेट्ने आयोजकको योजना छ । स्टल शुल्क, पार्किङ शुल्क लगायतका कुनै पनि शुल्क आयोजकले नलिने घोषणा गरेको छ ।

आयोजक समितिका कोषाध्यक्ष सुरेन्द्र बुढाथोकीले महोत्सवमा ५२ लाख लाखको अनुमानित बजेट बनाइएको र त्यसमा सङ्घीय सरकारबाट २० लाख, प्रदेश सरकारबाट १५ लाख र मेचीनगर नगरपालिकाबाट १० लाख सहयोगको आश्वासन प्राप्त भएको जानकारी दिए ।

उनले हिसाबकिताब पारदर्शी गरिने, बचत गरेको रकमलाई पर्यटन क्षेत्रकै विकास लगाउने र घाटा भयो भन्दै आयोजक नपन्छिने बताएका छन् ।

पत्रकार सम्मेलनमा आयोजकको योजना उल्लेख भएको प्रेस विज्ञप्ति महोत्सवका प्रवक्ता नवराज प्रधानले बाचन गरेर सुनाएका थिए । उनले महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न गर्न योजनाबद्ध गतिविधि भइरहेको बताएका थिए ।

सन् २०११ मा नेपालले पर्यटन बर्ष मनाउने निर्णय गरे लगत्तै सन् २०१२ देखि बाहुनडाँगीका युवा समाजसेवी अर्जुन कार्कीको नेतृत्वमा एसियन ग्रामीण पर्यटन महोत्सवको आयोजना हुन थालेको हो ।

पाँचौपटकसम्म बाहुनडाँगीमै भएको महोत्सव पहिलोपल्ट छैठौं संस्करणमा आएर काँकरभिट्टामा आयोजना भइरहेको छ ।

महोत्सवका लागि ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको र विभिन्न उपसमिति गठन गरिएको प्रवक्ता प्रधानले बताएका छन् ।
उनका अनुसार राम तामाङको संयोजकत्वमा स्टेज तथा स्टल व्यवस्थापन समिति, बालकृष्ण थापाको संयोजकत्वमा स्वयम्सेवक समिति, तुलसा दङ्गालको संयोकत्वमा स्वागत सत्कार समिति, बिजय सुबेदीको संयोजकत्वमा यातायात व्यवस्थापन समिति, ओमप्रकाश खापुङको संयोकत्वमा जनजाति भेषभुषा व्यवस्थापन समिति, छितेन शेर्पाको संयोजकत्वमा कला संस्कृति समिति, राजु पौडेलको संयोजकत्वमा प्रचारप्रसार समिति, राजु अधिकारीको संयोजकत्वमा अनुगमन समिति, बबिता पौडेलको संयोजकत्वमा सरसफाई तथा वातावरण समिति, उषा श्रेष्ठको संयोजकत्वमा भेषभूषा समिति गठन गरिएको छ ।

महोत्सव आयोजक समितिको सल्लाहकारमा मेचीनगरका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेलसहित यस क्षेत्रका सङ्घीय तथा प्रदेश सांसदहरु र संविधानसभाका सदस्यहरुलाई राखिएको छ ।

महोत्सवमा नेपाल, भारत, भूटान र बंगलादेशबाट ५० हजार पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने महोत्सव आयोजक समितिका अध्यक्ष अर्जुन कार्कीले बताएका छन् ।

महोत्सवमा सार्क क्षेत्रको प्रतिनिधित्व हुने र अन्तरदेशीय जातीय र सांस्कृतिक झाँकीसहितको प्रस्तुति रहने, कुनै प्रकारको शुल्क नलाग्ने, महोत्सव अवधिभर पर्यटनसँग सम्बन्धित विषयमा अन्तरक्रिया, गोष्ठी र तालिमहरु सञ्चालन गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: