काँग्रेस नेतैपिच्छे सम्पर्क कार्यालय

  प्रकाशित मिति
१५ फाल्गुन २०७२, शनिबार ०८:३७


झापा, १५ फागुन । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले सम्पर्क कार्यालयमार्फत आफ्नो पक्षमा निर्वाचन माहोल बनाउन सक्रिय देखिएका छन् ।

महाधिवेशनमा नेता र कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षण गर्न सम्पर्क कार्यालय खोल्ने र भड्किला गतिविधि गर्ने होडबाजी नै चलेको छ ।

पार्टी सभापतिका आकाङ्क्षीदेखि पदाधिकारी र केन्द्रीय सदस्यसमेतले सम्पर्क कार्यालय खोलेको देखिएको छ ।
दूर गाउँ र जिल्लाबाट आएका नेता र कार्यकतालाई शीर्ष नेतासँगको पहुँच र साक्षात्कारका लागि सम्पर्क कार्यालय खोलिनु सान्दर्भिक छ नै । तर कतिपय नेताले महाधिवेशनको सङ्घारमा तडकभडकका साथ सम्पर्क कार्यालय खोली गुटगतरुपमा भेला गर्नुलाई स्वयम् नेता नै पार्टीमा विकृति भित्र्याउने काम भएको ठान्छन् ।
त्यसो त, सम्पर्क कार्यालयले काठमाडौँ बाहिरबाट आउने कार्यकर्तालाई आफ्ना नेतासँग सम्पर्क गर्न सहज बनाएको त छ नै, उनीहरुबीच नजिकबाट घुलमिल हुने अवसर पनि दिलाएको छ ।

यसरी नेतैपिच्छे व्यक्तिपिच्छेका सम्पर्क कार्यालयभन्दा पनि पार्टी केन्द्रीय कार्यालयलाई नै भेटघाटको मुख्य थलो बनाउँदा उपयोगी हुने कतिपय नेताको भनाइ छ ।
महाधिवेशनको सङ्घारमा नेता कार्यकर्तालाई पायक पर्ने सहज ठाउँमा सम्पर्क कार्यालय खोलिनु सान्दर्भिक हुन्छ भन्छन् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी ।

‘कार्यकर्तालाई पार्टी कार्यालय पुग्न टाढा हुने र नेतासँग भलाकुसारी गर्न असहज हुने भएकाले महाधिवेशनको सङ्घारमा सम्पर्क कार्यालय खोलिनु सामान्य हो, तर यसलाई तडकभडक नगरी सामान्य भेटघाटको थलोका रुपमा मात्र उपयोगमा ल्याइनुपर्दछ’ – उनले भने ।

पार्टी सभापति, महामन्त्रीलगायतका पदाधिकारीले सम्पर्क कार्यालय खोल्नुलाई स्वाभाविक मानिए पनि केन्द्रीय सदस्यले समेत व्यक्तिपिच्छे सम्पर्क कार्यालय खोल्नुलाई कतिपयले स्वाभाविक मानेका छैनन् ।
केन्द्रीय सदस्य शङ्कर भण्डारीले सम्पर्क कार्यालय खोल्दा अनावश्यक खर्च बढाउने मात्र नभई गुटगत प्रवृत्ति मौलाउने बताउँछन् ।
महाधिवेशनबाट एकताको सन्देश प्रवाह गर्न नेताले पार्टी कार्यालयलाई नै सम्पर्क र भेटघाटका लागि प्रयोग गर्नसके नेता कार्यकर्तामा सकारात्मक सन्देश जाने उनको तर्क थियो ।
महाधिवेशनमा सभापतिको आकाङ्क्षी रहेका काँग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय सानेपा र बोहोराटारस्थित आफ्नै निवासमा नेता र कार्यकर्तासँग भेटघाटको थलो बनाउनु हुने उनका सहयोगी चिरञ्जीवी अधिकारीले बताए ।

पार्टी समापतिका अर्का आकाङ्क्षी शेरबहादुर देउवाले केही महिना अघिदेखिनै नयाँबानेश्वरमा सम्पर्क कार्यालय खोलेर आफ्नो पक्षका कार्यकर्तासँग संवाद गर्दै आएका छन् । त्यहाँ काठमाडौँ बाहिरबाट आउने नेता कार्यकर्ताको सम्पर्क कार्यालयमा भीड लाग्ने गरेको छ ।
महाधिवेशन नजिकिँदै जाँदा पार्टी केन्द्रीय कार्यालयमा भन्दा सम्पर्क कार्यालयमा चहलपहल र भीडभाड बढ्ने गरेको छ ।
पार्टी सभापतिका आकाङ्क्षी महामन्त्री कृष्णप्रसाद सिटौलाले गैरीधारामा सम्पर्क कार्यालय खोलेका छन् भने अर्का सभापतिका आकाङ्क्षी महामन्त्री प्रकाशमान सिंहले बिजुलीबजारस्थित पुरानो सम्पर्क कार्यालयलाई प्रयोग गरिरहेका छन् ।

सभापतिका अर्का आकाङ्क्षी सुजाता कोइरालाले मण्डिखाटारस्थित आफ्नै निवासलाई सम्पर्क कार्यालय बताइन् । त्यस्तै महामन्त्रीका आकाङ्क्षी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले डिल्लीबजारमा सम्पर्क कार्यालय खोलेका छन् ।
केन्द्रीय सदस्य गगनकुमार थापा, डा शेखर कोइराला, शशाङ्क कोइराला, चन्द्र भण्डारी, शङ्कर भण्डारी, मीन विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताले छुट्टै सम्पर्क कार्यालय खोलेर भेटघाटलाई तीव्रता दिएका छन् ।

केन्द्रीय सदस्य मीन विश्वकर्माले बहुदलीय संसदीय पद्धतिमा नेतृत्वको होडबाजीलाई स्वाभाविक मान्नुपर्ने धारणा व्यक्त गर्दै आफ्नो सम्पर्क बढाउन धेरै नेताले काठमाडौँमा सम्पर्क कार्यालय खोलेको स्वीकारे ।
‘सम्पर्क कार्यालय खोल्नु सान्दर्भिक हो, तर कतिपयले होटल र पार्टी प्यालेसलाई सम्पर्क कार्यालय बनाई तडकभडक गर्ने गरेका छन्, यसले पार्टीलाई विकृत तुल्याउँछ’ – विश्वकर्मालेभने ।

पार्टी कार्यालयमा निजी कार्यकक्ष नहुने र पदाधिकारीलाई नै अपुग हुने भएकाले आफ्ना नेता र शुभेच्छुकसँग भलाकुसारी गर्न सहज स्थानमा सम्पर्क कार्यालय खोलिएको नेताहरुको भनाइ छ ।

यसपटक लोकतन्त्रको हिमायती मानिने काँग्रेस पार्टीभित्र कमजोर बन्दै गएको लोकतन्त्र अभ्यासलाई सुदृढ गरी पार्टीको विधानअनुरुप योग्य नेतृत्व चयनमा युवापुस्ताको झुकाव देखिएको छ ।

महासमिति सदस्य नयनसिंह महरले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र पार्टीको विधानअनुरुप सङ्गठनलाई सुदृढ तुल्याउन परिपक्व नेतृत्व चाहिने बताए । काँग्रेसको १३ औँ महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँ हुँदैछ । महाधिवेशनका लागि अहिले २५ प्रतिशत महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: