‘काङ्ग्रेसले नै चिन्न सकेन विश्वप्रकाशलाई’

  प्रकाशित मिति
२८ मंसिर २०७४, बिहीबार ११:५०


लोचनाको विषयमा एउटा दार्शनिक भनाइ बहुतै चलनमा छ । अर्कालाई दोषी औल्याउन चोर औँलो अरुतिर तेस्र्याउँदा बाँकी चार वटा औँला चाहिँ आफैतिर फर्किरहेका हुन्छन् । नेपाली काङ्ग्रेसका नेता र कार्यकर्ताहरुले अहिले यो दार्शनिक पाटोबाट आफुलाई समीक्षा गर्न जरुरी देख्छु म ।

अधिकांश काङ्ग्रेसीहरु एउटा निष्कर्षमा सहमत देखिएका छन् । त्यो हो–‘एमालेका मतदाताले हाम्रो विश्वप्रकाश शर्मा जस्तो प्रकाण्ड विद्वान, विकासप्रेमी, महान लोकतान्त्रिक, भिजनवाला, सक्षम र उदाहरणीय नेतालाई मत दिएनन्, चिन्न सकेनन्, त्यसैले हामी हारेका हौँ ।’ अझ कतिपयले त झापा क्षेत्र नं. १ का जनतालाई गाली गर्दै विश्वप्रकाशलाई अरु नै क्षेत्रमा जान सुझाव दिएका छन् ।

विश्वप्रकाशलाई झापा निर्वाचन क्षेत्र नं. १ मा करीव डेढ हजार जति मत एमाले समर्थकहरुले थपिदिएको भए अहिलेको परिणाम उल्टिन सक्थ्यो भन्ने कुरामा म पनि सहमत छु । यस क्षेत्रमा एमालेको सूर्य चिह्न थिएन, उसको आफ्नै पार्टीको नामबाट उम्मेद्वार पनि थिएन । तर एमालेसँग जिताउन र हराउने सामथ्र्यशाली मतको ढिकुटी थियो । त्यो ढिकुटी चुहाएर डालो भर्ने मनसाय काङ्ग्रेसको थियो, दुर्भाग्यवश त्यो पूरा भएन ।

के एमालेले मत नदिएर मात्रै विश्वप्रकाश शर्मा हारेका हुन् त ? हो, हार्नुको एउटा फ्याक्टर यो पनि हो । तर हारका अरु कारण नै छैनन् भन्ने चाहिँ होइन । अधिकांश एमाले समर्थकले गठबन्धनबाट उम्मेद्वार बन्नु भएका माओबादी केन्द्रका नेता सुरेन्द्र कुमार कार्कीलाई मत खसाले । गठबन्धनमा सामेल भए पछि एमालेले माओबादीलाई मत खसाल्नु स्वाभाविक थियो ।

के सबै काङ्ग्रेस समर्थकले विश्वप्रकाश शर्मालाई इमानदारीपूर्वक मत खसाले होलान् त ? मत गणनामा बसेका केही सूत्रहरुका अनुसार त मेचीनगर वडा नं. ६ र ९ बाट विश्वप्रकाश शर्मालाई अपेक्षाकृत मत नआएको पो बुझियो । सत्य हो भने, किन यसो भयो ? वडा नं. ९ विश्वप्रकाशको आफ्नै गृह वडा हो भने वडा नं. ६ चाहिँ संविधान सभाको चुनावका बेला पनि विश्वप्रकाशलाई कम मत दिने ठाउँ हो ।

खैर, त्यति गहिरो ढङ्गले नजाऔँ । किनकि, मताधिकार प्रयोग हरेक नागरिकको गोप्यताभित्र पर्ने कुरा हो । जसलाई मन पर्छ उसैलाई मतदान गर्ने हक नागरिकमा छ । धुलावारीको टाउन हलमा भएको आभार कार्यक्रममा विश्वप्रकाश शर्माले दिनु भएको पुरै भाषण सुनेँ । त्यहाँ उहाँले अन्तरघातीहरुको प्रसङ्ग त्यसै कोट्याउनु भएको छैन । उहाँले ‘अन्तरघात भएको शङ्का गर्दिन’ किन भन्नु भयो होला ? शङ्का भएरै उहाँले घुमाउरो भाषा प्रयोग गर्नु भएको हो । उहाँले अन्तरघातीलाई आगामी महाधिवेशनमा तह लगाइने र त्यसो गर्नेहरुले राजनीति छाडे हुने पनि बताउनु भएको छ । उहाँको यो अभिव्यक्ति ‘हावा हल्लिए पछि मात्र पात हल्लिन्छ’ भने जस्तै हो ।

काङ्ग्रेसका साथीहरुले हारको दोष एमालेमाथि थोपर्नु ज्यादै दरिद्रता हो । एमालेकै भर पर्ने हो भने विश्वप्रकाशलाई एमालेकै उम्मेद्वार बनाएको भए भइहाल्थ्यो नि । आखिर एमालेको उम्मेद्वारको ठाउँ खाली नै थियो, सूर्य चिह्न पनि खाली नै । उम्मेद्वार बन्ने काङ्ग्रेसबाट, अनि मतको अपेक्षा गर्ने एमालेबाट ? यो त ज्यादै असुहाउँदो भयो नि ।

मैले सुरुमै भनेको थिए–दोष अरुहरुमाथि थोपर्दा चार ओटा औँला आफैतिर फर्किरहेका छन् । मेरो विचारमा बुढी औँलो वडा नं. ६ अर्थात काँकरभिट्टातिर फर्किएको छ । माझी औँलो वडा नं. ९ अर्थात विश्वप्रकाशको गृह वडातिरै फर्किएको छ । कान्छी औँलो चाहिँ सदरमुकाम भद्रपुरतिर फर्किएको छ भने ठूलीकान्छी औँलो काङ्ग्रेसमा निष्ठापूर्वक लागिरहने तर चुनावका बेला खर्च गर्न सक्दैनन् भनेर उम्मेद्वार बन्नबाट पन्छाउने गरिएका इमान्दारहरुको समूहतिर फर्किएको छ ।

विश्वप्रकाशलाई झापा क्षेत्र नं. १ का आम मतदाताले चिन्न सकेनन् भनेर आरोप लगाउनुमा कुनै तुक छैन । म सम्झिरहेको छु–यही काङ्ग्रेसलाई शक्तिशाली बनाउँछु भनेर जिल्ला सभापतिको उम्मेद्वार बन्नु भएको थियो विश्वप्रकाश कुनैबेला । तर त्यसबेला के भयो ? ककसले उहाँलाई समर्थन गर्नु भयो ? विश्वप्रकाश जस्तो देशलाई चाहिने नेता त्यसबेला किन काङ्ग्रेसलाई चाहिँ नचाहिएको होला ? यसबाट के निष्कर्ष निस्कन्छ भने विश्वप्रकाशलाई एमालेले वा अरु पार्टीका मतदाताले होइन, काङ्ग्रेस आफैले चिनेको थिएन, छैन ।

अब काङ्ग्रेसले पहिला विश्वप्रकाशलाई चिन्नु पर्यो । विश्वप्रकाशले अरु पार्टीका समर्थकको मत जित्नु भन्दा पहिलो आफ्नै पार्टीका कार्यकर्ताहरुको मन जित्नु पर्यो । विश्वप्रकाशको भिजन एकातिर, कार्यकर्ताको व्यवहार अर्कैतिर । अनि कसरी बन्छ आधुनिक काङ्ग्रेस ? कसरी जित्छन् विश्वप्रकाशले ?

मालाको प्रसङ्ग नै हेरौँ । आफुले हारेपछि विश्वप्रकाशले माओबादीका विजयी उम्मेद्वार सुरेन्द्रकुमार कार्कीलाई आफैले उनेको माला पहिर्याएर बधाइ दिए । उहाँको यो कार्यलाई ज्यादै लोकतान्त्रिक, अद्भूत र उदाहरणीय भनेर प्रचार गरिएको छ । मिडियाले पनि खुबै हेडलाइन बनाए । के यस्तो संस्कार विश्वप्रकाशको काङ्ग्रेसमा छ ? के कृष्णप्रसाद सिटौला, उद्धव थापा, देउमान थेबे र डा. खगेन्द्र अधिकारीले पनि बिजेताहरुलाई विश्वप्रकाशले जसरी नै माला लगाइदिए ? लगाएनन् भने काङ्ग्रेस कसरी संस्कारयुक्त भयो ? के यो दुनियामा विश्वप्रकाश मात्र संस्कारयुक्त भएर पुग्छ ? कम्तीमा जिल्लाकै काङ्ग्रेसहरु विश्वप्रकाश जस्तै संस्कारी हुनु पर्दैन ? विश्वप्रकाश आफ्नै पार्टी पङ्तिमा रोलमोडल मानिन्थे भने उनले जस्तै माला लगाएर अरु काङ्ग्रेसका उम्मेद्वारहरु पनि उदाहरणीय बन्ने थिए ।

काङ्ग्रेसका लागि नै विश्वप्रकाशको चिन्तन, संस्कार र व्यवहार अनुकरणीय हुन सक्दैन भने एमाले, राप्रपा वा माओबादीले उहाँलाई भोट नदिएर हराए भनेर किन रोइलो गर्नु !

–इन्द्र घिमिरे
विर्तामोड–६, झापा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: