मेचीनगर । आन्दोलनको ज्वाला दन्किरहेको मधेशको मुख्य जिल्लाहरूको स्थलगत अध्ययन गरेर भर्खरै फर्किएका नेपाली काङ्ग्रेसका युवा नेता विश्वप्रकाश शर्माले ‘काठमाडौँले मधेशको माग नबुझेको र मधेशले संविधानमा पाएको अधिकार नबुझेको’ बताएका छन् ।
पर्सादेखि र सप्तरीसम्मका मधेशका जिल्लाको भ्रमणपछि त्यहाँको वस्तुस्थिति समेटेर पार्टीका शीर्ष तीन नेता सभापति सुशिल कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई ३५ पृष्ठको प्रतिवेदन बुझाएर हालै गृहजिल्ला झापा फर्किएका नेता शर्माले शनिवार रिडर्स झापाले धुलावारीमा आयोजना गरेको ‘मधेश विमर्श’ कार्यव्रmममा एकल वक्ताको रुपमा बोल्दै त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
करीव डेढ घण्टा लामो सम्भाषणको व्रmममा उनले मधेशमा उठेको आन्दोलन र मधेशी जनताको मागलाई राजेन्द्र महतोको नजरले हेर्न नहुने निष्कर्ष सुनाए ।
उनले नयाँ संविधानबाट मधेशले धेरै अधिकार पाएको उल्लेख गर्दै काठमाडौँले परम्परागत नजरले मधेशीलाई हेरिदिँदा आन्दोलनले राम्रो मलजल पाएको दावी गरेका छन् ।
उनले असोज ३ गते हतार नगरी केही दिन मिति सारेर मधेशलाई विश्वासमा लिएर नयाँ संविधान जारी गरेको भए वा अहिले २ बुँदे संशोधनमा राखिएका समावेशी समानुपातिक व्यवस्था संविधानको सुरुवातमै समाविष्ट गर्न सकेको भए मधेशमा यत्रो असन्तोष नउठ्ने आफ्नो धारणा सुनाए ।
उनले सीमाङ्कनलाई विज्ञको परामर्शमा हेरफेर गरेर भए पनि मधेशको माग सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै यदि मधेशको मागलाई अझै उपेक्षा गरेर काठमाडौँ अघि बढ्यो भने मधेशको सेन्टिमेन्ट सीके राउतहरूको हातमा जाने खतरा बढेको चेतावनी दिएका छन् ।
युवा नेता शर्माले मधेश भ्रमणको बेला भोगेका र देखेका परिदृश्य र त्यहाँका वासिन्दाले सुनाएका धारणा कार्यव्रmममा सविस्तार चर्चा गरेका थिए । सहभागीले सोधेका प्रश्नको समेत उनले जवाफ दिएका थिए ।
रिडर्स झापाका कार्यवाहक अध्यक्ष दामोदर ढुङ्गेलको सभापतित्वमा भएको कार्यव्रmममा विभिन्न दलका नेता, बुद्धिजीवी, व्यवसायी अगुवा, प्राध्यापक एवम पत्रकारहरूको वाक्लो उपस्थिति रहेको थियो ।
मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको कार्यव्रmमको सुरुवातमा रिडर्स झापाका, दामोदर ढुङ्गेल, सौरभ मैनाली र निरोज कट्टेलले आयोजनाका विषयमा बोलेका थिए ।