मेचीनगर, १९ असोज । नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलन गर्न सरकारले गठन गरेको विज्ञ समूहले आइतवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाललीलाई प्रतिवेदन बुझाएको उक्त समूहका संयोजकले बताएका छन् ।
उनले समूहले विभिन्न आधारहरुलाई टेकेर प्रमाण संकलन गरी प्रतिवेदनमा समेटेको बताएका हुन् ।
सरकारलाई बुझाइसकेको उक्त प्रतिवेदनभित्र ‘के–के कुरा समावेश छन् भन्ने विस्तृत विवरण भने सरकारले नै सार्वजनिक गर्ने’ उनको भनाइ छ । कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपाल र भारतबीच पछिल्लो विवाद उत्पन्न भएपछि सरकारले गत जेठमा उक्त समूह गठन गरेको थियो ।
‘नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलन कार्यका लागि विज्ञ समूह’को संयोजकमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेती थिए । त्यस्तै विभिन्न क्षेत्रका विज्ञका रुपमा विपिन अधिकारी, सूर्यप्रसाद सुवेदी, तोयानाथ बराल, जगत भुसाल, हिमालय थापा र अप्सरा चापागाईँ सदस्य थिए ।
परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीलाई समूहको सदस्यसचिव तोकिएको थियो । नेपाल–भारत सीमा यकिन गर्नका लागि समूहले विभिन्न प्रमाणहरु प्रतिवेदनमा पेस गरेको संयोजक उप्रेतीले बताए ।
यस्ता छनः पाँचखाले प्रमाण
१. नदीसँग सम्बन्धित
समूहले सीमाङ्कनका लागि नदीसँग सम्बन्धित कुरालाई पहिलो प्रमाणका रुपमा प्रतिवेदनमा पेस गरेको छ ।
त्यसमा नदीको मुहान, नदीको धार र नदीको बहाव आदि कुराहरु समेटिएको उप्रेतीले बताए । उनले नदीको मुहान किटान गर्न सक्नेगरी विभिन्न स्रोतबाट प्रमाणहरु जुटाएर प्रतिवेदनमा राखिएको जानकारी दिए ।
२. नाप–नक्सा सम्बन्धी
प्रतिवेदनमा नाप र नक्सा सम्बन्धी अर्को प्रमाण पि भएको उप्रेतीको भनाइ छ ।
उनका अनुसार नेपालसँग विभिन्न कालखण्डका नाप–नक्साहरु रहेको र तीनलाई प्रतिवेदनमा प्रमाणका रुपमा पेस गरिएको छ ।
३. ऐतिहासिक दस्तावेज
समूहले प्रमाणका रुपमा प्रतिवेदनमा ऐतिहासिक दस्तावेजहरुलाई पनि समावेश गरेको छ । त्यस्ता दस्तावेजमा पहिलेका चिठीपत्रदेखि लिखतहरु र सन्धि तथा सम्झौताहरु छन् । तर उप्रेतीले त्यस्ता ऐतिहासिक दस्तावेजमा के–के समावेश छन् भन्ने चाहिँ खुलाएनन् ।
४. कानुनसँग सम्बन्धित
उप्रेतीका अनुसार समूहले अर्को प्रकारका प्रमणहरुका रुपमा कानुनसँग सम्बन्धित कुराहरु पेस गरेको छ ।
त्यस्ता कानुनी प्रमाणहरुमा नेपाल र भारतबीच विवादित कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रका बासिन्दाले तिरो तिरेका कागजपत्रसहित विभिन्न प्रमाणहरु रहेको बताइएको छ ।
५. प्राकृतिक स्रोत सम्बन्धी प्रमाण
प्राकृतिक स्रोतसँग सम्बन्धित प्रमाण पनि जुटाइएको उप्रेतीको भनाइ छ । त्यसमा वन जंगलको क्षेत्र र तिनले चर्चेको भूगोलबारे प्राप्त कतिपय प्रमाणहरु समेटिएका छन् । त्यस क्षेत्रमा रहेका प्राकृतिक स्रोतहरुको उपभोगबारे पहिले भएका कतिपय निर्णयहरु पनि त्यसमा समावेश छन् ।
(बीबीसी)