‘काङ्ग्रेस यतिबेला अस्पतालमा छ’

  प्रकाशित मिति
२७ मंसिर २०७४, बुधबार १३:१२


तपाई पराजय हुँदा पनि खुशी देखिनु हुन्छ, किन ?
निर्वाचनमा जाँदै गर्दा शुभेच्छुक र उम्मेद्वार दुवैको चाहना विजय हासिल होस् भन्ने नै हुन्छ । तर विजय भिन्न भिन्न प्रकृतिका हुन्छन् । एउटा गणितीय रुपमा हुने विजय र अर्को मनोबैज्ञानिक रुपमा । फरक यति हो गणितीय रुपमा हुनेलाई विजयीको रुपमा बुझिने र मनोबैज्ञानिक रुपमा हुनेलाई पराजयको रुपमा बुझिने हुन्छ ।
निर्वाचनमा जाँदै गर्दा १७ हजार ५ सय बढीको बामगठबन्धन, त्यसमा राप्रपा पनि थपिएको अवस्था । यति हुँदाहुँदै पनि झिनो मतान्तरले उपविजेता हुँदै गर्दा मैले मतदाताबाट मत पाइन, मतदाताको मन जित्न सकिन भन्ने सानो मन बनाउनु हुँदैन । त्यसैले यो स्वाभाविक रुपमा थियो कि देशभरिमा उठेको लहर, बामगठबन्धनको म्याथमेटिक्क अनुसारको परिणाम प्रतिकूल आउने त स्वाभाविक थियो नि । त्यसो भन्दै गर्दा गणितीय रुपमा हारियो तर मनोबैज्ञानिक रुपमा हारिएन । त्यस क्षेत्रमा मन जितेको अवस्था त मत परिणामले पनि बताउँछ ।

मत नजितेपछि मन जिते भन्नु, चित्त बुझाउने मेलो मात्र भएन र ! मत नजिते सत्तामा पुग्न पाउँदैनन् नि ?
जितेर आउने मान्छेले संसद्मा पुगेर पनि त्यस क्षेत्रका मतदाताको मन नजितेको नहुन सक्छ । झापा क्षेत्र नम्बर १ मा त बामगठबन्धनसँग फरक १० अर्थात ७ अर्थात ५ हजारको हुनुपथ्र्यो । तर त्यसो भएन । मैले जनताको मन नजितेको भए कसरी त्यति थोरै अन्तरको फरकमा उपविजेता हुन्थे त ! त्यसकारण पनि मैले मतदातालाई श्रद्धापूर्वक सम्मान गर्नुपर्छ ।
शासनको कुरा टेक्किनल हो । टेक्निकलमा मात्र जानुहुँदैन । देशभरबाट म संसद्मा पुगेको हेर्न चाहने धेरै थिए । तर झापा क्षेत्र नम्बर १ का मतदाताले संसद्मा गएर कार्य गर्नको निमित्त तिम्रो पुस्ताका गगन थापाहरु त्यहाँ छन्, तिमीले देशलाई राम्रो बनाउन पहिलो तिम्रै काङ्ग्रेसलाई राम्रो बनाऊ भन्ने अभिभारा दिएको मैले महसूस गरेको छु । त्यसैले म उपविजेता बने ।

अरु बेला नेपाली काङ्ग्रेसको पक्षमा निक्कै तिखारिएर र जनतालाई नेपाली काङ्ग्रेसप्रति आकर्षित गर्ने गरी तपाई विचार पस्कनु हुन्छ, तर परिणाम ल्याउने बेलामा साधु बनेर विपक्षीसँग कुरा गर्नुहुन्छ भन्ने तपाइँलाई आफ्नै पार्टीबाट आरोप छ नि ?
राजनीति गर्ने मान्छे जहिले विनम्र हुने, विपक्षीलाई पनि श्रद्धा गर्ने, हार्दा पनि आफ्नै हातले उनेको माला लगाइदिने, जित्दा पनि मुस्कुराउने र हार्दा पनि मुस्कुराउन सक्ने हुनुपर्छ । राजनीति गर्ने मान्छेले जहिले खराब नै इमेज बनाउनुपर्छ भन्ने छैन । म नेपाली काङ्ग्रेसका कुरा गर्दा पनि विमन्रतापूर्वक बोल्छु । म कुनै फिल्म डाइरेक्टर होइन । उनीहरुको निर्देशन अनुसार बोल्ने । जीवन कसरी बाँच्ने भन्ने जीवन दर्शनका मेरा आफ्नै नोटहरु छन् । जसमा मैले के लेखेको छु भने जबसम्म म युवा हुनेछु तबसम्म म पाकाले सोच्ने जस्तो गर्छु । पाकाले जस्तो बोल्ने प्रयत्न गर्छु । जुन दिन म पाको उमेरमा पुग्छु त्यो बेला म युवा जोशका साथ बाँच्ने प्रयत्न गर्छु ।

नेतापिच्छेको समीक्षा फरक फरक छ, तपाइँको विचारमा हारको कारण के होला ?
हारको कारण एउटा मात्र छैनन् । चारवटा फरक फरक कुराहरु छन् । पहिलो कुरा राष्ट्रिय राजनीतिमा संविधान नभएको देशलाई संविधान अरुको नेतृत्वमा लेख्न नसकेको अवस्थामा काङ्ग्रेस ठूलो दल र उसकै नेतृत्वमा सरकार भएको बेलामा लेखियो । सँगैमा प्रचण्ड केपी ओलीको उत्तिकै भूमिका थियो । हामीले मतदातामा यो कुरा स्थापित गर्न सकेनौं । दोस्रो देशलाई शान्ति प्रक्रियामा ल्याउन प्रचण्ड सहमत भएर आउँदै गर्दा त्यसलाई कोअर्डिनेसन गर्न र त्यसलाई स्थापित गर्न गिरिजाप्रसादले गर्नुभएको थियो त्यो पनि हामीले बुझाउन सकेनौं । तेस्रो कुरा मधेशमा आगो लागेको थियो, गोली चलेको थियो, काँकरभिट्टाबाट काठमाडौं जाने गाडीहरु बन्द भएको समयमा हेलमेट लगाएर ड्र«ाइभरले हाँकेर जानुहुन्थ्यो । तर त्यही मधेशमा गोली नचल्ने, मान्छे नमर्ने अवस्थाको बीचबाट चुनाव गराउने अभियान काङ्ग्रेसकै नेतृत्वमा भयो । स्थानीय चुनाव पनि शान्तिपूर्ण भयो हामीले त्यो कुरा स्थापित गर्न सकेनौं । त्यसैगरी जनजाति, दलितको मुद्दा, महिला र मधेशको सन्दर्भमा संविधान संशोधन गरेर सबैलाई समाविष्ट गर्न चाहेको छ । सबै अट्ने देश हो नेपाल र सबैलाई गाँस्न चाहेको छ काङ्ग्रेसले भन्ने राम्रा कुराको स्थापित गर्न सकेनौं । हिंसा र अस्थिरताको अवस्थामा पनि नेपालमा धेरै राम्रा कामहरु भएका छन् ती स्थापित गर्न सकेनौं यो पनि हो हार्नुको कारण ।
दोस्रो कुरो नेपाली काङ्ग्रेस पार्टीले गरेका राम्रा कुरालाई बेच्न पनि सकिएन र नराम्रा कुरालाई घटाउन पनि सकिएन । काङ्ग्रेस सरकार भएको बेलामा कतिपय नराम्रो कामहरु पनि भए । उद्योग बेचिएको कुराले निजीकरणमा गएपछि जनताले व्यापाक रोजगारी पाए, राजस्व बढ्यो हामीले बुझाउन सकेनौं । केही उद्योगहरु सस्तोमा बेचियो भनेर प्रचारित भए त्यो सत्य थियो, त्यसलाई चिर्न सकिएन । अर्को कुरा काङ्ग्रेसको नेतृत्वमा सरकार भएको बेलामा आइजीपी प्रकरण, महाअभियोगको प्रकरण यस्ता कुराहरुले डिफेन्सिप भयो । काङ्ग्रेसका राम्रा कुरालाई लैजान सकिएन नराम्रा कुराहरुलाई छोप्न सकिएन यसले पनि असर गर्यो ।
अर्को कुरा, बाम गठबन्धन बन्दै गर्दा उहाँहरु गणितको रुपमा बलियो हुनुहुन्थ्यो जित्नलाई बल पुग्यो । बाम गठबन्धन बन्दै गर्दा उहाँहरुको बैचारिक अन्तरविरोध थियो हामीले त्यसलाई पनि प्रहार गर्न सकेनौं । संविधान संशोधनको प्रक्रिया राष्ट्रघाती हो एमालेले भन्दै हिँड्यो । माओवादी जरुरी छ भन्दै हिँड्दै थियो । हामीले बीचमा उभिएर चिरफार गर्न सकेनौं । कमरेड मदन भण्डारीले अगाल्नु भएको जनवाद कम्युनिस्टहरुले हिँड्ने बाटो हो । त्यो बाटोमा कमरेड प्रचण्ड आउनुभयो तर ५२ नै सालमा आएको भए मान्छे यति धेरै मर्ने थिएनन् । प्रचण्ड तपाई अहिले त्यही आएर मिल्नु भएको छ सही गर्नुभएको तर तपाईले त्यो बेलैमा गरिदिएको भए यति धेरै मान्छे मर्ने थिएनन् । त्यो कुरा हामीले जनतालाई बुझाउन सकेनौं । यो असर मतदातामा पर्यो । राम्रा कुरा काङ्ग्रेसले बुझाउन सकेन, नराम्रा कुराको प्रचार बढी गरे विपक्षीले त्यसै परिणाम हो काङ्ग्रेसको ।

काङ्ग्रेसले अहिलेको परिणाम भविष्यमा उल्ट्याउन सक्छ जस्तो लाग्छ तपाइँलाई ?
नेपाली काङ्ग्रेस पार्टीलाई रुपान्तरण गर्ने दिशामा हामी लागिसकेका छौं । कुनै बेला १९८८ को दशकमा भारतमा केवल चार वटा सिट जितेको थियो इन्दिरा गान्धीको निधनपछि भारतीय जनता पार्टीले । आज चार सिट अरु पार्टीलाई छाडिराखेर बाँकी सिट लिएर जितिरहेको छ । नेपालमा पनि त्यस्ता उदाहरण प्रशस्त छन् ।

बाम गठबन्धन र काङ्ग्रेसविच अबको सम्बन्ध कस्तो होला ?
हिजो पनि मैलै चुनावी प्रचारका क्रममा हिँड्दै गर्दा बाम होइन, आम गठबन्धन आवश्यक छ भनेको हुँ । नेकपा एमाले र माओवादीको जुन गठबन्धन छ त्यसले बहुमत राम्रो ल्याउँदैछ । त्यो गठबन्धनका नेताको रुपमा कमरेड केपी ओली प्रधानमन्त्री बन्दै हुनुहुन्छ । झापाको जमिनको नेता दोस्रोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री र मन्त्रीमण्डल गठनपछि चारवटा कुरा हेक्का राखेर गम्भीरतापूर्वक गाँस्नुपर्छ । पहिलो कुरा आफूलाई अझ राम्रोसँग जनतासँग गाँस्नुपर्छ । दोस्रो नेपाली काङ्ग्रेस जस्तो प्रमुख प्रतिपक्षी जो यसरी रचनात्मक तहले सहयोग गर्ने मनोविज्ञानमा छ । उसलाई गाँस्नुपर्छ । किनभने मलाई खुशी र गौरव लाग्छ । देशभर काङ्ग्रेस हारिरहँदा पनि मतगणना स्थलमा उनीहरु मत गनेर बसे । काङ्ग्रेस हार्यो भने कुनै मध्यरातमा समेत छाडेर हिँडेनन् । त्यसकारण पनि काङ्ग्रेस गाँस्नुपर्छ । तेस्रो मधेशकेन्द्रित दललाई पनि गाँस्नुपर्छ र चौथो कुरो चुनाव बाहिर रहेको विप्लवलाई पनि कसरी गाँस्ने भन्ने कुराको गम्भीर हेक्का राख्नुपर्छ । यी काम सम्पन्न गर्नलाई नेपाली काङ्ग्रेसको ठूलो सहयोगीको भूमिका रहने छ । प्रदेश नामाकरण हुँदै गर्दा भोलि कहीँ न कहीँ द्वन्द्व हुन सक्छ । त्यसलाई निराकरण गर्ने दायित्व बामगठबन्धनको मात्र होइन, काङ्ग्रेसको पनि हो । त्यसैले पनि आम गठबन्धनको आवश्यकता छ ।

कतिपयले अब नेपाली काङ्ग्रेसको युग समाप्त भयो भन्छन् । कसरी अघि बढ्छ पार्टी ?
नेपाली काङ्ग्रेसले निश्चय नै गभ्भीर आत्म समीक्षा गर्नुपर्छ । कतिपयलाई काङ्ग्रेस सकियो भन्ने लागेको छ । तर काङ्ग्रेस यतिबेला घाटमा होइन, अस्पतालमा छ । घाटबाट एउटै बाटोमा मात्र जान्छ स्वर्गतिर । तर अस्पतालबाट दुईवटा बाटोमा जान्छ । एउटा राम्रो उपचार भयो भने जीवनको बाटो, भएन भने घाटको । यतिबेला विरामीको उपचार के गरेर हुन्छ भने कुनै डाक्टरले सडकमा उभिएर बोलेर होइन । सामान्य सिटामोलले हुन्छ, कि एन्टिवायोटिक चाहिन्छ कि डाइलोसिस नै गर्नुपर्छ ? या अपरेसन, त्यो सब गरौं । तर म काङ्ग्रेसका सबै शुभेच्छुकहरुलाई ढुक्क भएर साथ दिन अपील गर्दछु । काङ्ग्रेसलाई नवजीवन दिनका लागि । त्यसकारण मान्छेको स्वास्थ्य डाक्टरका सामु सत्य बोलेर मात्र ठिक हुन्छ । त्यसकारण काङ्ग्रेस अस्पतालमा छ । पुराना डाक्टरले उपचार गर्नुभयो सही । होइन भने नयाँ पुस्ताका हामी छौं त्यसलाई कुन ढङ्गले जानुपर्छ, दृष्टिकोण र डिजाइन बनाउँछौं त्यही अनुसार उपचार गर्छौं ।

तपाई पनि एउटा डाक्टर नै हो, के दवाई खुवाउनु पर्ने भएको छ काङ्ग्रेसलाई ?
सामान्यतः डाक्टरले मिडियाका सामु उभिएर दबाईको नाम भन्दैन । उसले गम्भीर भएर उपचारमा ध्यान दिन्छ । डाइलोसिस गर्छ । अहिले काङ्ग्रेसलाई ठेस लागेको छ । त्यसैले उ बस्दैन, जुरुक्क उठेर उभिन्छ र अघि बढ्छ । म पार्टीको केन्द्रीय सदस्य पनि हुँ । मैले आफू पपुलर हुने कुरा मात्र गर्ने होइन । पार्टी विरामी हुनुमा कसलाई के लागेको छ सबै बसेर मन्थन गर्छौ र त्यही अनुरुप अघि बढ्छौं ।

तपाई चुनावमा हार्ने वित्तिकै विपक्षीलाई माला लगाउन जानुहुन्छ । के सन्देश दिन खोज्नु भएको ?
चुनावमा विजेता भइसकेपछि बधाई दिन मतदाताले कुनै साइत हेर्दैनन् । त्यसैले मैले आफू उपविजेता बनेपछि भरे भोलि जाउला भन्ने मेरो राजनीतिक संस्कार होइन । म राजनीतिको एउटा इमान्दार कार्यकर्ता हो । म रहेको पार्टी कसैलाई मन पर्ला कसैलाई नपर्ला । ती सबैलाई धन्यवाद छ । तर म चुनाव जितौं या नजितौं, संसदमा पुगौं या नपुगौं म सँग नेपाललाई समृद्धि बनाउने स्पष्ट खाका छ । अहिलेसम्म हामी आआफ्ना पार्टीका घोषणा पत्र बोकेर हिंडेका छौं । साझा दस्तावेज बनाउन सकेका छैनौं । त्यसैले त्यो जरुर छ । संविधानको एउटा दस्वावेज बोकेको नेपालले अर्को हातमा समृद्धिको दस्तावेज बोक्नु पर्छ । त्यो गर्न मन थियो, तर समयले साथ दिएन । त्यसैले त्यो गर्न विपक्षी पार्टीबाट कमरेड राम कार्की पुग्नु भयो । त्यसैले त्यो काम पूरा गर्नुस् भनेर माला लगाई दिए ।

आफ्नो क्षेत्रका मतदातालाई के भन्न चाहनु हुन्छ ?
झापा–१ बाट विजयी भई नेपाल देशको संसदमा पुगेर सबै राजनीतिक दललाई खबरदारी गरेर आफ्ना नेतामा पनि परिवर्तन तुल्याउने इच्छा थियो । साउदी, कतार, मलेसिया र दुबईमा जनताका छोराछोरी ५० डिग्री सेल्सियसमा मरिरहने र काठमाडौंको एसी मुनी बसेर केही नेता झगडा गरिरहने परिपार्टीको अन्त्य गर्नुस् भनेर बोल्ने इच्छा थियो, त्यो पूरा भएन । काङ्ग्रेस, एमाले माओवादी लगायतका पार्टीको घोषणा पत्र मात्रै जनताको हातमा थमाएर हुन्न, नेपाल देशको समृद्धिको दस्तावेज बनाउनुपर्छ । संविधान सभा निर्वाचनको दुई बर्षमा संविधान बनाउन सक्ने देशले समृद्धिको दस्तावेज बनाउनुपर्छ । त्यसैलाई गीता, कुरान, पुरान मानेर सबले सही गर्नुपर्छ । त्यसका लागि सबै एक ठाउँमा आउनुपर्छ भनेर त्यो कुरा गाँस्ने मलाई धोका थियो । त्यो पूरा हुन सकेन । तर त्यो बाबजुद पनि किञ्चित दुःखी नभइकन मतदाताको जे निर्देशन, आदेश आयो त्यो मैले स्वीकारे । त्यसकारण पनि मलाई मतदान गर्नु हुने मतदाताहरुलाई हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दछु ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: