विर्तामोड । झापाको पाँच वटै प्रतिनिधि सभा र दश वटै प्रदेश सभाको सिटमा हारको गम्भीर धक्का व्यहोरेको नेपाली काङ्ग्रेसले चुनावी परिणामलाई अप्रत्यासित ठहर गरेको छ ।
नेपाली काङ्ग्रेस झापाको कार्यालयमा सोमवार बसेको बैठकले चुनावी समीक्षा गर्दै नसोचेको परिणाम आएको निष्कर्ष निकालेको हो ।
बैठकमा चुनावमा पराजय व्यहोरेका पार्टीका पूर्व महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, जिल्ला सभापति उद्धव थापा, पूर्व उपसभापति देउमान थेबे लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला सभापति थापाले बैठकपछि जारी गरेको विज्ञप्तिमा जनादेशलाई सहर्ष स्वीकार गर्दै पार्टी जिम्मेवार प्रतिपक्षीको भूमिकामा रहने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा बिजयी उम्मेद्वारहरुलाई बधाइ दिदै आम जनताको मनोभावना अनुरुप निष्पक्ष र तटस्थताका साथ काम गर्न सुझाव दिइएको छ ।
काङ्ग्रेसले हारजितलाई स्वाभाविक रुपमा लिएको जनाउँदै विज्ञप्तिमा पार्टीका नेता तथा कार्यकर्तालाई थप उत्साहका साथ सङ्गठन बलियो बनाउन आग्रह गरिएको छ ।
बिजयी भएका उम्मेद्वारहरुको जुलुस र तथा र्यालीको क्रममा नेपाली काङ्ग्रेसका कार्यकर्ताको घरमा पटाका पड्काउने, हुलहुज्जत गर्ने, कुटपिट गर्ने र अमर्यादित शब्द प्रयोग गर्ने गतिविधि अबिलम्ब बन्द गर्न विज्ञप्तिमा सचेत गराइएको छ ।
मेचीनगर–२ सिर्जनाचोक घर भएका काङ्ग्रेस कार्यकर्ता चक्र सुब्बालाई विजय र्यालीका सहभागीहरुले कुटपिट गरेका कारण उपचारका लागि विर्तासिटी अस्पतालमा भर्ना गरिएको जनाउँदै विज्ञप्तिमा दोषी उपर आवश्यक कार्वाहीको माग गरिएको छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)