विर्तामोड । चार महिनादेखि झापा जिल्ला कारागारमा थुनामा रहेकी एक युवतीले बच्चा जन्माएकी छिन् ।
सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी सुनिता (नाम परिवर्तन)ले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिएका छन् ।
आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र विहीवार अस्पतालबाट दुबैलाई कारागारमा ल्याइएको कारागार प्रमुख निरौलाले बताए ।
२० वर्षीया अविवाहित सुनिता ४ महिना अघि गर्भवती अवस्थामै कारागारमा थुना परेकी थिइन् ।
इलाका प्रहरी कार्यालयले गत चैतमा विर्तामोडको मेची होटलबाट उनलाई पक्राउ गरेर सार्वजनिक मुद्दा दर्ता गरेको थियो ।
झापा जिल्ला प्रशासन कार्यालयले उनलाई ५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेर उनी गत चैत १५ गते कारागारमा थुना परेकी हुन् ।
उनले प्रहरी हिरासतमा थुनिएको ४ दिनमा वान्ता आएपछि आफु दुई जिउकी भएको थाहा पाएको वताइन् ।
‘त्यसपछि मात्र थाहा भयो, म आमा बन्ने भएकी रहेछु’, उनले भनिन्–‘तर मसँग अरु कुनै विकल्प थिएन ।’
दुई वर्ष अघि झापाको सीमान्त गाउँवाट कामको खोजीमा विर्तामोड आएकी उनलाई इलाका प्रहरी कार्यालय विर्तामोडले मेची होटलबाट पक्राउ गरेको थियो । पक्राउ परेकी उनलाई छुटाउन कोही पनि नगएको उनको भनाइ छ ।
उनले विगतमा आफुले गल्ती गरेको र अब सुध्रिन चाहेको बताइन् । उनले कारागारबाट मुक्त गरिदिन आग्रह गरेकी छन् ।
घरमा एकमात्र वृद्ध आमा रहेको र त्यसबेला गर्जो टार्नकै लागि आफु विर्तामोडको होटलमा कामदारको रुपमा पुगेको कारण अहिले यस्तो अवस्था भोग्नु परेको उनले बताइन् ।
(यो समाचारको भिडियो आमा अनलाइन टेलिभिजन धधध।ाबअभदययप।अयmरबबmबतखज्ञमा पनि हेर्न सक्नु हुने छ ।)