किनेर पाइने निरोगिता

  प्रकाशित मिति
१ श्रावण २०७३, शनिबार १२:२७


gyanendra g

मलाई अचम्म लाग्यो । न मलाई कुनै चिकित्सकले छोयो, न कुनै चेकजाँच नै गरियो, न मैले कुनै चिकित्सकलाई नै त्यहाँ देखेँ । तर, आफू पूर्णत निरोगी भएको प्रमाणपत्र मेरो हातमा थियो । त्यही प्रमाणपत्रको आधारमा मेरो मोटरसाइकलको लाइसेन्स नवीकरण पनि भयो । मोटरसाइकल चालक अनुमतिपत्र अर्थात् लाइसेन्सको पाँच वर्षे अवधि सकिएपछि गत असार २८ गते नवीकरणका लागि झापा विर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेचीमा पुगियो ।

कार्यालय पुग्नासाथ त्यस वरिपरिको वातावरणले अलिक सकस बनायो । कार्यालयको भवनसँगै टाँसिएर खुलेका पसलहरुमा एकदुई मात्र चिया नास्ताका पसल थिए । बाँकी सबै यातायात कार्यालयमा हुने कामको सहयोगी कार्यालय जस्तै रहेछन् । विभिन्न विमा कम्पनीका सम्पर्क कार्यालयहरु, लाइसेन्स लगायतका कामका लागि यातायात कार्यालयमा पाइने आवेदन फारमदेखि अन्य थुप्रै कुरा बाहिरका पसलमा नै किन्नु पर्ने अवस्था रहेछ त्यहाँ । सेवाग्राहीको सजिलोको लागि यी सब सहयोगीहरु बस्नु भएको होला भन्ने लाग्यो । कार्यालयभित्र पसेर मोटरसाइकलको लाइसेन्स नवीकरण गर्न फारम माग गरेको त एकजना व्यक्तिले मतिर हेरेर भने– तपाईंलाई यहाँको सिस्टम थाहा छैन कि क्या हो । सबै कुरा बाहिर नै गरिदिन्छन् पैसा मात्रै तिर्नुपर्छ ।

त्यति भनेपछि अलि अप्ठ्यारो त महसुस भयो । तर, त्यहाँको सिस्टम पनि हेरौंँ नत भनेर कार्यालयको भवनको दक्षिणपट्टिको भवनमा रहेको एउटा पसलमा पुगियो । पसलमा बसेका व्यक्तिले सोधे– के काम लिएर आउनु भा’को हो ? मैले भने– मोटरसाइकलको लाइन्सेस नवीकरण गर्नुछ । त्यति भनेपछि उनले मलाई दुईवटा फारम दिँदै भने– यो एउटा आफै भर्नुहोस् अनि अर्को चाँहि (अलि परको एउटा पसलमा देखाउँदै ) उ त्यहाँ जानुहोस्, त्यहाँ सबै भरिदिन्छन् । दुईवटा फारम मध्ये एउटा लाइसेन्स नवीकरणको आवेदन फारम रहेछ र अर्को चाहिँ निरोगिताको फारम रहेछ । जुन फारमका आधारमा लाइसेन्स लिने मानिसको चिकित्सकले सबै स्वास्थ्य जाँच गरेर प्रमाणित गर्नुपर्ने रहेछ । आवेदन फारम भरिसकेर निरोगिताको जाँचका लागि तिनै पसले दाईले देखाएको अर्को पसलतिर लागेंँ । सोच्दै थिएँ त्यो पसलमा डाक्टर सा’व बस्नु हुँदोरहेछ अनि सबै चेकजाँच गरेर उनले यो फारम प्रमाणित गर्छन् होला भनेर ।

क्लिनिक सम्झेर पुगेको पसलको मुख्य ढोकामा राखिएको एउटा बोर्डमा लेखेको शब्दले नै मेरो ध्यान तान्यो । त्यहाँ लेखिएको थियो– निरोगिताको प्रमाणपत्र यहाँ बनाइन्छ । मलाई लागेको थियो, त्यहाँ चिकित्सकले जाँच गर्छन् त्यसो हुँदा त्यहाँ त यहाँ स्वास्थ्य जाँच गरिन्छ लेख्नु पर्ने भन्ने मेरो अनुमान सुरुमा नै फेल खायो । साइनबोर्ड यसो पढ्दै मात्रै के थिएँ त्यो पसलमा बसेकी अथवा भनौँ निरोगिताको प्रमाणपत्र बनाउन बसेकी दुई वटी किशोरी मध्ये एउटीले सोधिन्– के निरोगिता लिने हो ? मैले भनेँ, लिने हो । यहाँ चेकजाँच हुन्छ ? ती बहिनी मुसुक्क हाँसेर भनिन्– खोई त्यो फारम दिनु । अनि मैले फारम दिएँ । त्यसपछि पसलको भित्रपट्टि बसेका एकजनाले मेरो खाली फारम राखेर त्यसअघि नै तयार गरेर राखिएको एकजना चिकित्सकले म पूर्णरुपमा स्वस्थ्य भएको प्रमाणित गरेको फारम दिइन् । अनि ती बहिनीले एकसय पचास रुपैयाँ दिनु भनेर मागिन् र मैले उक्त रकम दिए लगत्तै उनले मेरो हातमा निरोगिताको प्रमाणपत्र राखिदिइन् । मलाई अचम्म लाग्यो । न मलाई कुनै चिकित्सकले छोयो, न कुनै चेकजाँच नै गरियो, न मैले कुनै चिकित्सकलाई नै त्यहाँ देखेँ । तर, आफू पूर्णत निरोगी भएको प्रमाणपत्र मेरो हातमा थियो । त्यही प्रमाणपत्रको आधारमा मेरो मोटरसाइकलको लाइसेन्स नवीकरण पनि भयो ।

हातमा लाइसेन्स त आयो तर लाग्यो के यसरी नै हो त निरोगी भएको प्रमाण लिने ? त्यतिबेला सम्झेँ केही समय अगाडि सञ्चारमाध्यममा आएको एउटा समाचार एकैदिनमा एउटा चिकित्सकले ८ हजारलाई निरोगिताको प्रमाणपत्र दिए । तरिका यस्तो रहेछ अनि किन नदिउँन् त ८ हजारलाई निरोगिताको प्रमाणपत्र भन्ने लाग्यो । पैसामा निरोगिताको प्रमाणपत्र बेच्ने ती बहिनी मात्र दोषी हुन् त पक्कै होइनन् । ती नदेखेका चिकित्सक जसको हस्ताक्षर भएको निरोगिताको प्रमाण पेस गरेर मैले लाइसेन्स नवीकरण गरेंँ, के तिनको दोष छैन र ? अनि ती चिकित्सक जसले आफ्नो हस्ताक्षर खुलेआम लिलाम गरिरहेका छन्, तिनलाई सहज वातावरण बनाउने हाम्रो राज्यको नियम कानून चाहिँ दोषी छैन त ? पक्कै छ ।

अझ भनाँैं यस्तो विकृतिजन्य विषयलाई प्रोत्साहन गरेर सवारी चालक हुनै नसक्ने रोगीलाईसमेत चालक अनुमतिपत्र दिएर लाखौँ यात्रीहरुको जीवन जोखिममा राख्ने काममा राज्य किन टुलुटुलु हेरिरहेको छ ? नचाहिने र चर्चा नगर्दा पनि हुुने खालका वाइयात बिषयमा दिनभर छलफलमा जुट्ने नागरिक समाज र सरकार परिवर्तन जस्तो नियमित प्रव्रिmयाका बारेमा सामाजिक सञ्जालका भित्ताहरु भर्न घण्टौँ समय खर्चने हाम्रा दलका अगुवा र तिनका कार्यकर्ताको ध्यान यस्तो संवेदनशील बिषयमा किन नपुगेको होला ?

त्यसैले आजैदेखि निरोगिताको प्रमाणपत्र पैसामा किनेर होइन, चिकित्सकले जाँचेर मात्र उपलब्ध गराउने वातावरण निर्माणका लागि सरोकारवाला सबैले एउटै आवाज बनाउन जरुरी छ ।
नथबलभलमचबवजबउब२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: