कांग्रेसलाई झुटको खेती बन्द गर्न आग्रह

  प्रकाशित मिति
२ मंसिर २०७४, शनिबार १६:४२


विर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको खेती गर्ने कांग्रेसको दिनगन्ती शुरु भएको बताएका छन् ।
बिर्तामोडको विएण्डसी हस्पिटलले आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटन गर्न मओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहित बिर्तामोड आएका उनले अव मुलुकलाई समृद्धिको बाटोमा लैजान कम्युनिष्ट नेतृत्वको सरकारको आवश्यक रहेको प्रष्टाएका थिए ।
अध्यक्ष ओलीले अवको १३ बर्षमा मुलुक विकसित राष्ट्रमा पुर्याउनु पर्ने चुनौती रहेकाले त्यो कम्युनिष्ट नेतृत्वको सरकारले मात्र सम्भव हुने बताएका छन् । स्वास्थ्य, शिक्षा र रोजगारीमा अवको सरकार केन्द्रित हुने उनले बताए । अहिले काँग्रेस वामगठबन्धनप्रति अतालिएको भन्दै झुट र भ्रमको खेती बन्द गर्न सुझाव समेत दिएका थिए ।
त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा बृद्ध भत्ता दिन थालिएको बताउदै कम्युनिष्ट सरकार आएका बृद्धबृद्धाले बाँच्न पाउदैनन् भन्ने कांग्रेसको आरोप झुटो साबित भइसकेकोे बताए । उनले कम्युनिष्टहरु समृद्धिको पक्षधर रहेको बताउँदै कांग्रेसले लगाएको बिध्वङ्सकारीको संज्ञा उसैलाई गल पासो भएको जिकिर गरे ।
सरकारले अध्यादेशमार्फत ल्याएको शिक्षा स्वाथ्य बिधेयक गलत बाटोबाट, त्रृटिपूर्ण तरिकाले ल्याएको समेत उनले बताए । स्वाथ्य शिक्षा बिधेयक गलत भएकाले चुनावीपछि बन्ने बामपन्थी गठबन्धनको सरकारले परिमार्जन गर्ने अध्यक्ष दाहालले बताए । दुवै शिर्षनेताहरुले विएण्डसी हस्पिटलप्रति अन्यनय भएको भन्दै अवको दुई महिनाभित्रमा कम्युनिष्टको बहुमतको सरकारले सम्बन्धन दिने आश्वासन समेत दिएका छन् । दुई जना पूर्व प्रधानमन्त्रीले झापामा पहिलोपटक एउटै मञ्चबाट सम्बोधन गर्दै स्वाथ्य महोत्सवको उद्घाटन गरेका थिए ।
शनिवार विहान ११ बजे महोत्सवको उद्घाटन गरिने भनिए पनि प्रमुख अतिथि आउन ढिला भएकाले १ बजेपछि कार्यक्रम शुरु भएको थियो । त्यस अवसरमा दुबै पूर्व प्रधानमन्त्रीले पालैपालो शुभकामना मन्तब्य राखेका थिए ।
हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले आफुले २९ लाख मेचीबासीको सेवामा लागेकाले यसलाई शिक्षण अस्पतालको सम्बन्धन दिन के को आपति भनेर प्रश्न गरेका थिए ।
आफुले सम्पत्ति कमाउन हस्पिटल नखोलेको भन्दै उनले मेचीबासीका गरीव जनताका छोराछोरी डाक्टर हुँदा गोबिन्द केसीलाई के को आपति भन्दै कडारुपमा प्रस्तुत भएका थिए ।
महोत्सवमा स्वास्थ्य जाँच गर्नका लागि दिल्लीको प्रसिद्ध मेदान्त हस्पिटलबाट समेत विशेषज्ञ डाक्टरहरु आएका छन् । स्वाथ्य महोत्सवमा ओपीडी सेवा निःशुल्क हुने, रेडियोलोजीमा १५ प्रतिशत छुट, शल्यक्रिया र ल्यावमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: