काँकरभिट्टा । पूर्वको सबैभन्दा ठूलो स्थलनाका काँकरभिट्टा आइतवार विहानैदेखि ‘कर्फ्यु लगाएजस्तै’ ठप्प भएको छ । नाकामा सरकारले कर्फ्यु लगाएको भने होइन ।
भारतले ‘जनता कर्फ्यु’ लगाएका कारण आइतवार सीमावर्ती पानीटङ्की नाका र भारतीय बजारहरु पुरै बन्द अवस्थामा रहेका छन् ।काँकरभिट्टा नाकामा भारतीय बन्दको प्रभाव परेको हो ।
आइतवार विहानदेखि काँकरभिट्टा नाकाबाट भारततिर र पानीटङ्की नाकाबाट नेपालतिर यातायातका साधनको आउजाउ ठप्प छ ।
सीमाक्षेत्र पुरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायात समेत ठप्प भएका छन् । काँकरभिट्टा टर्मिनल र मेची पुल खाली भएका छन् ।
आइतवार विहानदेखि भारत सरकारले आफ्नो देशमा जनता कर्फ्यु लगाउँदा हवाई, रेल तथा स्थल यातायात बन्द छन् । पानीटङ्की बजार पुरै बन्द छ । सर्वसाधारणहरु घरबाहिर निस्किएका छैनन् ।
जनताले लगाएको कर्फ्यु भनिए तापनि प्रशासनले लगाएको कर्फ्यु जस्तै दृश्य पानीटङ्कीमा देखिएको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्की बताउँछन् ।
कार्कीले कोरोना भाइरस फैलिन नदिन भारतको जनता कफ्र्युले नाका ठप्प हुँदा नेपाललाई फाइदा नै पुगेको भन्दै नेपालमा समेत जनता कफ्र्यु लगाउन आवश्यक रहेको बताए ।
भारतबाट यात्रु आउने क्रम रोकिएपछि काँकरभिट्टा नाकामा समेत नेपाली सुरक्षाकर्मीले कडाई गर्न थालेका छन् । भारततिर अनावश्यक रुपमा जाने र नाकामा रमिता हेर्न आउनेलाई नाकामा परिचालित सुरक्षाकर्मीले फर्काएर राम्रो गरेका छन् । सुनसान नाका देख्दा कर्फ्युकै झल्को आउँछ ।
यातायात व्यवसायी राम थापाले यात्रा गर्न सर्वसाधारण नै आउन छाडेको र त्यसमा पनि भारतमा कर्फ्यु लागेपछि बसपार्क सुनसान भएको बताए । काँकरभिट्टाबाट विराटनगर, धरानलगायतका छोटो दुरीममा जाने गरेको बसहरु समेत आइतवार बन्द भएका छन् । व्यवसायीहरु आफैले बस सेवा बन्द गरेका हुन् ।
भारतीय नाकामा खटिएका पश्चिम बङ्गालका प्रहरी सहायक निरीक्षक किशोर क्षेत्रीले ‘जनता कर्फ्यु’लाई भारतीय नागरिकले निःशर्त पालना गरेको जनाउँदै नेपाल जानेहरुलाई स्वास्थ्य चेकजाँच गरेर पठाइने गरेको बताए ।
नेपाल सरकारले भारतसँगको नाका बन्द गर्नु पर्ने स्थानीयको माग रहँदै आएको छ । तर आइतवारदेखि नाकामा भीडभाड नगरेर नागरिकहरु आफैले नाका सुनसान बनाउन सहयोग पुर्याएका छन् ।
(सबै फोटो : लोकतन्त्र पोस्ट)
नेपाल र भारतलाई जोड्ने मेची पुल ।