विर्तामोड । कम्तीमा ८ तहमा प्रमुख पद जित्ने उद्घोषका साथ स्थानीय तह चुनावमा होमिएको झापाको नेपाली काङ्ग्रेस पाँच तहमा खुम्चिएपछि हारको गम्भीर समीक्षा सुरु भएको छ ।
८ नगरपालिका र ७ गाउँपालिका गरी १५ तहको झापामा असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह चुनावमा नेपाली काङ्ग्रेसले २ नगरपालिकाको मेयर र ३ गाउँपालिकाको अध्यक्ष पद मात्र जितेको छ ।
काङ्ग्रेसले प्रमुख पद जितेका नगरमा मेचीनगर र गौरादह हुन् भने गाउँपालिकामा बुद्धशान्ति, झापा र बाह्रदशी हुन् । प्रमुख पद जितेका आधारमा काङ्ग्रेस दोस्रो स्थानमा र राप्रपा तेस्रो स्थानमा छ । माओबादीले जिल्लामा एक तहमा पनि प्रमुख पद जित्न सकेन ।
नेकपा एमालेले ६ नगरपालिका र एक गाउँपालिकामा प्रमुख जितेर जिल्लाको पहिलो शक्तिको हैसियत पाएको छ । यद्यपि एमालेभित्र पनि अन्तरघातको किचलो काङ्ग्रेसको भन्दा कम छैन ।
नेपाली काङ्ग्रेसको झापा नेतृत्व र अगुवा कार्यकर्ता पङ्तिले यो हारलाई ‘अन्तरघातको परिणाम’ ठानेको छ । ‘काङ्ग्रेसलाई अरु कसैले हराएकै होइन, काङ्ग्रेसले नै काङ्ग्रेसलाई हराएको हो’–अधिकांश नेता–कार्यकर्ताको उस्तै प्रतिक्रिया सुन्न पाइन्छ ।
पार्टीबाट विजेता र उपविजेता बनेका सम्पूर्ण उम्मेद्वारहरुलाई बधाइ तथा शुभकामना व्यक्त गर्न शनिवार विर्तामोडको पार्टी हेडक्वार्टरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पार्टीलाई अन्तरघातको पिलोले थिलथिलो पारे पनि त्यसलाई निचोरेर खिल फ्याक्ने प्रयास कहिल्यै नभएको बताए ।
सो कार्यक्रम बधाइ ज्ञापन गर्ने उद्देश्यले राखिए पनि वक्ताहरुले चुनवी हारको विषयमा धारणा पोख्ने ताजा अवसरको रुपमा मनग्ये उपयोग गरेको पाइयो । कार्यक्रम चुनावी समीक्षा बैठक जस्तै बनेको थियो ।
जिल्ला उपसभापति राम कट्टेलले स्वागत मन्तब्यकै क्रममा चुनावी अन्तरघातको गम्भीर समीक्षा हुने र त्यसका लागि पीडितले साउनभित्र लिखित गुनासो पेश गर्न आग्रह गरेपछि त्यसपछि बोल्ने हरेक वक्ताले अन्तरघातको समस्यामा धारणालाई केन्द्रित गरे ।
‘धेरै साथीहरुको गुनासो छ–पार्टीकै साथीबाट घात अन्तरघात भएका छन्, कसैलाई अन्तरघात भएको छ भने साउन महिनाभित्र लेखेर दिनुहोला’, उपसभापति कट्टेलले मन्तब्यको क्रममा भने–‘हामी कार्वाही कसलाई कसरी गर्ने भन्ने बारेमा छलफल चलाउँछौँ ।’
नेता कट्टेल बोल्दाबोल्दैको अवस्थामा रोकेर फ्लोरमा रहेका एक कार्यकर्ताले भने–‘हिजो उद्धव थापा र विश्वप्रकाश शर्मा हार्दा चाहिँ किन समीक्षा भएन ?’
पार्टीका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा प्रमुख अतिथि रहेको सो कार्यक्रममा जिल्ला सभापति उद्धव थापा सभाको अध्यक्ष थिए । मञ्चमा चुनाव जितेका र हारेका नेताहरु बसेका थिए ।
आफ्नो बोल्ने पालोमा प्रमुख अतिथि एवम् केन्द्रीय सदस्य शर्माले चुनावी हारका अनेक कारण हुने बताए तापनि अन्तरघातको बारेमा चर्चा गरेनन् ।
नेता शर्माले कमल गाउँपालिकामा प्राविधिक कारण (चिठ्ठा)ले हार्नु नपरेको भए झापामा काङ्ग्रेस र एमाले बराबरीको अवस्थामा पुग्ने बताउँदै काङ्ग्रेसका सबै उम्मेद्वारले जित्न नसके पनि काङ्ग्रेसको सिद्धान्त र दर्शनले भने पुरै जितेको धारणा व्यक्त गरे ।
उनले आगामी प्रदेश र संसदीय चुनावमा काङ्ग्रेसले हारबाट पाठ सिक्दै एमालेलाई उछिनेर पहिलो शक्ति बन्ने दावी गरे ।
पार्टीका जिल्ला सभापति उद्धव थापाले विर्तामोड, गौरीगञ्ज र कचनकबलमा पार्टी हार्ने पोजिसनमा नरहेको दावी गर्दै त्यहाँ अन्तरघातले गर्दा परिणाम उल्टो आएको बताएका छन् ।
‘आफुले टिकट नपाएपछि पार्टीको अर्को उम्मेद्वारलाई भोट हाल्ने गम्भीर गल्ती काङ्ग्रेसबाटै भएका छन्’–नेता थापाले बताए ।
उनले गाउँ र नगरका समितिले वडा वडामा समीक्षा बैठक राखेर क्षेत्रीय समितिमार्फत अन्तरघातको प्रतिबेदन जिल्लामा पठाउन निर्देशन दिएका छन् ।
यसपालीको हारको गम्भीर समीक्षा गरेर आगामी निर्वाचनमा त्यस्तो गल्ती दोहोरिन नदिनेतर्फ पार्टी सचेत भएको उनको भनाई थियो ।
चुनावमा बिजयी भएका र हार व्यहोरेका नेताहरुले अन्तरघातको घाउ बारम्बार बल्झिन नदिने गरी गम्भीर समाधान खोज्न पार्टीको नेतृत्वलाई सुझाएका छन् ।
मेचीनगरका मेयर विमल आचार्यले नेताहरुले आआफ्नै उम्मेद्वार र टिम बनाएर जाने हो भने आउँदो प्रदेश चुनावमा पनि हार व्यहोर्नु पर्ने भन्दै सचेत गराएका छन् ।
गौरादहका मेयर रोहित साहले स्थानीय तहको चुनावमा झापामा काङ्ग्रेसका समानुपातिक सांसदहरुको भूमिका कहिँ कतै नदेखिएको गुनासो गरे ।
उनले गौरादह जस्तो एमाले गढ भत्काउन स्थानीय पार्टी पङ्तिले धेरै मिहेनत गर्नु परेको बताएका थिए ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले अन्तरघात गर्नेहरुलाई अहिले पनि कार्वाही गरिएन भने प्रदेश र संसदीय चुनावमा हार दोहोरिने चिन्ता प्रकट गरे ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजबंशीले चुनाव अघि उम्मेद्वारको टिकट वितरण अव्यवस्थित हुँदा त्यसको मार भोग्नु परेको उल्लेख गर्दै बिना मापदण्ड जोसुकैलाई मेयर र अध्यक्षको उम्मेद्वारमा स्वघोषणा गर्न दिइँदा अनावश्यक प्रतिष्पर्धा बढेको र टिकट नपाउनेले अन्तरघात गरेको टिप्पणी गरे ।
कमल गाउँपालिकामा चिठ्ठामा अध्यक्ष पद गुमाएका हुकुमसिंह राईले पार्टीका पुराना र त्यागी भनी सम्मान गरिदै आएका कतिपय नेताहरु समेत चुनावका बेला बेइमान हुने गरेको गुनासो गर्दै एमालेको गढ कमल गापामा काङ्ग्रेसको सङ्गठन बलियो बनिसकेको बताए ।
पार्टीका जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य गोमा भट्टराई, सङ्घकी जिल्ला सभापति सुशिला ढकाल लगायतको उपस्थिति रहेको कार्यक्रममा चुनावमा उपविजेता भएका विर्तामोडका जलकुमार गुरुङ, उपाध्यक्ष पदमा विजयी भएका गौरीगञ्जका दिपेन्द्र थापा, उपाध्यक्ष पदमा विजयी बाह्रदशीकी रत्ना राजबंशी र वडाध्यक्ष पदमा विजयी विर्तामोडका भोजराज सिटौलाले मन्तब्य व्यक्त गरेका थिए ।
चुनावमा विजेता र उपविजेता भएका पार्टीका सबै उम्मेद्वारहरुलाई सो अवसरमा फूलमाला र अबिर लगाएर सम्मान गरिएको थियो ।