भद्रपुर । झापा कारागारमा एकै दिन दुई कैदीको मृत्यु भएको छ । मृतक दुवै जबरजस्ती करणी मुद्दामा जेलमा परेका थिए ।
मृत्यु हुने कैदीबन्दीद्वय भद्रपुर–६ बस्ने ५० वर्षीय अनुरञ्जन घोष र कचनकवल गाउँपालिका–७ बस्ने ३२ वर्षीय किशनलाल राजवंशी रहेको झापा कारागारका जेलर राजेन्द्र निरौलाले बताए ।
उनले फोक्सोमा पानी जमेर मेची अञ्चल अस्पताल भद्रपुरको आईसियुमा उपचाररत घोषको मङ्गलबार दिउँसो मृत्यु भएको बताए ।
अदालतले जबरजस्ती करणी मुद्दामा १३ वर्ष सजाय तोकेका घोष २०७१ मङसीर २२ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
त्यस्तै मिर्गौलाका बिरामी रहेका राजवंशी मङ्गलबार बिहान कारागार भित्रै बेहोस भएर लडेका थिए ।
उनलाई तत्काल उपचारका लागि मेची अस्पताल पुर्याएलगत्तैउनको मृत्यु भएको जेलर निरौलाले बताए ।
उनलाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष सजाय तोकेको थियो ।
उनी २०७६ असोज ७ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए । दुवैको शव परिवारलाई जिम्मा लगाइसकिएको निरौलाले जानकारी दिए ।