मेचीनगर । काँकरभिट्टा क्याम्पसको प्रमुख पदमा लक्ष्मीप्रसाद उप्रेती नियुक्ति भएका छन् ।
संस्थापक क्याम्पस प्रमुख यज्ञराज प्रसाईले राजीनामा दिएपछि क्याम्पस सञ्चालक समितिले सो पदमा उप्रेतीलाई नियुक्त गरेको हो ।
उप्रेतीले सोमवारदेखि क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका छन् । उनी यस अघि सहायक क्याम्पस प्रमुख थिए ।
२०५५ सालमा काँकरभिट्टा क्याम्पसको स्थापना भएको हो । कक्षा ११ बाट पठनपाठन सुरु गरिएको सो क्याम्पसमा २०६० देखि स्नातक तहको पढाई सुरु भएको हो ।
क्याम्पसको संस्थापक शिक्षक उप्रेती विभिन्न सामाजिक संस्थाहरुमा क्रियाशील छन् ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र नागरिक यातायात प्रालिका अध्यक्ष समेत रहेका उप्रेती राजनीतिक रुपमा नेकपा एमालेसँग आवद्ध बौद्धिक व्यक्ति हुन् ।
लगनशील, पारदर्शी र स्वच्छ छविका उप्रेतीको जन्म २०२२ सालमा भएको हो । उनकी पत्नी मीना उप्रेती मेचीनगर नगरपालिकाकी उपप्रमुख रहेकी छन् ।
काँकरभिट्टा क्याम्पसका संस्थापक अध्यक्ष यज्ञराज प्रसाईले अस्वस्थताका कारण पद त्यागेको बताएका छन् ।
प्रसाईले गत फागुनमै क्याम्पस प्रमुख पदबाट राजीनामा दिएका थिए ।
स्रोतका अनुसार सञ्चालक समितिका अध्यक्ष विमल आचार्यको अध्यक्षतामा बसेको बैठकले गत फागुनमै प्रसाईको राजीनामा स्वीकृत गर्दै यही बैशाखदेखि उप्रेतीलाई प्रमुखको जिम्मेवारीमा ल्याउने निर्णय गरेको थियो ।
बैशाखसम्म प्रसाईलाई नै प्रमुखको जिम्मेवारी सम्हाल्न समितिले आग्रह गरेको थियो ।
हाल काँकरभिट्टा क्याम्पसमा वाणिज्य र शिक्षा सङ्कायको स्नातक तहको पठनपाठन हुँदै आएको छ ।
…………..