गौरीगञ्ज, १६ कार्तिक । गौरीगञ्ज चोकमा रहेको एक फार्मेसीमा कानको उपचारका लागि जाँदा आफुमाथि फार्मेसीका सञ्चालकले बलात्कार गरेको भन्दै प्रहरीमा एक महिलाले उजुरी दिएकी छन् ।
स्थानीय कोचिला अनलाइनले जनाए अनुसार आरोप लागेका ताजपुरिया फार्मेसीका सञ्चालक ५० वर्षीय पर्शुराम ताजपुरिया उजुरीपछि भागेका छन् ।
पीडित महिला ४० वर्षीया छिन् । उनी गत असोज १९ गते फार्मेसीमा कानको उपचार गर्न गएकी थिइन् । तर फार्मेसीका सञ्चालकले महिलालाई चेकजाँच गर्ने क्रममा जबर्जस्ती करणी गरेको ती महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
पीडित महिला गौरीगञ्ज गाउँपालिका वडा नं. ४ कदमगाछीकी बासिन्दा हुन् । घटना असोज १९ गतेको भए तापनि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा कार्तिक ८ गते मात्र उजुरी दर्ता भएको थियो ।
फार्मेसी सञ्चालक ताजपुरियाले त्यस्तो कुनै किसिमको दुव्र्यवहार नगरेको भन्दै मिलापत्र गराउन दवाव दिदै आएको बताइएको छ । मिलापत्र गर्ने भन्दै वार्ड नं. ४ मा छलफलसमेत भएको छ ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जले अदालतबाट पक्राउ पुर्जी ल्याइसकेको र आरोपित ताजपुरियालाई पक्राउ गर्न खोजी कार्य गरिरहेको जनाएको छ ।
पीडित महिलालाई मिलापत्र गरी उजुरी फिर्ता गराउन विभिन्न व्यक्तिबाट दबाब आइरहेको महिलाको परिवारले बताएका छन् ।