कानुनको अधीनमा रही शैक्षिक गतिविधि गर्न सुझाव

  प्रकाशित मिति
५ माघ २०७३, बुधबार १२:१०


बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाले विद्यालयमा देखिएका शैक्षिक समस्याका बारेमा सरोकारवालासँग छलफल गरेको छ ।

सङ्गठनले मङ्गलवार विर्तामोडमा आयोजना गरेको ‘झापाका माध्यमिक शिक्षाका साझा समस्या र समाधान’ विषयक अन्तरक्रियाका सहभागीले समग्र शिक्षा पद्धतिलाई परिमार्जन गरी व्यवहारिक शिक्षामा जोड दिनसके मात्र समस्या समाधान हुने निष्कर्ष निकालेका छन् ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का महासचिव बिरेन्द्र बस्नेतले वर्तमान शिक्षा ऐन तथा कानुनको अधीनमा रहेर शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिए । त्यस्तै जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले विद्यालयका शैक्षिक समस्या हल गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्लाका नीजि तथा सामुदायिक विद्यालयमा देखिएका शैक्षिक समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुत गरिएको छ । कार्यपत्रमा नीजि विद्यालयमा अव्यावहारिक ढङ्गबाट निर्धारण गरिएको शुल्क तथा शुल्कबृद्धि बिषय उल्लेख गरिएको छ । त्यस्तै विद्यार्थीलाई दिनुपर्ने १० प्रतिसत छात्रवृत्ति नियम अनुसार वितरण नगरिएको, मापदण्ड विपरीत सञ्चालन तथा प्रयोग गरिएका सवारी साधनको रङ, चर्को भाडादर, पुराना सवारी साधन, क्षमता भन्दा बढी विद्यार्थी चढाएको विषय कार्यपत्रमा उठाइएको छ ।

सामुदायिक विद्यालयतर्फ शिक्षा सेवा आयोगबाट शिक्षक पूर्ति हुन नसक्दा समस्या आएको कार्यपत्रमा उल्लेख गरिएको छ । शिक्षकहरु धेरै लामो समय अनावश्यक विदामा बस्नु, नियमित रुपमा पठनपाठन नहुनु, विद्यालयका नाममा रहेका भौतिक संरचना सदुपयोग नभएको, सरकारले विभिन्न तालिमहरुमा लगानी गरेको भए पनि शिक्षकहरुले त्यसको सदुपयोग गरी पढाउन नसकेको, विद्यालय व्यवस्थापन समिति चयन प्रक्रियामा अनियमितता भएको, दिवा खाजा कार्यक्रम प्रभावकारी नभएकोलगायतका समस्या सामुदायिक विद्यालयमा रहेको निष्कर्ष निकालिएको छ ।

कार्यपत्रमा समाधानका उपायहरु पनि खोजी गरिएको छ । संस्थागत विद्यालयतर्फ विना अनुमति सञ्चालनमा रहेका विद्यालय तत्काल अनुगमन तथा बन्द गर्नुपर्ने, शुल्कबृद्धि व्यवहारिक ढङ्गबाट व्यावसायिक हितलाई सुरक्षित हुनेगरी सरोकारवालाहरुको समन्वयमा निर्धारण गर्नुपर्ने, विभिन्न शीर्षकमा अतिरिक्त क्रियाकलाप शुल्क तथा विना शीर्षक उठाइने रकम बन्द गर्नुपर्नेलगायतका ९ वटा सुझाव दिइएको छ ।

त्यस्तै, सामुदायिक विद्यालयतर्फ शिक्षा सेवा आयोगबाट विज्ञापन, छनोट परीक्षा तथा सिफारिसको नियमितता हुनुपर्ने, विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियालाई सबैखाले हस्तक्षेपबाट मुक्त राख्नु पर्ने, भौतिक संरचना संरक्षण तथा सदुपयोग गर्न विशेष कार्ययोजना बनाउनु पर्ने लगायतका सुझाव दिइएको छ ।

कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष कोषराज प्याकुरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरी, क्रान्तिकारीका केन्द्रीय सचिव महेन्द्र भट्टराई, हिसानका केन्द्रीय सदस्य जयबहादुर श्रेष्ठ, क्रान्तिकारीका रवि बस्नेतलगायतले सुझावसहितको धारणा राखेका थिए । क्रान्तिकारीका जिल्ला संयोजक प्रकाश मिश्रको अध्यक्षतामा भएको कार्यक्रम सङ्गठनका अनिल सुवेदीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: