काम गर्ने कि जागिर खाने ?

  प्रकाशित मिति
६ असार २०७५, बुधबार ११:५०


रोजगारीको लागि महत्वपूर्ण गन्तव्य हो जागिर । त्यसमा पनि विद्यालयको प्रमाण पत्र जागिरका लागि मात्रै हो भन्ने सामाजिक अवधारणा बन्ने गरेको छ । जागिरका लागि सबैभन्दा ठुलो रोजगार दिने सङ्गठित निकाय सरकार हो । देशमा उद्योग, व्यपार र सेवाको लागि अनुकूल वातावरण बन्दै र विकास हुँदै जाँदा निजी र सहकारीले पनि धेरैलाई रोजगारी अर्थात जागिर दिएर कर्मचारी बनाउने अवस्था बन्छ । हाम्रो जस्तो समाजमा जागिरको ठुलो आकर्षण छ । अझ सरकारी जागिरको झन् ठूलो आकर्षण छ । दुनियाभरिमा सरकारी कर्मचारी जनताको सेवककारुपमा चिनिन्छन्, नेपालमा पनि ।

तर, व्यवहारमा सरकारी कर्मचारी मालिक जस्ता छन् भन्ने गुनासो असत्य होइन । निजी क्षेत्र र सहकारीमा भएका कर्मचारीको आकर्षण र सुविधा सामान्यतया सरकारी तहको भन्दा कम छ । तर, बढी काम तिनैले गर्छन् ।

देशमा जसरी युवाको आकर्षण रोजगारीका लागि जागिरमा छ, त्यसरी नै जागिरमा सहभागी हुनेहरुको आकर्षण र महत्व रोजगार दाताका लागि कति छ भन्ने कुरा स्वयम् जागिरे भएका कर्मचारीले नै स्थापित गर्नुपर्छ ।

कर्मचारी हुनुको अर्थ

–जिम्मेवार व्यक्ति हुनु हो ।

–काम गर्नेगरी अनुबन्ध हुनु हो ।

–कामको जिम्मेवारी प्राप्त गर्नु हो ।

–प्राप्त जिम्मेवारीलाई पूरा गर्दै जानु हो ।

–रोजगार दाता निकायको अनुशासनलाई पालना गर्नु हो ।

–तोकिएको सेवासुविधा प्राप्त गर्नु हो ।

कर्मचारीका प्रवृत्ति

१ नम्बरले काम गर्छन्

२ नम्बरले जागिर खान्छन् ।

जागिर खानेहरुका प्राथमिकता

–जागिर जोगाउन काम गर्छन् ।

– काममाभन्दा चाकडीमा विश्वास गर्छन् ।

– काम देखाउन काम गर्छन् ।

– कामलाई बोझको रुपमा लिन्छन् ।

– जिम्मेवारी लिन भरसक तर्किन खोज्छन् ।

– हाकिमको अगाडि व्यस्त देखिन मन पराउँछन् ।

– कामको नतिजाप्रति खासै मतलब राख्दैनन् ।

– आपूmले सधैँ अरुकोभन्दा बढ्ता र राम्रो गरेको दाबी गर्छन् ।

– आफ्नो मूल्याङ्कन नभएको गुनासो गर्छन् ।

– आपूmलाई ‘विषेश’ सम्झने गर्छन् ।

– मैले मात्रै राम्रो गरेर के हुन्छ र ? भन्ने मान्यता राख्छन् ।

– आफ्नो कमिकमजोरीमा अरुलाई दोषी देखाउँछन् ।

– अरुको कमजोरी पाए उछित्तो काड्छन् ।

– यस्ता मानिस जे गर्छन् जागिरका लागि गर्छन् ।

– समग्र संस्थाको बारेमा खासै मतलब गर्दैनन् ।

– आफ्नो काम र संस्थाको सफलतामा उतिसारो रमाउन सक्तैनन् ।

– गन्गन् गर्छन् । गनगने हुन्छन् ।

– इमान्दार हुनभन्दा देखिन मन पराउँछन् ।

– असन्तोष, अभाव, तनाव, इस्र्या आदिले यिनलाई छाड्दैन ।

–यिनले कामको नतिजा खासै राम्रो दिन सक्दैनन् । किनकी नतिजाका लागि काम गर्दैनन् ।

– यस्ता कर्मचारी रोजगार दाताको नजरमा खासै महत्वका होइनन् ।

– यस्ता कर्मचारी जागिरलाई पछ्याउँछन् ।

काम गर्नेहरुका प्राथमिकता

– उच्च स्वाभिमानका हुन्छन् । भित्रैदेखि इमान्दार हुन्छन् ।

– आफ्नो जिम्मेवारीमा परेको काम कुशलतापूर्वक सम्पन्न गर्छन् । अधिकतम् प्रयास गर्छन् ।

– काममा रमाउँछन् । काममा मनोरञ्जन गर्छन् ।

– कामको नतिजा हेर्छन् ।

– राम्रो परिणाममा सधैँ रमाउँछन् । खुसी अनुभूति गर्छन् ।

– नराम्रो परिणामबाट शिक्षा लिन्छन् ।

– आफ्नो असफलताका लागि अरुलाई दोष दिने गर्दैनन् ।

– जिम्मेवारी लिन पछि सर्दैनन् । बहाना बनाउँदैनन् ।

– सेवा सुविधाका बारेमा तर्कपूर्ण प्रस्ताव राख्छन् । यसमा दुवै पक्षको हित खोज्छन् ।

– सिक्न प्रयास गर्छन् । कमजोरीबाट सिक्छन् र सच्याउँदै अगाडि बढ्छन् ।

– अरुका कमजोरीमा सुधार्न सुझाव दिन्छन् ।

– जिम्मेवारीलाई अवसरको रुपमा लिन्छन् ।

– कामलाई बोझको रुपमा लिदैनन् ।

– गलत काममा अरुबाट प्रभावित हुँदैनन् ।

– आफ्नो क्षमतामा विश्वास गर्छन् । आत्मविश्वाका धनी हुन्छन् ।

– समयमाभन्दा काममा ध्यान दिन्छन् ।

– कामका लागि समयमै कार्यालय पुग्ने र काम सकेर फर्कने स्वभावका हुन्छन् ।

– काम र राम्रो परिणाममा रमाउने गर्छन् ।

– आफ्नो काममा गौरव गर्ने स्वभावका हुन्छन् ।

– यस्ता मानिस सन्तोषी, सुखी, हाँसीखुसी रहन्छन् । कामको राम्रो परिणाम दिन सक्ने भएकाले रोजगार दातालाई यस्ता मानिसको सधैँ खाँचो हुन्छ ।

– जागिरले यिनलाई सधैँ पछ्याई रहन्छ ।

कामको महत्व

– कामले नै मानिसको महत्व बढाउँछ ।

– कामले नै मानिसको क्षमता बढाउँछ ।

– काम नगर्ने छोराछोरीलाई बाबुआमाले पनि कम महत्व दिन्छन् ।

– कामले परिणाम (राम्रो वा नराम्रो) दिन्छ । परिणामको चर्चा हुन्छ ।

– कामलाई महत्व दिने सोचको विकास हुन जरुरी छ ।

काम कसरी गर्छन् ?

– काम त सबैले गर्छन् ।

– तर महत्व भने काम कसरी गर्छन् भन्नेमा हुन्छ ।

– जिम्मेवारी नपाउन्जेल जिम्मेवारी पाउनु (काम पाउनु) मा महत्व छ ।

– जिम्मेवारी वा काम पाइसकेपछि जिम्मेवारी कसरी पूरा गरिन्छ वा काम कसरी गरिन्छ भन्ने कुरा मात्रै महत्वको हुने गर्छ ।

– सानोसानो काम राम्ररी पूरा नगर्नेले ठूलो काम गर्न सक्छ भन्ने हुँदैन ।

कस्ता कर्मचारी महत्वका हुन्छन् ?

– आँखामा…..स्मार्ट (अरुले हेर्दा फुर्तिला, चुस्त, आकर्षक, सफा, सुन्दर)

– कानमा…… कर्ण प्रिय, मधुर (अरुले सुन्दा मधुर मिठास, आदर सम्मान, प्रष्ट)

– बुद्धिमा….कुसाग्र, तेजिला (समस्या सुन्न र समाधान गर्न सक्ने वा बाटो देखाउने)

– मनमा…….सहयोगी (सहयोग गर्न पाउँदा खुसीको अनुभूति गर्न सक्ने)

– हृदयमा…….इमान्दार (इमान्दारीपन देखाउने विषय होइन देखिनु र अरुले महसुस गर्न सक्नुपर्छ)

– काममा……लगनशील (काममा रमाउन सक्ने)

– जिम्मेवारीमा…..प्रतिवद्ध (काम वा आफ्नो जिम्मेवारीमा समर्पित)

…………….

नाम के राख्ने ?

‘ठूलो भएपछि आफ्नो नाम राख्नुपर्छ’, ‘धेरै पढेर आफ्नो नाम प्रसिद्ध बनाउनुपर्छ’, ‘नाम बदनाम हुने काम कहिल्यै गर्नु हुँदैन ।’

हामी बच्चालाई यसै भन्छौँ । अर्थात उनीहरुलाई बुझाउँछौँ कि, ‘नाम’ भन्ने कुरा सित्तिमिती चिज होइन । चानचुने कुरा होइन । भन्छौँ, ‘तिमी जीवनभर जे गर्छौँ, त्यसले तिम्रो नाम उँचो बनाउनुपर्छ ।’

नाम भनेको उसलाई चिनाउने, इङ्गित गर्ने यस्तो साङ्केतिक कुरा हो, जो उनको पहिचान बन्छ । यसो सोच्दा ‘नाम’ भन्ने कुरा सामान्य लाग्छ । तर, अर्को तरिकाले सोच्दा ‘नाम’ भन्ने कुरा निकै गतिलो लाग्छ । हामी जीवनभर त्यही नाम बोकेर बाँच्छौँ । आफु मरेपनि ‘नाम’ बाँचिरहोस् भन्ने आकांक्षा राख्छौँ । यति मूल्यवान् छ, नाम । त्यही कारण त अहिलेका आमाबुबालाई आफ्ना ‘छोराछोरीको नाम के राख्ने’ भन्ने विषयले निकै सोचमग्न बनाउने गर्छ ।

यो प्रसङ्ग तपाईंलाई अनौठो लाग्न सक्छ, तर अनावश्यक लाग्नेछैन । किनभने जीवनको कुनै चरणमा तपाईंले भोग्नुपर्ने, भोगिसकेको वा भोगिरहेकै कुरा हो यो । सुन्दा सामान्य लाग्छ, तर धेरै अभिभावकले अनुभव गरेको कुरा हो कि बच्चाको नाम छनौट गर्न कति गाह्रो हुन्छ । भन्न त के भनिन्छ भने, नाममा के छ र ?

तर, त्यही नामले आमाबुबाको माथिङ्गल हल्लाइदिन्छ, जब बच्चाको न्वरान गर्ने बेला हुन्छ । न्वरान त हामी परम्परागत संस्कार अनुसार गर्छौँ । पुरोहित वा कुनै धर्मगुरुले बच्चाको जन्म, घडी, पाला, बार, समय आदिको आधारमा नाम राखिदिन्छन् । तर, त्यस्तो नामले आमाबुबाको चित्त बुझ्दैन । आफुले जन्माएको बच्चालाई आफैले कुनै प्रिय नाम दिन चाहन्छन् उनीहरु ।

नाम भनेको बच्चाको पहिचान हो । जीवनभर उसले त्यही नाम बोकेर हिँड्छ । त्यही नामले उनी चिनिन्छन् । हुन त कतिपय पति–पत्नीले बच्चा गर्भमा छँदै हुनेवाला बच्चाको नाम के राख्ने भनेर मोटामोटी सूची तयार गरिसकेका हुन्छन् । अझ कतिपयले त लभ अफेयरमा रहेकै बेला पछि जन्मने बच्चालाई यस्तो नाम दिने भनेर सम्भावित नामहरु खोजिसक्छन् । तर, सबैको हकमा यस्तो हुँदैन । अर्काेतिर पतिले सिफारिस गरेको नाममा पत्नीले चित्त नबुझाउन सक्छिन् । पत्नीले खोजेको नाम पतिले अनुमोदन नगरिदिन सक्छ । त्यसैले बच्चा नाम राख्नु चानचुने वा सोचेजस्तो सजिलो कुरा चाहि होइन ।

हामीसँग हुर्किएका एउटा पुस्ता छन्, जसको नाम राम, श्याम, कृष्ण, हरी छन् । अब नयाँ जन्मने बच्चाका लागि यी नामहरु ‘डेट एक्सपायर’ भए । किनभने तपार्इंको टोल, छिमेकमा यस्ता नामधारी छ्यापछ्याप्ती भेटिन सक्छन् । एउटालाई बोलाउँदा, अर्कोलाई सम्बोधन हुनपुग्छ । त्यसैले आपसमा मिल्ने, जुध्ने नामहरु भन्दा पृथक नाम खोजिदिने गरिएको छ ।

आमाबुबा चाहन्छन् कि, आफ्नो बच्चाको नाम यस्तो होस्, जो उच्चाहरण गर्दा मिठासयुक्त सुनियोस् । लयात्मक लागोस् । अर्थपूर्ण होस् । कतिपय आमाबुबाले आफ्नै नामको पहिलो अक्षर सापटी लिएर बच्चाको नाम जुराउँछन् । कतिले गुगल सर्च गरेर बच्चाको नाम खोज्छन् । कतिले यसका लागि शब्दकोस पल्टाउन थाल्छन् । कतिले चर्चित व्यक्तित्व एवम् सेलिब्रेटीको नाम आफ्नो बच्चाका लागि जुराइदिन्छन् । हुनपनि नाम भनेको बच्चाको पहिचान हो । जीवनभर उसले त्यही नाम बोकेर हिँड्छ । त्यही नामले उनी चिनिन्छन् । त्यही नाम लिएर उसले स्कुल भर्ना हुनेदेखि विभिन्न कामकाज गर्ने गर्छन् ।

आफुले यस धर्तीमा पैदा गरेको बच्चालाई नाम दिने पहिलो दायित्व आमाबुबाको हुन्छ । बच्चालाई यस्तो नाम दिनुपर्छ, जो सुन्दा राम्रो लाग्छ ।

१. यस्तो नाम, जो नाम अर्थपूर्ण होस् ।

२. यस्तो नाम, जो अरुसँग हत्तपत्त नजुध्ने होस् ।

३. यस्तो नाम, जो अनर्थ नलाग्ने होस् ।

४. यस्तो नाम, जो उच्चहरण गर्न सजिलो होस् ।

५. यस्तो नाम, जो छरितो पनि होस् ।

बच्चाको नाम राख्दा परम्परा, सामाजिक नियम, पारिवारिक रीति–रिवाजलाई पनि ध्यान राख्नुपर्छ । अहिले कतिपय आमाबुबाले पौराणिक पात्रको नामबाट बच्चाको नाम राखिदिने गर्छन्, जो आदर्श पात्र थिए । तर, यस्ता कति नामहरु उच्चहरण गर्न सजिलो हुँदैन । कतिपय आमाबुबाले अङ्ग्रेजी वा पश्चिमा संस्कृतिको प्रभावमा त्यही अनुसारको नाम राखिदिन्छन्, जो नेपालीमा उच्चाहरण गर्दा जिब्रो सजिलै चल्दैन ।

नाम राख्दा ख्याल गर्नुपर्ने कुरा के हो भने, बच्चाको नाम सजिलै उच्चाहरण गर्न सकियोस् । लेख्दा पनि सरल होस । पछि बच्चाको आवश्यक कागजात तयार गर्दा होस् वा प्रशासनिक काम गर्दा, सजिलो नाममा त्रुटी हुने वा कुनै पनि किसिमको झन्झट हुने भय हुँदैन । अप्ठ्यारो नामले कतिपय ठाउँमा अप्ठ्यारो नै पार्न सक्छ । बोल्न असजिलो हुने नाम राख्नु हुँदैन । ‘युनिक’ अर्थात पृथक नाम राख्ने चक्करमा बोल्नै गाह्रो हुने नाम राख्नु उपयुक्त हुँदैन ।

बच्चाको नाम कुनै स्थानको नामबाट नराखौँ । कुनै प्रसिद्ध स्थान, शहर, नदीनाला आदिको नामबाट बच्चाको नाम नराखौँ । आफ्ना बच्चाको नाम यस्तो पनि नराखौँ कि, जसको अगाडि वा पछाडिको अक्षर थोरै थपघट गर्दा त्यसको अनर्थ नलागोस् । अर्थात हास्यास्पद नाम नहोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: