भद्रपुर, २१ वैशाख । दैनिक उपभोग्य वस्तुमा कालोबजारी गर्ने पसलहरु कारवाहीमा पर्न थालेका छन् ।
जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले एक हप्ता भित्रमा अनुगमन गरी मूल्य बृद्धि गर्ने, कारोवार स्थलमा खाता नराख्ने, नौपतौलमा गठी गर्ने, विल विजक जारी नगर्ने पसलहरुलाई रु. १ लाख ७० हजार बढी जरिवाना गरेको छ ।
समितिले आइतबार मात्र केचना कवल गाउँपालिकाका चारवटा पसललाई रु. ७० हजार जरिवाना गरेको छ । जरिवाना गरिएका पसलहरुमा केचनाकवल– ५ को गणेश राइस मिलको नाममा दर्ता गरिएको जयनारायण गणेशले सञ्चालन गरेको किराना र मदिरा पसललाई रु. १५ हजार, लालबाबु किराना पसललाई रु २० हजार, प्रदीप किराना पसलाई रु. २० हजार र सुरज किराना पसललाई रु. पाँच हजार गरी रु. ७० हजार जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।
समितिले पूजा स्टोर्सका सञ्चालक रामकुमार गणेश र भद्रपुर –६ का शुसील यादवलाई यही बैशाख २५ गते जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन आदेश दिएको छ । उनीहरुलाई अनावश्यक मूल्य वृद्धि गरी सामान विक्री वितरण गरेको आरोपमा कार्यालयमा हाजिर हुन आदेश दिइएको हो ।
समितिले दैनिक जिल्लाका विभिन्न स्थानमा तीबै रुपमा अनुगमन गरिरहेको छ । लकडाउनको मौका छोपी कालोबजारी गर्ने जो कोहीलाई पनि छुट नदिने सहायक प्रजिअको भनाई छ ।
समितिले यस अघि भद्रपुर नगरपालिका र गौरादह नगरपालिकाका पसलहरुमा अनुगमन गरी अनाधिकृत रुपमा पसल सञ्चालन गरी सामान विक्री गर्नेहरुलाई कारवाही गरेको थियो ।