झापा, १३ कार्तिक । पर्साका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्या आरोपमा नेकपाकै पूर्वसांसदसहित १२ जनाविरुद्ध आज ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता भएको छ ।
मृतकको परिवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएको थियो ।
पहिले जाहेरी लिन नमानेको प्रहरीले आज जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा जाहेरी दर्ता गरेको हो ।
पीडित परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएको पर्साका डीएसपी मनोजित कुँवरले जानकारी दिए ।
किटानी जाहेरी परेकामध्ये ३ जना हिरासतमा छन् भने अरुलाई प्रहरीले पक्राउ गरेको छैन ।
यसअघि जाहेरी लिन अस्वीकार गरेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरुले पर्सामा प्रहरी कार्यालयबाहिर प्रदर्शन र नाराबाजी गरेका थिए ।
प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका परिवारले एकसातादेखि चौरसियाको शव समेत बुझेका थिएनन् ।
प्रहरीले जाहेरी लिएसँगै मृतकका आफन्तले चौरसियाको शव बुझ्ने तयारी भइरहेको र पोष्टमार्टमपछि शुक्रबार अन्त्येष्टि गरिने नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले जानकारी दिए ।
चौरसियाको शवलाई अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।
नेकपाको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा कार्तिक ६ गते दुई पक्षबीच झडप हुँदा चौरसिया गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो ।
स्रोत : अनलाइन खबर