किन घरकै आँगनमा मारिन्छन् चेलीहरू ?

  प्रकाशित मिति
२६ कार्तिक २०७५, सोमबार १२:३४


हिजोआज रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन जताततै बलात्कार तथा यौनजन्य हिँसा सम्बन्धी समाचारहरू प्राथमिकताका साथ प्रसारण तथा प्रकाशन भइरहेको छ ।
नेपाली समाजमा बिगत केहि समयदेखिका बलात्कार सम्बन्धी घटनाहरुको सार्वजनिकीकरणले जनमानसको निन्द्रा हराएको छ । सुन्दर भविष्यको सपना बोकेर स्कूल गएका कलिला बालिकाहरू सकुशल घर फर्कने हुन् होइनन् अभिभावक चिन्तामा छन् । कुनै पनि उमेरसमूहका महिला सुरक्षित छैनन् । वृद्ध आमाहरु तथा अबोध बालिकाहरु समेत सुरक्षित छैनन् । अवस्था यस्तोसम्म आइसक्यो कि बहिनी दाजुबाटै अनि छोरी बुबाबाटै असुरक्षित महसूस गर्न थालेका छन् ।

हाम्रो समाज महिलाहरूप्रति दिन दिनै असुरक्षित हुँदै गइरहेको छ । बलात्कार तथा यौनजन्य हिंसा अपरिचित भन्दा बढी परिचित तथा परिवारकै सदस्यहरूबाट समेत भइरहेको छ । सदैव पितृसत्ता हावी रहेको हाम्रो समाज यस्ता घटनाहरुको कारण अझै साँघुरो हुँदै गएको छ ।

बलात्कार पनि पितृसत्ताजस्तै एउटा रोग हो । पितृसत्ता अनि त्यसमाथि प्रकृतिले नै पुरूषलाई दिएको बलवान् शरीरको संयोजन महिलाको निम्ति झन् बढी खतरनाक सावित भएको छ । समाजमा आफ्नो पुरूषत्व प्रमाणित गर्न पुरूष जुनसुकै हदसम्म पुग्न तयार हुन्छ । पितृसत्ताका कारण लैङ्गिक खाडल पुरिनुको साटो अझ बढी गहिरो हुँदै गइरहेको छ । पुरूष अझ बढी शक्तिशाली हुँदै गइरहेका छन् अनि महिला अझ पनि आफूलाई माथि उकास्न सकिरहेका छैनन् ।

बलात्कार पुरूषहरूको शक्ति प्रदर्शन अनि महिलाप्रतिको हैकमको उदाहरण पनि हो । बलात्कार, शक्ति र न्याय बीच नेपाली समाजमा त्रिकोणात्मक सम्बन्ध स्थापना भएको छ । बलात्कारको उजुरी गरेर पनि अन्तिम न्याय पाउने सम्भावना कम हुन्छ । बलात्कारको पीडाभन्दा न्याय नपाउँदाको पीडा लाखौं गुणा बढी हुन्छ ।

हाम्रो समाज पुरूषलाई ब्रेड विनर (जसले घरपरिवार चलाउन एक्लै पैसा कमाउँछ) र महिलालाई हाउसवाइफ (जसले परिवारको हेरचाह गर्छ, घरका कामहरू गर्छ) कै रूपमा हेर्न चाहन्छ ।

शताब्दिऔंदेखि यहि चलन चलिआएको छ । यहाँ महिलाको मौनतालाई स्वीकृतिको रूपमा बुझिन्छ । महिलाको अस्वीकृतिलाई समेत स्वीकृति ठानिन्छ । पितृसत्ता तथा पुरूषत्वसँग यौन जोडिएपछिको अवस्था एकदमै खतरनाक हुन जान्छ ।

पद, पैसा तथा शक्ति पुरूषहरूसँग अधिक मात्रामा भएकै कारण पुरूष आर्थिक तथा सामाजिक रूपमा तुलनात्मक रूपमा बलियो भई बलात्कार तथा हिंसा विरूद्धको महिलाको आवाज दबाउन सक्षम हुन्छन् ।

विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक आदि कारणहरू देखाएर महिलालाई घरभित्रै सिमित राख्ने मानसिकता घर परिवार तथा समाजमा व्याप्त छ ।

पितृसत्ताबाट महिला त पीडित छन् नै, यसको शिकार स्वयम् पुरूष पनि छन् । उसको लालनपालनकै क्रममा उ महिला भन्दा पृथक तथा श्रेष्ठ छ तथा महिलाको लालनपालनदेखि सुरक्षासम्मको प्रबन्ध गर्ने कार्य पुरूषको हो भनी सिकाइन्छ ।

यस्ता सामाजिक अभ्यासहरूले पुरूष मनोविज्ञानलाई अझ बढी हिंसात्मक बनाएको हुन्छ । आफ्नो हैकम जमाउन अनि पितृसत्तात्मक समाजले बनाइदिएको घेराभन्दा आफूलाइ बाहिर निकाल्ने कल्पना गर्न समेत चाहँदैनन् पुरूषहरू ।

समाजले तोकिदिएको लैङ्गिक भूमिकाका कारण तथा जोइटिङ्ग्रे उपनाम पाउने डरले पुरूष आफ्नै श्रीमती तथा बालबच्चाहरूसँग पनि समाजको अगाडि निकट हुन हिच्किचाउँछ ।

बलात्कारको शिकार विशेष गरी महिला मात्र हुन्छन् भन्ने बुझाई आम मानिसमा रहेको छ । वास्तवमा महिला तथा यौनिक अल्पसङ्ख्यक मात्र यसको शिकार हुँदैनन् । यो अवस्था जो कोहिलाई पनि आइलाग्न सक्छ ।

पुरूषहरू पनि उत्तिकै यौन हिंसाका शिकार हुने गरेका छन् । पुरूषद्वारा पुरूष तथा महिलाद्वारा पुरूषको बलात्कार भएका घटनाहरू पनि फाट्टफुट्ट रूपमा प्रकाशन तथा प्रशारण भइरहेका हुन्छन् ।

साधारणतया उच्छृङ्खल पहिरनका कारण बलात्कार हुन्छ भन्ने ठम्याई आम मानिसमा रहेको छ । त्यसो भए निर्मला पन्त, श्रेया सुनार, ७४ वर्षीया वृद्धा तथा वर्ष दिन पनि नपुगेकी अबोध बालिका किन बारम्बार निमोठिन्छन् ? अँध्यारा तथा खतरनाक बाटोबाट छोरीहरूलाई हिँड्न बन्देज लगाइन्छ तर पनि किन घरकै आँगनमा मारिन्छन् चेलीहरू ? किन आफ्नै घरको कोठाभित्र लुटिन्छ अस्मिता ? अपरिचितबाट टाढा रहनु भनि सिकाइन्छ, तर किन बारम्बार बलात्कृत हुन्छन् आफ्नै बाबु, दाजु तथा श्रीमान्बाट ?

हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण नै भिन्न छ । महिलालाई वस्तुसरह व्यवहार गरिन्छ । बस्तु तथा सेवा प्रदायकहरूले आफ्ना विज्ञापनहरूमा तथा सेवाहरूमा महिलाको शरीरको प्रयोग व्यापक रूपमा गर्ने गरेका छन् । कार्यालयहरूमा समेत ‘शो पिस’को रूपमा महिलालाई रिसेप्सन तथा मानिसहरूसँग प्रत्यक्ष सम्बन्ध बढी हुने ठाउँमा राखिन्छ ।

हरेक क्षेत्रमा महिलालाई सुन्दरताको आधारमा तथा पुरूषलाइ बौद्धिकताको आधारमा परिभाषित गरिन्छ । महिलाको सौन्दर्यलाई बिकाउ बनाइएको छ । प्रत्येक महिला आफ्नो जीवनकालमा जानी नजानी कम्तीमा एक पटक हिंसाको शिकार भएकै हुन्छन् ।

हाम्रो समाजले बलात्कारलाई अपराधको रूपमा लिनुपर्नेमा कताकता सामान्य घटना झैं लिन्छ । यसको न्यूनीकरणको लागि सरोकारवालाहरूले ठोस कदम चालेको देखिएको छैन । बलात्कारी पैसा तथा शक्तिको आडमा निस्फिक्री हिँडिरहेका छन् ।

धेरैजसो घटनामा पीडितकै चरित्रमाथि दोष लगाउने परम्परा छ हाम्रो समाजमा । बलात्कृत महिलाप्रति हाम्रो समाजको धारणा सँधै नकारात्मक नै रहेको छ । बलात्कृत नै दोषी देख्ने समाजको प्रवृत्तिका कारण पनि पीडितहरू आफ्ना पीडा दबाएर बस्न बाध्य छन् ।

महिला शारीरिक भोगकै लागि बनेका हुन् भन्ने मानसिकता व्याप्त रहेको छ । बलात्कारपछिका कठिन परिस्थितिहरूको बारेमा हाम्रो पितृसत्तात्मक समाज परिचित हुन चाहँदैन । यस्तो ‘रेप कल्चर’का कारण कतिपयले समाजमा बाँच्न नसकेर आत्महत्या गरेका उदाहरण पनि छन् ।

सकेसम्म बलात्कृतको विवाह बलात्कारीसँगै गराएर भित्रभित्रै घटना सामसुम पार्न जोड दिन्छ हाम्रो समाज । तर त्यसपछि पीडितले सामना गर्नुपर्ने शारीरिक तथा मानसिक बलात्कारका कहालीलाग्दा श्रृङ्खलाहरूबारे खासै चासो दिइँदैन । पीडित महिलाहरू समाजको डरले आफ्ना समस्याहरू अगाडि ल्याउन डराउँछन् अनि मौन बस्छन् ।

कतिपय अवस्थामा बलात्कृत तथा यौन हिंसामा परेका महिलाहरू आर्थिक तथा सामाजिक कारणहरूले गर्दा उजुरी गर्दैनन् । जसका कारण महिला हिंसाका घटनाहरू आँकडामा रहेका सङ्ख्याभन्दा सयौं गुणा बढी छन् भन्नु अन्यथा नहोला ।

महिला हिंसा न्यूनीकरणका निम्ति सवै सरोकारवाला सम्मिलित नारीवादी क्रान्तिको खाँचो छ । समाजमा परिवर्तन तब मात्र आउन सक्छ जब महिलाहरूसँगै यौनिक अल्पसङ्ख्यक तथा पुरूषहरू समेत महिला हितको लागि हातमा हात मिलाएर अगाडि बढ्नेछन् ।

हामी पितृसत्ता चाहँदैनौं । मातृसत्ता पनि चाहँदैनौं । हामी त पुरूष तथा महिलाको हैसियत बराबर भएको समाज चाहन्छौं । हरेक लिङ्गलाई सम्मान गर्ने पुरूषहरू भएको समाजमा बाँच्न चाहन्छौं ।
हामी निर्धक्क भएर हिँड्न सक्ने वातावरण चाहन्छौं । पुरूषलाई पीडकको रूपमा हैन सहयोगीको रूपमा चाहन्छौं । महिला हिंसा न्यूनीकरणको लागि सामाजिक क्रान्तिको खाँचो छ जसमा अब पुरूषले पनि नेतृत्व गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: