”काङ्ग्रेसलाई ‘आधुनिक’ बनाउँछु”

  प्रकाशित मिति
२७ मंसिर २०७४, बुधबार १२:३९


मेचीनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् झापा–१ का उपबिजयी उम्मेद्वार विश्वप्रकाश शर्माले एउटा चुनाव हार्दैमा काङ्ग्रेसको अस्तित्व नसकिने धारणा व्यक्त गर्दै काङ्ग्रेसलाई अब आधुनिक बनाउने उद्घोष गरेका छन् ।

पार्टीको क्षेत्रीय निर्वाचन प्रचार समितिले मङ्गलबार पासाङल्हामू हलमा आयोजना गरेको आभार कार्यक्रममा बोल्दै युवा नेता शर्माले त्यस्तो उद्घोष गरेका हुन् ।

काङ्ग्रेसले हार र कमजोरीबाट पाठ सिकेर आगामी चुनाव जित्ने गरी पार्टीलाई सुदृढ र आधुनिक बनाउने उनको भनाई थियो ।

‘हाम्रा पनि अनेक कमि कमजोरी भए, हामीले त्यो स्विकार गरिसकेका छौँ’, चुनावी परिणामको समीक्षा गर्दै शर्माले भने–‘यो पराजयको जिम्मेवारी पार्टी सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि पार्टीका सम्पूर्ण सदस्यले लिनु पर्छ ।’

उनले काङ्ग्रेस सभापति शेरवहादुर देउवा, रामचन्द्र पौडेल र अन्य नेताबाट थुप्रै कमजोरी भएको बताए ।

‘चाहे आइजीपी प्रकरण होस् वा प्रधानन्यायाधीश प्रकरण काङ्ग्रेसबाट थुप्रै गल्ती भएका छन्’, शर्माको स्वीकारोक्ति थियो–‘मैले भन्ने गरेको छु, देशमा परिवर्तन गर्नका लागि राजनीतिमा परिवर्तनको जरुरी छ, राजनीतिमा परिवर्तनको लागि हाम्रै काङ्ग्रेसमा परिवर्तनको जरुरी छ ।’

काङ्ग्रेस अहिलेको चुनावी हारका कारण घाटमा पुगेको नभई अस्पतालमा पुगेको र आवश्यक परे मेजर अप्रेशन गरेर भए पनि सङ्गठनलाई बचाउने उनको उद्घोष थियो ।

शर्माले तत्कालीन राजा महेन्द्र र तत्कालीन विद्रोही माओवादीले छानी छानी काङ्ग्रेसका मानिसहरुलाई हत्या गर्दा समेत नमरेको सङ्गठनको अस्तित्व एउटा चुनावमा पराजय भोग्दैमा समाप्त हुन नसक्ने बताए ।

आफुलाई मतदाताले देशभन्दा पहिले काङ्ग्रेसलाई आधुनिक बनाउने अभिभारा सुम्पिएको बताउँदै उनले ६५ वर्षको इतिहास बोकेको काङ्ग्रेसलाई तरुण बनाउन अब आफु देशका ७५ बटै जिल्लामा पुग्ने बताए ।

प्रतिनिधि सभाको चुनावमा बाम गठबन्धनका राम कार्कीसँग पराजित शर्माले आफुलाई कसैले अन्तरघात गर्यो कि भन्ने शङ्का नलागेको तर कोही अन्तरघातको खेलमा लागेको भए राजनीति त्याग्न चेतावनी दिएका छन् ।

‘म कसैले अन्तरघात गर्नु भयो भनेर शङ्का गर्दिन र मैले गरेको पनि छैन’, उनले कडा स्वरमा भने–‘यदि घात अन्तरघातको खेलमा लाग्नु भएको छ भने आजैका मितिबाट राजनीति छोडिदिनुहोस्, फेरि पार्टीलाई हराउने खेलमा लाग्नु भयो भने आउँदो महाधिवेशनले तपाईँको राजनीतिक भविष्य तय गर्नेछ ।’

उनले झापा–१ बाट आफु र आफ्नो पार्टीलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिएका छन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेद्वार केशवराज पाण्डे र अशोक पोख्रेलले चुनाव अगाडि हारिन्छ भन्ने जान्दा जान्दै पनि संविधानको सफल कार्यान्वयनका लागि चुनाव गराउनु नै आफ्नो पार्टीको महानता भएको बताएका थिए ।

क्षेत्रीय सभापति मणि उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति राम कट्टेल, महिला सङ्घ सभापति रचना घिमिरे, मेचीनगर नगर सभापति इन्द्र बुढाथोकी, समानुपातिक उम्मेदवार गोपाल तामाङ, तम्मर राई, मेचीनगर नगरपालिका नगर प्रमुख विमल आचार्य लगायतले मन्तव्य राखेका थिए ।

क्षेत्रीय उपसभापति हर्क फ्याकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरि बुढाथोकीले गरेका थिए । कार्यक्रममा क्षेत्रीयस्तरका कार्यकर्ताको उल्लेखीय उपस्थिति रहेको थियो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: