काँकरभिट्टालाई महोत्सवमय बनाउनेछौं

  प्रकाशित मिति
४ माघ २०७६, शनिबार १०:०२


यही माघ २६ देखि फागुन १ गतेसम्म पाँच दिन काँकरभिट्टामा छैठौं एसियन ग्रामीण पर्यटन महोत्सवको आयोजना हुँदैछ । नेपाल, भारत, भूटान र बङ्गलादेशलाई समेट्ने लक्ष्य लिएको महोत्सवका बारेमा लोकतन्त्र पोस्टका तर्फबाट आयोजक समितिका अध्यक्ष एवम् पर्यटन अभियन्ता अर्जुन कार्की सीमासँग गरिएको कुराकानी प्रस्तुत छ–

यो महोत्सवको विशेषता के हो ?
नेपाल प्राकृतिक रुपमा मात्र होइन, यहाँको ग्रामीण सांस्कृतिक विविधता विश्वभरिका पर्यटकका लागि लोभलाग्दो छ । सगरमाथा, लुम्बिनी, फेवाताल आदिले पर्यटक तानिरहेकै छन् । अब यतिले मात्र पुग्दैन । १२५ जातजातिको बसोबास भएको नेपालमा रहेको ग्रामीण अग्र्यानिक खाना, होमस्टे (घरबास), कला, संस्कृति, साहित्य, भाषा र भेषभूषा पनि उत्तिकै आकर्षक छन् । गाउँमा पाइने र खासमा नेपालीको मौलिक पहिचान झल्काउने यही कुरालाई हामीले विश्वसामू चिनाउने अभिप्रायले सन् २०१२ यता लगातार रुपमा एसियन ग्रामीण पर्यटन महोत्सवको आयोजना गरिरहेका छौं । स्टलले नेपाली जातीय संस्कृतिको मौलिकता प्रस्तुत गर्नेछन् ।

तयारी कसरी हुँदैछ ?
उद्योग, व्यापार र मनोरञ्जन मेलाभन्दा पृथक महोत्सव भएको हुँदा ग्रामीण पर्यटन महोत्सवको तयारी सोझै नेपाल भ्रमण वर्ष २०२० सँग गाँसिएको छ । विगतका सबै महोत्सव मेचीनगरको बाहुनडाँगीमा भएका थिए । पहिलोपटक काँकरभिट्टामा आयोजना हुँदैछ । किन सारियो भनेर पनि प्रश्न गरिएको पाइएको छ । मुलुकले नै यसपाली पर्यटक लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । हामीले पनि नेपालको प्रवेशद्वार र पर्यटक सोझै आउने नाका भएको कारण काँकरभिट्टामा महोत्सव राख्दा बढी प्रभावकारी हुन्छ भन्ने ठान्यौं । प्रारम्भिक चरणका तयारीहरु भइरहेका छन् । स्थान चयन, उपसमिति विस्तार, खर्चको जोहो, जिम्मेवारीको बाँडफाँट, अतिथिहरुलाई निम्तो, स्टल व्यवस्थापन जस्ता काममा अहिले ध्यान गएको छ । धेरै काम बाँकी नै छ ।

अतिथि को को आउने सम्भावना छ ?
महोत्सवमा पाल्नुहुने सबै पाहुना हाम्रा लागि अतिथि हुन् । तर उद्घाटन र समापन कार्यक्रममा केही विशिष्ट पाहुनाको आगमना होस् भनेर हामी विशेष पहलमा जुटेका छौं । अहिलेसम्ममा १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई र छिमेकी मुलुक भारतको सिक्किम राज्यका मुख्यमन्त्री पीएस गोलेलाई उद्घाटन समारोहमा सँगै राख्न पाए नेपाल भ्रमण वर्ष २०२० को अभियानमा महत्वपूर्ण सघाउ पुग्ने थियो भनेर हामी दुबै अतिथिलाई निम्त्याउँदैछौं । भारतको पश्चिम बङ्गाल प्रान्तका पर्यटन मन्त्री गौतम देब र बेलायतको फक्सटन सिटीका मेयरलाई समेत महोत्सव अवधिमा काँकरभिट्टामा स्वागत सत्कार गर्ने अवसर पाइयोस् भनेर हामी भगिरथ प्रयत्नमा छौं । महोत्सवमा ५० हजार विदेशी पर्यटक आउने हाम्रो अनुमान छ ।

उद्घाटनमा सिक्किमका मुख्यमन्त्री आउने पक्का हो ?
हामी पूर्णरुपमा विश्वस्त छौं कि उहाँ एसियन ग्रामीण पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुनुहुनेछ । हामीले गान्तोकमा गएरै निम्तो दिदा उहाँले कार्यक्रममा आउने निश्चित गर्नुभएको छ । सिक्किमले पछिल्लो समय पर्यटनमा गरेको प्रगति लोभलाग्दो नै छ । उहाँहरु पर्यटन विकासमा नेपाल र १ नं. प्रदेश सरकारसँग साझेदारीमा अघि बढ्न इच्छुक देखिनुहुन्छ । यसपटक उहाँले काँकरभिट्टा मात्र होइन, केही दिन नेपाल बसेर ताप्लेजुङको पाथिभरा माताको दर्शन गर्ने योजना हामीलाई सुनाउनु भएको छ ।

महोत्सवले के फाइदा हुन्छ ?
यो महोत्सव विशुद्ध नाफा नोक्सानको गणितमा आधारित छैन । दीगो पर्यटनको मान्यतालाई हामीले आत्मसात गर्दै आएका छौं । नेपालका स्थानीय, प्रादेशिक र राष्ट्रिय महत्वका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलको प्रचार प्रबर्धनमा महोत्सवले प्रत्यक्ष लाभ पुर्याउने छ । स्टलमा यहाँको जातिजाितका कला, संस्कृति, भेषभूषा र खानेकुरा राखिने भएको हुँदा त्यसबाट हाम्रो मौलिक संस्कृतिलाई चिनाउन मदत पुग्नेछ । हाम्रा होमस्टेहरु, पर्यापर्यटनका क्षेत्रहरु र समग्रमा नेपाललाई चिनाउने महत्वपूर्ण अवसरको रुपमा एसियन ग्रामीण महोत्सव प्रभावकारी हुनेमा हामी विश्वस्त छौं ।

महोत्सवको आयोजनाप्रति काँकरभिट्टाबासीको कस्तो भावना पाउनुभएको छ ?
काँकरभिट्टा अब मेचीनगरको मात्र नभएर सिङ्गो देशकै पर्यटक आगमनको प्रमुख नाका हो । यहाँ हुने कुनै पनि गतिविधि अन्तर्राष्ट्रिय ध्यानाकर्षणको विषय बन्दछ । काँकरभिट्टामा पर्यटनलाई व्यवसाय बनाइरहनु भएको ट्राभल व्यवसायी, होटल व्यवसायी, क्यासिनो व्यवसायी, यातायात व्यवसायी लगायत थुप्रै क्षेत्रका साथीहरु हुनुहुन्छ । पर्यटन कार्यालय, पर्यटन बोर्ड, अध्यागमन, भन्सार, प्रहरी लगायतका सरकारी निकायहरु पनि यहीँ छन् । तेस्रो मुलुकबाट समेत आँखा उपचारका लागि यहाँ पर्यटकहरु आउने गर्नु भएको छ । आँखा उपचार गर्ने हस्पिटलहरु समेत महोत्सवबाट उत्साही बनेका छन् । काँकरभिट्टाबासी सम्पूर्णले महोत्सवको आयोजना हुने विषयमा प्रसन्नता व्यक्त गर्नु भएको र आफ्नो ठाउँबाट सहयोग पुर्याउने बचनबद्धता प्रकट गरिरहनु भएको पाएको छु । मेचीनगर नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै सफलताका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । मिडियाका साथीहरु उत्साही हुनुहुन्छ । यो साझा कार्यक्रम हो, देशको कार्यक्रम हो । नगरप्रमुख, उपप्रमुख, सांसद्हरु सबै लागिपर्नु भएको छ । उहाँहरुको सल्लाह सुझाव हामीले पाइरहेका छौं ।

कति देशको सहभागिता हुन्छ महोत्सवमा ?
नेपालको प्रदेश नं. १ को १४ वटै जिल्लाबाट स्टल आउनेछ । स्टलको कुनै शुल्क लिइने छैन । तर स्टलहरु व्यापारिकभन्दा पर्यटनमुखी उद्देश्यका हुनेछन् । इसिमोडको सहभागिता हुनेछ । भूटान, बङ्गलादेश र भारतका स्टलहरु रहनेछन् । बीबीआइएन (बङ्गलादेश, भूटान, इन्डिया र नेपाल) नामक क्षेत्रीय साझेदार संस्थाको बैठक काँकरभिट्टामा आयोजना हुनेछ । महोत्सवमा चार मुलुकका प्रतिनिधिहरुको उपस्थितिमा होमस्टे काङ्ग्रेस गठन गर्दैछौं । छिमेकी मुलुकका आर्टिस्टहरु आउनुहुनेछ । उहाँहरुले काँकरभिट्टाका भित्ताहरुमा प्रदेश नं. १ का पर्यटकीय स्थलहरुको चित्रकला प्रस्तुत गर्नुहुनेछ । हामी पर्यटकका लागि नेपाल भूस्वर्ग हो, नेपालीहरु पाहुनालाई स्वागत गर्न आतुर छन् भन्ने सन्देश दिन चाहन्छौं यो महोत्सवबाट । साहित्यिक माहोल पनि महोत्सवमा हुनेछ । होटल गाइड, होमस्टे, पर्यटन व्यवसाय लगायतका विषयमा तालिमको व्यवस्था महोत्सवको अवसरमा हुनेछ ।

साँघुरिदै गएको काँकरभिट्टाको कहाँनेर हुनेछ कार्यक्रमस्थल ?
एउटा स्टेज देवकोटा पार्कमा हुनेछ । साहित्यिक कार्यक्रम मिनी मार्केटमा हुनेछ । अरु केही ठाउँ पनि स्टलका लागि हेर्दैछौं । पुष्पलाल–वीपी बाटिका र मेची सामुदायिक भवन छेउछाउमा रोटेपिङ लगायतका मनोञ्जनका सामग्री रहनेछन् । यहाँ र त्यहाँ भन्ने हुँदैन, हामी पुरै काँकरभिट्टा बजारलाई नै महोत्सवमय बनाउनेछौं । महोत्सव अवधिभर काँकरभिट्टाका सबै होटल र घर अगाडि फुलसहितको घडा राखिदिन हामीले आग्रह गरिरहेका छौं । यसबाट हाम्रो सत्कार शैलीका बारेमा सकारात्मक प्रभाव झल्किनेछ ।

(तस्वीर ः देबेन्द्र खरेल)

प्रस्तुति ः अर्जुन कार्की
(कार्यकारी सम्पादक)
………………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: