कार्की, दूध र समाजवाद

  प्रकाशित मिति
२६ भाद्र २०७५, मंगलवार १५:०१


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा प्रतिनिधि सभाका सदस्य माननीय सुरेन्द्रकुमार कार्कीले अघिल्लो वर्ष निर्वाचन प्रचारप्रसारका क्रममा मतदातासमक्ष समाजवादको निकै चर्चा गरेका थिए । कार्की यसै पनि वैचारिक राजनीतिक सन्दर्भ एवम् कम्युनिस्ट कार्यक्रम र लक्ष्यबारे विषयवस्तु प्रस्तुत गर्न माहिर छन् ।

चुनावताका समाजवाद स्थापना गर्न बृहत कम्युनिस्ट एकता आवश्यक हुने ठहर गरी वाम गठबन्धन निर्माण गरिएको परिवेश थियो । स्वभावैले त्यसबेला अन्य भाषण र सस्ता आश्वासनभन्दा उनले समाजवादका विशेषताबारे धेरै बोले । उनले विभिन्न देशमा अभ्यास गरिएका समाजवादका अर्थराजनीतिक पाटापक्ष केलाउनुका साथै त्यहाँ आफूले भ्रमण गर्दाका अनुभूति समेत जनसमुदायलाई सुनाउन बाँकी राखेनन् । यी मध्ये क्युबाको समाजवादका विशेषता उनी बारम्बार दोहो¥याउँथे ।

 

क्युबाले समाजवादको अभ्यास गरेको छ दशक भइसकेको छ । समाजवादी मुलुक क्युबा पुगेपछि विदेशीले अक्सर सोध्ने प्रश्न हुन्थ्यो, किन क्युबामा राम्रो ब्रान्डको महँगो रक्सी र अत्तर पाइँदैन ? फिडेल क्यास्ट्रो भन्थे, त्यो सही हो तर क्युबामा त्यस्तो कुनै घर पाइँदैन, जहाँ दूध नपुगेको होस् । यसको अर्थ सबै जनताले दूध खान पाउँछन् । यसको व्यवस्था राज्यले नै गरेको हो । साथै त्यहाँ रक्सी र विलासी सामान असाध्य महँगो छ । त्यसमाथि वैभवशालीहरुको मात्र आर्थिक पहुँच पुग्छ । २०७३ सालको अन्त्यतिर कार्कीले क्युबाको भ्रमण गरेका थिए । यही सन्दर्भमा २०७४ सालको चुनाव प्रचारमा उनले नेपालको समाजवादमा जनताले दूध खान पाउँछन् र रक्सी छाड्छन् भनेका हुन् ।

समाजवादको झल्को दिन दूध वितरण गर्ने कार्यक्रम
कार्कीले ल्याए पनि यसबाट दूधको महत्व समेत
उजागर भएको छ । दूध अनिवार्य पिउनुपर्छ भन्ने सन्देश
गएको छ ।

समाजवादका प्रखर ज्ञाता नेता कार्कीले उक्त चुनाव जिते । यसपछि जनताको एउटा प्रश्नले उनलाई लखेट्न थाल्यो, दूध कहिलेदेखि खान पाइन्छ ? जनता निर्वाचित जनप्रतिनिधि अथवा सरकारबाट दूध पाउने आशा व्यक्त गर्न थाले । यो विषय पार्टी बैठक र सार्वजनिक स्थलमा पनि उठ्यो । यसको जवाफमा कार्की भन्थे, सबै जनताले दूध खान पाउने अवस्था समाजवाद आएपछि पो भनेको त । हो, उसबेला उनले समाजवादकै कुरा गरेका थिए तर मतदाताले चुनाव जितेपछि गर्ने काम भन्ने बुझेछन् । कार्की फसादमा परे, दूध दिने व्यवस्था गरूँ भने वर्तमान राज्यले यो काम पक्कै गर्दैन । नदिऊँ भने झुटा आश्वासन जस्तो हुने भो । आखिर कार्कीको भनाइ र जनताको बुझाइ बीचको अन्तर कुराले होइन, कामले मेट्न जरुरी भयो ।

त्यसैले, कार्कीको मनमा कुनै न कुनै रुपमा दूध वितरण गर्नैपर्छ भन्ने लाग्यो । एउटा सुरुवात होस्, जसले समाजवादको सङ्केत मात्र होइन, वैचारिक तथा राजनीतिक हमला गरोस् । संविधानमै समाजवादउन्मुख राज्य उल्लेख भइसकेको, समाजवाद स्थापनाकै लागि कम्युनिस्ट शक्ति मूल रुपमा एक ठाउँमा आइसकेको र दुई तिहाइको सरकारले काम गरिरहेको अवस्थामा समाजवादको यात्रा एक पाइलाबाट भए पनि अघि बढाउन कार्की चाहन्थे ।

यसबीचमा मेचीनगरमा ऋतिका डेरी उद्योग सञ्चालन गर्दै आएका समाजसेवी व्यक्ति घनश्याम चिमरिया र उनको परिवारले एक वर्षका लागि केही परिमाणमा दैनिक दूध उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उक्त दूध अहिले प्रत्येक दिन कार्कीले प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पर्ने झापाको मेचीनगरस्थित सरस्वती बालकल्याण माध्यमिक विद्यालय, सहरेडाँगीका बालकक्षाका ६८ जना विद्यार्थीलाई वितरण भइरहेको छ ।

भदौ २२, २०७५ मा सहरेडाँगी विद्यालयमा दूध वितरण सुभारम्भ कार्यक्रममा बोल्दै कार्कीले भने, मेरो सोच र चिन्तनमा समाजवाद थियो । त्यसैले भविष्यका कर्णधार ससाना बालबालिकाको शारीरिक र मानसिक विकासमा उपयोगी दूध पिलाउन थालेको हुँ । यसको अर्थ समाजवादमा जनताको स्वास्थ्य राज्यले जिम्मा लिन्छ भन्न खोजेको हुँ । समाजवाद कहाँबाट आउँछ भन्ने अलमल हटाउन समेत यो कार्यक्रम महत्वपूर्ण साबित हुनेछ । व्यक्तिको सोच र तलैबाट यसरी आउँछ समाजवाद, जसले सरकारलाई झक्झक्याउँछ, चिमोटिरहन्छ । व्यक्तिले चाहँदा त यस किसिमको थालनी गर्न सकिन्छ भने समाजवादको यात्रा अघि बढाउनका लागि सरकार के गर्छ भन्ने प्रश्न म तपाईं जनसमुदायलाई सँगै राखेर गर्न चाहन्छु ।

समाजवादको झल्को दिन दूध वितरण गर्ने कार्यक्रम कार्कीले ल्याए पनि यसबाट दूधको महत्व समेत उजागर भएको छ । दूध अनिवार्य पिउनुपर्छ भन्ने सन्देश गएको छ । तसर्थ यो कार्यक्रमको क्रमशः अनुसरण हुने निश्चित छ । आगामी दिनमा व्यक्तिगत, संस्थागत वा विभिन्न तरिकाले सानो वा ठूलो आयतनमा दूध वितरण देशैभर सुरु हुन्छ । त्यसले सरकारी तहबाट पनि दूध वितरण सुरु गर्न मद्दत पु¥याउँछ । स्थानीय तहबाटै यसको सुरुवात सजिलो हुन्छ । आर्थिक स्रोत जुटाउन रक्सी पसलमा व्यवसाय कर बढाउन सकिन्छ, जसबाट रक्सी दुरुत्साहित र दूध प्रोत्साहित सँगसँगै हुन्छ ।

दूधको बनावटमा ३.३ प्रतिशत प्रोटिन, ४.९ प्रतिशत कार्बोहाइड्रेट, ३.४ प्रतिशत चिल्लो पदार्थ, खनिज ०.७ प्रतिशत र ८७.७ प्रतिशत पानी तथा भिटामिन हुन्छ, जुन स्वास्थ्यका लागि अति अपरिहार्य छ । त्यसैले समृद्धिका लागि स्वस्थ नागरिक अपरिहार्य भएकाले सबैलाई दूध उपलब्ध गराउनु राज्यको जिम्मेवारी हुन्छ । यसबाट स्वास्थ्य उपचारमा राज्यले लगाउने पैसा क्रमशः घटाउँदै बचत गर्ने र विकासमा लगाउने स्थिति पैदा हुन्छ ।

पौराणिक कथा महाभारतमा दूधको एउटा महत्वपूर्ण प्रसङ्ग पाइन्छ । अझ महाभारतको रणसङ्ग्रामको एउटा कारण दूध नै हो भन्दा पनि अतिशयोक्ति नहोला । द्रुपद र द्रोणचार्यको मित्रता कृष्ण र सुदामाको भन्दा ठिक उल्टो थियो । उनीहरुमा धनी र गरिब बीचको भेद देखिन्थ्यो । खासगरी द्रुपदमा धनको घमण्ड थियो । पछि उनीहरुका छोराहरुले दूधलाई प्रतिष्ठाको विषय बनाएका छन् । द्रोणचार्यले द्रुपद र उनका छोराको सेखी झार्न अघि बढ्दै जाँदा महाभारतको रचना भएको छ । नेपालमा समाजवादका लागि ‘महाभारत’ छिचोल्नुपर्ने निश्चित छ । सहरेडाँगी अभियानसँगै दूधबाट बहस सुरु हुने नयाँ महाभारत नहोला भन्न सकिन्न ।

बेलायतको आधुनिक इतिहासमा पनि दूधको कथा जोडिएको छ । तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचर (सन् १९७९–१९९०) समाजवादी दृष्टिकोणबाट अत्यन्तै आलोचित छिन् । कारण, विद्यालयका बालबालिकालाई राज्यले वितरण गर्दै आएको दूध उनले बन्द गरिन् । उनले समाजवादलाई समस्या चित्रण गर्दै यसमा मानिस क्रमशः अरुको पैसामा चल्नुपर्छ भनिन् । यद्यपि पुँजीवादको विकासका लागि महत्वपूर्ण भूमिका खेलेकी हुनाले थ्याचरले ‘आइरन लेडी’ को उपमा पाएकी छिन् । सन् २०११ मा ‘आइरन लेडी नामक फिल्म समेत बनाइयो । त्यसको उल्टो हाम्रो देशमा भने सानो स्केलमा नै किन नहोस्, दूध वितरणको व्यवस्था मिलाउने काम कार्कीले गरे । त्यसो भए नेपालमा समाजवाद स्थापनाका लागि उनी ‘आइरन म्यान’ कहलाउन सक्लान् ?

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: