कालापानीमा गस्ती सुरु, एसएसबीसँग भयो भेट

  प्रकाशित मिति
१ जेष्ठ २०७७, बिहीबार १९:१२


यो महाकाली नदी हो । वारितिर सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ भने पारितिरको टहरो भारतीय सुरक्षाफौज एसएसबीको पोस्ट हो ।
महाकाली नदी पारि पुगेको सशस्त्र प्रहरीको टोलीमा रहेका गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईको फोटो खिच्दै भारतीय एसएसबीका प्रतिनिधि । उनीहरुबीच कुराकानी भएको थियो ।
सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि हतियार र बन्दोबस्तीका सामान नेपाली सेनाको हेलिकोप्टरबाट ओसारिदै ।
सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि हतियार र बन्दोबस्तीका सामान नेपाली सेनाको हेलिकोप्टरबाट ओसारिदै ।
सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि हतियार र बन्दोबस्तीका सामान ओसारिदै ।

मेचीनगर, १ जेठ । नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङरु (गागा)मा बुधबार स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (वीओपी)ले महाकाली नदी सीमाना वरपर गस्ती सुरु गरेको छ ।

बिहीबार प्रहरी टोली महाकारी नदी किनारा र सीमा क्षेत्र वरिपरि गस्ती गरेको तस्वीर सरकारी समाचार एजेन्सी राससले सार्वजनिक गरेको छ ।

बिहीबारै सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुल)मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईसँग भारतीय एसएसबीका प्रतिनिधिले कुराकानी गरेका छन् । कुराकानीका क्रममा छाङ्रुस्थित सुरक्षा निगरानी पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द पनि सहभागी रहेका थिए ।

चौकी स्थापना भएको भोलिपल्ट सशस्त्र प्रहरीका जवानहरु आवश्यक हतियार र बन्दोबस्तीका सामान व्यवस्थापनमा व्यस्त रहे । आवश्यक हतियार र सामान नेपाली सेनाको हेलिकप्टरले केही माथि झारेको थियो ।

भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी तिब्बतको मानसरोवर जाने सडक बनाउन थालेपछि सरकारले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको स्थापना गरेको हो ।

सो स्थानमा हाल २५ जना सुरक्षाकर्मी छन् भने छिटै संख्या बढाएर १५० पुर्याइने बताइएको छ ।

बडु भन्छन्-”बल्ल राज्य व्युँझियो”

दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद दिलेन्द्र बडूले सरकार ढिलै भए पनि सीमा सुरक्षाका लागि बिउँझिएको बताए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसद्वारा गठित छाया सरकारका गृहमन्त्री समेत रहेका बडूले भने, ‘त्यो ठाउँका जनताले अब राज्य अलि विउँझिएको होकि भन्ने ढंगले बुझेका छन् । राज्यलाई सीमा सुरक्षाको आवश्यकता ढिलै भए पनि महसुस हुनु सन्तोष कै कुरा हो । त्यहाँ बिओपीको स्थापनाले सीमा सुरक्षामा नेपालले गम्भीर बनेको भारतले पनि देख्छ । जनता पनि खुसी भएका छन् ।’

अहिले बिओपी स्थापना गरेको ठाउँबाट सीमा सुरक्षाको स्थायी प्रबन्ध भने नगुग्ने उनको बुझाइ छ । ‘यो प्र्रयाप्त हुँदैन । हाम्रो जति नजिक उपस्थिति भयो त्यतिनै भारतीयको गतिविधि नियन्त्रित हुन्छ । भारतको गतिविधि नियन्त्रण र सीमाको निरन्तर निगरानीका हिसाबले बिओपीको संख्या थप्नुपर्छ,’ सांसद बडूले भने ।

उनका अनुसार बिओपी स्थापना भएको ठाउँमा यसअघि अस्थायी रुपमा जनपथ प्रहरीको उपस्थिति छँदै थियो । बडूले भने, ‘ब्यासीबासी जाडो लाग्दा बेसी झर्छन्, गर्मी लाग्दा त्यहाँ जान्छन् । जनपथ प्रहरी पनि सँगसँगै आउने र जाने गथ्र्यो । त्यो स्थायी थिएन । बिओपी स्थापनापछि अब स्थायी सुरक्षाको प्र्रबन्ध हुने भएको छ ।’ तर उनलाई बिओपी स्थापना गरिएको ठाउँ उपयुक्त लागेको छैन ।

बडूले भने, ‘बिओपी राख्नुपर्ने ठाउँ कौवा हो । जहाँबाट कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको हाम्रो अहिले अतिक्रमित भएको क्षेत्र नजिक थियो । त्यसैले निगरानी र सुरक्षाका दृष्टिकोणले बिओपी बस्नुपर्ने कौवा क्षेत्र नै हो । अहिले छारुङ क्षेत्रमा बिओपी स्थापना भएको हो ।’

छारुङसँगै कौवा र त्यसको दायाँतिर रहेको तिङ्करमा पनि बिओपी राख्नुपर्नेमा उनको जोड छ । ‘अहिले बिओपी राखेको ठाउँ गाउँको नजिक छ । त्यहाँबाट कालापानी १२ किलोमिटर टाढा छ भने लिम्पियाधुरा कति टाढा रह्यो रह्यो,’ बडूले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरामा के गतिविधि भइरहेको छ भनेर हेर्नका लागि कौवामा पुग्नुपर्छ । तिङ्कर, कौवा र छारुङलाई सुरक्षा निगरानीभित्र राख्नुपर्छ ।’

उनका अनुसार त्यसका लागि बिओपीको संख्या र बिओपीमा रहने सुरक्षाकर्मीको संख्या बढाउनुपर्छ ।बडूले भने, ‘जसरी भारतमा बाह्रै महिना बस्छन् । हाम्रोमा पनि बाह्रै महिना बस्ने गरी त्यहाँको भौगोलिक अवस्था अनुसारको भौतिक संरचना बनाउनै पर्छ । बाटो नहुँदासम्म हेलिकप्टरबाट भए पनि सुरक्षाकर्मीलाई समस्यामा पर्दा ल्याउने सबै व्यवस्था मिलाउनुपर्छ । भारतले पनि पहिला यस्तै गरेको थियो । अहिले मात्र सडक पुगेको हो ।’ यस्तै उनका अनुसार दार्चुला– तिङ्कर मोटरबाटो पहिलेदेखि निर्माणाधीन छ ।

तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: