कानून पीडितमुखी, कार्यान्वयन पीडकमुखी

  प्रकाशित मिति
१३ पुष २०७३, बुधबार ११:५२


विगत केहि वर्ष यता नेपालको अर्थतन्त्रका लागि मुख्य श्रोतको रुपमा रेमिट्यान्स रहेको पाइन्छ । नेपालमा आर्थिक वर्ष २०७१÷०७२ मा नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २९ प्रतिशत योगदान रेमिट्यान्सको रहेको छ । हाल नेपालमा ६५ प्रतिशत जनता कृषिमा आश्रित रहेका छन् भने कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान ३२ प्रतिशत जति रहेको पाइन्छ ।

वैदेशिक रोजगारीवाट नेपाल भित्रिएको रेमिट्यान्सलाई हेर्ने हो भने देशको अर्थतन्त्रमा कृषि पछिको दोस्रो योगदान वैदेशिक रोजगार रहेको पाइन्छ । हाल आएर वैदेशिक रोजगारीमा युवायुवतिहरूको आकर्षण अत्यन्तै बढेको देखिन्छ । नेपालमा भन्दा आकर्षण आम्दामी हुने भएकोले छोटो समयमा राम्रै कमाई हुने भएका कारण वैदेशिक रोजगारीमा युवा युवतिको मोह बढेको पाइन्छ ।

त्यसो त २०३७÷०३८ सालदेखि नेपालीहरू वैदेशिक रोजगारीमा जान थालेका भए तापनि २०४६ साल पछि बैदेशिक रोजगारीमा जानेको सङ्ख्या निकै बढ्दै गई २०६० साल पछि नेपालमा काम गर्ने भन्दा कामका लागि विदेशिने युवा युवतिको सङ्ख्या अत्यन्तै बढेको पाइन्छ । आर्थिक वर्ष २०७०÷०७१ मा ५ लाख १२ हजार युवायुवति वैदेशिक रोजगारमा गएकोमा आ.व.२०७१÷०७२ मा ५ लाख २७ हजार युवायुवति कामका लागि विदेशिएको पाइन्छ ।

यसरी एकातिर ठूलो युवा जनशक्ति विदेशिएको र अर्कोतिर देशको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले धानेका कारण वैदेशिक रोजगार आम चासोको विषय रहेको पाइन्छ । खास गरेर राज्यले अझ चासो दिई वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित वनाउनु पर्ने आवश्यकता टड्कारो रुपमा रहेको देखिन्छ । हुन त राज्यले वैदेशिक रोजगार ऐन २०६४ नियमावली २०६४ बनाई लागु गरेको साथै बिभिन्न समयमा नीति र निर्देशिकाहरू समेत जारी गरेको पाइन्छ ।

यति हुँदा हुदै पनि वैदेशिक रोजगारमा जाने युवायुवतीहरू विभिन्न वहानामा ठगिएका, विभिन्न जोखिममा परेका घटनाहरू प्रशस्त मात्रामा विभिन्न सञ्चारमाध्यममा आइरहेको पाइन्छ । वैदेशिक रोजगारभित्र रहेका व्यवसायीका विभिन्न खाले ठगिका अपराधहरूलाई निरुत्साहित गर्नका लागि दोषीलाई कठोर सजायको व्यवस्था गर्नेगरी ऐनमा निकै राम्रा र महत्वपूर्ण व्यवस्थाहरू रहेको पाइन्छ । जसले केहि बैदेशिक रोजगारका अपराधिहरूलाई सजाय गर्ने गरी र पीडितले राहत पाउने गरी न्याय निरुपण न्यायालय र वैदेशिक रोजगार विभागबाट भइरहेको पनि पाइन्छ ।

बैदेशिक रोजगार कसुर सम्वन्धि ऐनमा भएका केहि व्यवस्थाहरू ः
बैदेशिक रोजगारमा कामदारहरू पठाउँदा लैङ्गिक विभेद नगरिने कानुनी व्यावस्था रहेको पाइन्छ । त्यसै गरेर १८ वर्ष उमेर नपुगेका नावालक मानी नावालकलाई वैदेशिक रोजगारीमा नपठाउने भन्ने व्यवस्था भन्ने रहेको छ । बैदेशिक रोजगारीमा पठाउँदा महिला, दलित, आदिवासी, जनजाति, उत्पीडित वर्ग, पिछडिएको क्षेत्र तथा वर्ग एवम् दुर्गम क्षेत्रका व्यक्तिलाई आरक्षण प्रदान गरिएको पाइन्छ ।

यदि कुनै वैदेशिक रोजगार व्यवसायीले वा व्यवसायीको नाममा अन्य जोसुकै व्यक्तिले बैदेशिक रोजगार सम्वन्धी कसुर गरेमा सजायको व्यवस्था ऐनले गरेको छ । बैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्नु अघि उक्त व्यवसाय सञ्चालन गर्नलाई बैदेशिक रोजगार विभागवाट अनुमति लिनु पर्छ । तर अनुमति नलिई व्यवसाय सञ्चालन गरेमा अथवा अनुमति नलिई कसैलाई बैदेशिक रोजगारीमा लगाइदिन्छु भनी झुठो आश्वासन र प्रलोभन देखाई बैदेशिक रोजगारीमा लगाइदिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम त्यसको ५० प्रतिशत हर्जना गरी विदेश आउँदा जाँदा लागेको खर्च समेत पीडितलाई दिलाई भराई निजलाई ३ देखि ५ लाखसम्म जरिवाना र ३ देखि ७ वर्षसम्म कैद हुन्छ । तर यदि विदेश पठाएको रहेनछ भने आधा सजाय हुन्छ ।

त्यसैगरी इजाजत पत्रले कामदार पाउने स्वीकृत वैदेशिक रोजगार विभागबाट नलिई कामदार विदेश पठाएमा वा कसैलाई वैदेशिक रोजगारीमा पठाइदिने छु भनी झुठो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिई विदेश नपठाएमा लिएको रकम सो को ५० प्रतिशत हर्जना पीडितलाई भराई ३ देखि ७ वर्षसम्म कैद र ३ देखि ५ लाखसम्म जरिवाना हुन्छ । त्यसै गरेर १८ वर्ष उमेर नपुगेको नावालकलाई बैदेशिक रोजगारीमा पठाएमा पनि ३ देखि ७ वर्षसम्म कैद र ३ देखि ५ लाखसम्म जरिवाना हुन्छ ।

बैदेशिक रोजगारका लागि खुला नगरेका मुलकमा कामदार पठाएमा वा खुला गरेको मुलुकको प्रवेशाज्ञा (भिषा) लिई खुला नगरेको मुलुकमा पठाएमा ३ देखि ७ लाख रुपैयाँसम्म जरिवाना र ३ देखि ७ वर्षसम्म कैद हुन्छ । माथि उल्लेखित अपराधमा वैदेशिक रोजगार विभागमा जहिलेसुकै उजुरी दिन सकिन्छ ।
त्यस्तै करार विपरित कार्य गरे गराएमा (काम र तलवमा फरक परेमा ) १ लाख रुपैयाँ जरिवाना र कम भएको पारिश्रमिक सुविधा वापतको रकम कामदारले भराई लिन पाउँछ । जसको लागि भए गरेको मितिले १ वर्ष भित्र वा विदेशवाट फर्किई आएको १ वर्ष भित्र उजुरी गर्नु पर्छ साथै गलत स्वास्थ्य परीक्षणका कारण स्वदेश फर्किनु परेमा स्वास्थ्य परीक्षण गर्ने संस्थाले विदेश जाँदा आउँदा लागेको खर्च भराउनु पर्ने कानुनी व्यवस्था रहेको पाइन्छ ।

यसरी हेर्दा वैदेशिक रोजगार ऐन २०६४ र नियमावली २०६४ ले बैदेशिक रोजगारका कारण ठगीमा परेका पीडितहरूका लागि धेरै राम्रा व्यबस्थाहरू गरेको देखिन्छ । तर यति हुँदा हँुदै पनि पीडितहरूले पीडकलाई सजाय दिलाउन र आफुले क्षतिपूर्ति पाउनका लागि धेरै चुनौतिहरू रहेको पाइन्छ जसलाई निम्न वमोजिम उल्लेख गर्न सकिन्छ ।

चुनौतीहरू ः
बैदेशिक रोजगार ऐन पीडितमुखि भए पनि यदि कोहि व्यक्ति पीडित भएमा पीडकलाई कार्वाही गराउन सम्वन्धित निकायसम्म पुग्नको लागि धेरै कठिनाइको सामना गर्नु पर्ने ऐनको कार्यान्वयन गर्ने निकायहरूको अवस्थाले देखाएको पाइन्छ ।
क) उजुरी बैदेशिक रोजगारी विभागमा मात्र दिनु पर्ने र विभाग काठमाडौमा मात्र केन्द्रित भएका कारण टाढाका पीडितलाई आउने जाने खाने वस्ने लाग्ने खर्च लगायतका मुद्दामा भरी भराउ हुँदासम्म लाग्ने समय आदि कुराले भरी पाउने खर्च भन्दा लागत वढी पर्न जाने हुँदा थोरै रकम लिई स्थानीय स्तरमै मिलापत्र गर्ने प्रकृति रहेको जसले गर्दा पीडकले उन्मुक्ति पाउने सम्भावना वढी देखिन्छ ।
ख) पीडकले पैसा लिएको भरपाई नै नदिने र भरपाई दिए पनि कम पैसाको भरपाई दिएका कारण पनि पीडितहरू मुद्दासम्म जान प्रमाणको अभावले नसकिरहेको पाइन्छ ।
ग) लामो झन्झटिलो र पुरातन शैलीको अनुसन्धान पद्धति र न्यायिक कार्यविधिका कारण पीडितले तत्काल राहत र न्यायको अनुभूति गर्न नसक्ने हुँदा पनि पीडित पीडक उपर उजुरी गर्ने कुरामा उत्साहित र अग्रसर नहुने गरेको पाइन्छ ।
घ) पीडितलाई क्षतिपूर्ति पीडकको जाय जेथाबाट भराउने गरी कानुनी व्यवस्था भएको र यदि पीडकको जेथा फेला नपरेमा वा पीडकसँग केहि जेथा नभएमा अन्य श्रोतबाट क्षतिपूर्ति (हर्जाना) दिलाउने कानुनी व्यवस्था नभएका कारण पनि पीडितले पीडित नै हुनु पर्ने अवस्था रहेको छ । तर यदि पीडकसँग पीडितलाई भरिभराउ गर्ने जेथा नभएमा राज्यकोषबाट पीडितलाई भरिभराउ गरी राज्यले पीडकबाट सरकारी बाँकी सरह असुल उपर गर्ने व्यवस्था भएमा पीडितले राहत पाउने थिए र ऐनको कार्यान्वयन अझ प्रभावकारी हुने थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: