कानून बन्यो, कार्यान्वयन भएन

  प्रकाशित मिति
२२ श्रावण २०७५, मंगलवार १३:००


झापा । चिया मजदुरका अगुवाहरुले ज्याला र सुविधा वृद्धि हुने गरी सरकारले लागू गरेको नयाँ श्रम ऐन तत्काल कार्यान्वयन हुनु पर्ने माग गरेका छन् ।

तर अन्य उद्योगसरह चियामा श्रम ऐन लागू गरिए चिया उद्योगहरु चल्न नसक्ने उद्योगीहरुको भनाई छ ।

झापा, इलाम लगायत दर्जनौ जिल्लामा विस्तार भइसकेको चिया खेतीमा मजदुरको ज्याला र सुविधाको विषयलाई लिएर व्यवस्थापन र मजदुर पक्षविच वर्षौदेखि विवाद जारी छ ।

कानूनले किटान गरिदिएको विषयमा समेत विवाद हुँदा विगतमा दुवै पक्ष वार्तामा बसेर समाधान निकाल्ने गरेका पनि छन् ।

तर यसपटक सरकारले चिया उद्योगलाई अन्य उद्योगसरह एउटै कानूनले नियमन गर्ने नयाँ नीति लिएपछि कानून कार्यान्वयनमा समस्या उत्पन्न भएको छ ।

मजदुर पक्ष नयाँ ऐन हुबहु कार्यान्वयन हुनु पर्ने भन्दै कानूनको छिटो कार्यान्वयनको पक्षमा उभिएको छ भने चिया उत्पादकहरु विगतमा झैं चिया क्षेत्रका लागि छुट्टै कानून चाहिने अडानमा छन् ।
…………
मजदुर भन्छन्–‘बढेको ज्याला देउ’
विर्तामोड । विर्तामोडमा सम्बाद समूहले ‘चिया मजदुरका समस्या र समाधानका उपाय’ विषयमा सोमवार आयोजना गरेको छलफल कार्यक्रममा मजदुर नेताहरुले नयाँ श्रम ऐनले तोके बमोजिमको बढेको ज्याला मागेका छन् ।

कार्यक्रममा बोल्ने अधिकांश चिया मजदुरको सङ्घ सङ्गठनका अगुवाहरुले श्रम ऐन कार्यान्वयनमा विलम्ब गर्न नहुने सरकारलाई सुझाव दिए ।

अहिले रु. २७८ दैनिक ज्याला पाउँदै आएका मजदुरहरुले नयाँ श्रम ऐन कार्यान्वयन भए दैनिक रु. ५१७ ज्याला, थप १० प्रतिशत सञ्चय कोष र ८.३३ प्रतिशतको उपदान रकम पाउने व्यवस्था रहेको जिफन्ट प्रदेश नं. १ का सदस्य सन्तकुमार राईले बताए ।

उनले लागू भइसकेको श्रम ऐनलाई अबिलम्ब कार्यान्वयनमा लैजान सरकारलाई आग्रह समेत गरे ।
श्रम ऐन–२०७४ मा बार्षिक रु. एक लाखको स्वास्थ्य बीमाको शुल्क मजदुर र व्यवस्थापन पक्षले आधा–आधा व्यहोर्नु पर्ने र रु.७ लाखको दुर्घटना बीमाको सबै बीमा शुल्क उद्योगी पक्षले व्यहोर्नु पर्ने व्यवस्था भएको अखिल नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश नं. १ का इञ्चार्ज भूपाल सापकोटाले बताए ।
तर चिया उद्योगीले सहमति नजनाएको भन्दै अहिलेसम्ममा सो ऐनको कार्यान्वयन हुन नसक्दा मजदुरहरु अन्यायमा परेको सापकोटा बताउँछन् ।

मासिक तलबमा कार्यरत चिया मजदुरले रु. १३ हजार ४५० पाउनु पर्ने ऐनको व्यवस्था समेत हाल लागू भएको छैन ।

नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया मजदुरको अवस्था दयनीय रहेको बताउँदै श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा जोड दिए ।

उनका अनुसार मजदुरका अधिकारलाई खुम्च्याउने गरी छुट्टै चिया नियमावलीको माग गर्दै चिया उद्योगीहरुले श्रम ऐनको कार्यान्वयनमा आनाकानी गरिरहेका छन् ।

नेपालमा चिया क्षेत्रमा ४५ हजार मजदुर कार्यरत रहेको र तीमध्ये १५ हजार मात्र स्थायी कामदारको रुपमा रहेको जिफन्ट प्रदेश नं. १ का सदस्य सन्तकुमार राई बताउँछन् ।

२०७४ भदौ १९ गते श्रम ऐन–२०७४ मा लालमोहर लागे पनि हालसम्म नेपाल सरकारले ऐनलाई राजपत्रमा प्रकाशित नगरेको जिफन्ट नेता राईले गुनासो व्यक्त गरेका छन् ।
………………..

उद्योगी भन्छन्–‘छुट्टै नियमावली चाहिन्छ’
भद्रपुर । नेपाल चिया उत्पादक सङ्घका तर्फबाट नेपाल सरकारसँग वार्तामा खटिएका चिया उद्योगी चण्डीराज पराजुली चिया क्षेत्रमा छुट्टै श्रम सम्बन्धी नीति सरकारले लागू नगरे चिया क्षेत्र धराशायी हुने बताउँछन् ।

उनले अन्य उद्योगसरह चिया क्षेत्रमा श्रम ऐन लागू नगर्न र छुट्टै चिया नियमावली बनाउन सरकारलाई आग्रह गरिएको बताए ।

सरकारले अन्य उद्योगसरह चिया क्षेत्रलाई समेटेर नयाँ श्रम ऐन लागू गरेपछि चिया उद्योगीहरु लगातार सरकारसँग यही विषयमा वार्तामा रहेको उनी बताउँछन् ।

राज्यले चिया क्षेत्रको विशिष्ट अवस्थालाई अवश्य बुझ्ने र छुट्टै चिया नियमावली ल्याउन तयार हुने आफुहरुको विश्वास रहेको पराजुली बताउँछन् ।

भारत, श्रीलङ्का र बङ्गलादेशमा समेत चिया क्षेत्रलाई समेट्ने छुट्टै श्रम ऐन लागू भइरहेको दावी गर्दै वार्ताकार पराजुलीले नयाँ श्रम ऐन आउन अघिसम्म छुट्टै चिया नियमावली रहेको स्मरण गराएका छन् ।

‘जबसम्म छुट्टै चिया नियमावली सरकारले बनाएर लागू गर्दैन’, चिया उत्पादक सङ्घका वार्ताकार पराजुली भन्छन्–‘तबसम्म हामी चिया मजदुरको ज्याला निर्धारणमा सहमति दिने पक्षमा छैनौँ ।’
बरु चिया बगान र कारखाना बन्दै गर्नु परे तयार रहेको उनले बताए ।
………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: