कारगीलमा ज्यान गुमाएका नेपालीको नाममा गुरुकुल

  प्रकाशित मिति
१७ माघ २०७६, शुक्रबार १२:४२



मेचीनगर । मेचीनगर नगरपालिका–१ भोर्लेनीमा भारतको कारगील युद्धमा ज्यान गुमाएका दुई नेपाली शहीदको स्मृतिमा गुरुकुल सञ्चालन गरिएको छ ।

युद्धमा ज्यान गुमाएका सोही स्थानका सुरेशकुमार क्षेत्री (थापा) र उहाँकै दाजु महेश क्षेत्री (थापा) को स्मृतिमा रु. १ करोड १० लाखको लागतमा श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुगुल सञ्चालन गरिएको हो ।

उहाँहरु दुवैले सन् १९९९ जुलाई ७ तारिखका दिन कारगील युद्घमा शाहदत प्राप्त गर्नुभएको थियो । उहाँहरुकै स्मृतिमा थापा परिवारले स्थानीय सुभद्रा राईले निःशुल्क दिएको रु. ४८ लाख मूल्य बराबरको १६ कठ्ठा जमिनमा गुरुकुल सञ्चालनमा ल्याइएको सहिद परिवारका सदस्य रामहरि थापाले बताए ।

श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र मल्लले गुरुकुलमा योग शिक्षा, वेद, गीता, कर्मकाण्ड पढाई हुने बताउँदै यसलाई भविष्यमा शहीद स्मारक जडीवुटी उद्यान बनाउने बताए ।

उनले भने, ‘गुरुकुलमा विना भेदभाव, सवै जात जाति, वर्ग समुदायका बटुकलाई भर्ना लिई शिक्षा दिएर नेपालकै उदारहणीय बनाउँछौ ।’ उनले स्थानीय प्रेमलाल न्यौपानेले समेत गुरुकुलका लागि थप १ विगाह जग्गा निःशुल्क प्रदान गरेको बताए ।

गुरुकुलको उद्घाटन मेचीनगरका नगरप्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीले संयुक्त रुपमा श्री पञ्चमीको अवसर पारेर विहीबार गरेका थिए । उनीहरु दुवैले गुरुकुलको संरक्षण तथा सम्बद्र्धन गर्नु नगरको दायित्व भएको बताउँदै कुनै अभाव र समस्या आउन नदिने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: