किन पत्रकारहरू शीर्षक बन्दैनन् ?

  प्रकाशित मिति
१९ असार २०७३, आईतवार १४:१०


gnपत्रकारहरूको काम समाचार प्रकाशन र प्रशारण गर्ने हो । समाचार सम्प्रेषण नै एउटा पत्रकारको पेशा हो, उसको कर्म हो । अहिलेसम्म हाम्रा पत्रकारहरूले यहि नै गर्दै आएका छन् । हरेक दिनको सुरु र अन्त्य सूचना र समाचारमै विताउँछन् पत्रकारहरू ।

विकास निर्माण राजनीति, वातावरण, स्वास्थ्य, शिक्षा, अर्थ, वाणिज्य, यस्तै यस्तै मूल विषयको अनेक पक्ष  हुन्छन् उनीहरूका समाचारका विषयहरू । जहाँ सिङ्गो सामाजिक पक्ष त प्रधान विषय हुँदै हुन्छ । पत्रकारहरूको काम सरल र छोटकरीमा भन्दा समाजलाई विविध पक्षका बारेमा सुसूचित गराउनु नै हो ।

हरेक पक्ष विद्युतीय र छापा पत्रकारिताको माध्यमद्वारा उनीहरू समुच्च समाजलाई सचेत, सजक र सूचना उपलब्ध गराइरहेका हुन्छन् अर्थात समाचार दिइनै रहेका हुन्छन् ।

तर, रातो दिन समाजलाई सूचना दिइरहने पत्रकारहरूका बारेमा भने थोरै समाचार आउने गर्छन् । उनीहरूका बारेमा समाचार आउँदा प्रायः सम्मान–पुरस्कार र पारिश्रमिकका विषयमा आउने गर्छन् । पत्रकार पुरस्कृत–सम्मानित र सञ्चारगृहले पारिश्रमिक दिएन यस्तै नै हुन्छन् ।

तर, पत्रकारहरू अरु विषय र शीर्षकका समाचार भने अपवादका रुपमा मात्रै सुन्न र पढ्न पाइन्छ । म आफैँ पनि छक्क पर्छु के पत्रकार मान्छे होइनन् ? उनीहरूको जीवन छैन ? किन उनीहरूका बारेमा समाचार नआएको होलान् ?

हुन त आफ्नो बारेमा आफैलाई राम्रो  वा नराम्रो भनेर समाचार लेख्नु कुनै कोणबाट सुहाउँदैन र अहिलेसम्म त्यस्तो चलन पनि छैन र सायदै लेखिन्दैन । तर, पत्रकारिता पेशा, व्यवसाय र पत्रकारहरू समाचारको विषय र शिर्षक बन्नका लागि कुनै एकादशीले छेक्दैन । धेररै साथीहरूले भन्ने गर्छन्–पत्रकारका बारेमा किन सञ्चारमाध्यममा समाचार आउँदैन ? किन पत्रकारिताको पेशाको विषयमा समाचार बन्दैन ? यसको सोझो र सत्य जबाफ यहि –पत्रकारिता पनि एउटा व्यवसाय र पेशा हो, यसका विषयमा समाचार नबन्ने कुरै छैन, तर जति आउनु पर्ने हो त्यति आउँदैन । भरसक जानी बुझिकन सहकर्मीको धर्मका नाममा नकारात्मक समाचार छ भने कित प्रकाशन–प्रशारण हुँदैन र गरिँदैन र गर्दा पनि भाकापारा मिलाएर मात्रै होइन आफु निकट व्यक्ति र संस्थालाई पनि यस्तो व्यवहार गर्ने गलत व्यक्ति र संस्थालाई पनि यस्तो व्यवहार गर्ने गलत परम्परा छैन भन्न सकिन्दैन । तर, यो सञ्चारमाध्यमका मालिकसँग उनको प्रकृतिसँग भर पर्ने गरेको पाइन्छ ।

बहुदलीय व्यवस्थाको स्थापना पछि नेपालमा साँच्चै नै सञ्चारको विकास उर्लेर आयो । विद्युतीय र छापा पत्रकारिताको विकास अपत्यारिलो गतिमा भयो । तर, यसको गुणात्मक विकास जुन रुपमा हुनु पथ्र्याे त्यो रुपमा हुन सकेन । परिणामत ः व्यासायिक मर्म र कर्मका शिल्पि पत्रकारहरू भन्दा भुइँ फुट्टा धामीको उखानसँग मेल खाने पत्रकारहरूको जन्म भयो ।

मलाई आफुले जीवनको प्रिय लाग्ने पेशाका बारेमा यी कुरा लेखिरँदा पीडा होइन गर्व लाग्ने गर्छ । किनकि यो क्षेत्रमा अहोरात्र माहुरी झैँ जुटिरहेका निडर, निर्भिक र इमान्दार कलमकर्मीहरू पनि छन्, जो आफ्नो व्यावसायिक धर्मबाट रत्ति पनि डगमगाएका छैनन् । सत्य–तथ्य र निश्पक्ष समाचार नै सफलताको मूलमन्त्र ठान्छन् । म सलाम गर्छु उनीहरूलाई जो पत्रकारिता गरेर आफ्नो पेशालाई मर्यादित र एक मात्र पेशा बनाएर बाँचेका छन् ।

आफ्नो पेशालाई ‘आमा’ ठान्ने कलमकर्मीहरू नै व्यवसायिक पत्रकारिताका रक्षक हुन, जो एकमात्र पेशा पत्रकारिता त्या पनि शतपात्रका रुपमा रहेका छन् । र उनीहरूनै बास्तविक र व्यावसायिक पत्रकार अर्थात सूचनाको साँचो सम्बाहक हुन् । जो आफ्नो व्यावसायिक धर्मप्रति गम्भिर छन् अनि आफ्नो पेशालाई सम्मानित र मर्यादित कसरी बनाउन सकिन्छ भन्ने ध्याउन्नमा छन् । र तितो सत्य अर्काे पनि छ । हुनत आम सञ्चार माध्यममा काम गर्ने सबै पत्रकारहरूलाई एउटै बास्केटमा राख्न हुँदैन र मिल्दैन पनि । तर, सूर्याेदय नै हुन्छ । पत्रकारको धुसा वा बर्काे ओडेर पत्रकारिताको धर्म र मर्मलाई बन्धकी राखेर पत्रकार गर्नेहरूको हुल पनि सञ्चार जगतमा जब्बर नै छ । पत्रकारितालाई आफु चिनिने मेलो बनाएर अड्को फड्को समाचार लेखेर बर्खे च्याउ प्रवृत्तिका सिङ्गो पेशाको नाम बेच्नेहरू छैनन् भन्नु अर्काे भूल हो ।
असल र खराब पक्ष नसरी हरेक क्षेत्रमा पलेटी कसेर बसेको हुन्छ । र छ, नेपाली पत्रकारिताको क्षेत्रमा समेत आफ्नो पेशा, जिम्मेवारी र व्यावसायिक मर्म, धर्म र कर्मको जानी जानी बेवास्ता गरेर पत्रकार हुँ भन्नेहरूबाटै सिङ्गो सञ्चार क्षेत्र कताकता दुषित बन्दै गइरहेको छ ।
हामीबीच पत्रकार बन्नलाई कुनै योग्यता, दक्षता र शीपको आवश्यकतालाई त्यति धेरै हेरिन्दैन भन्ने प्रमाण जथाभावी रुपमा गृहले वितरण गरेका परिचय पत्रले पुष्टि गरेको छ । दुईचार जना राजनीतिक दलका नेता र पुलिस प्रशासनका मान्छेसँग जसले धेरै उठबस गर्छ उनै चर्चित पत्रकार हुने गर्छ । पेशा उसको (बाँच्ने आधार) एउटा हुन्छ, तर उ त्यो पेशाको परिचय दिदैन र पत्रकारको खास्टो ओडेर हिँड्छ । उसलाई के माया पत्रकारिता व्यवसायप्रति यो त उसको फुर्सदको टायम जब हो । जसले निस्कलङ्क ढङ्गले जीवन जिउने एकमात्र आधार पत्रकारिता बनाएको हुन्छ, त्यो मात्रै उसको पेशाप्रति प्रतिवद्ध, जिम्मेवार र जबाफदेही हुन्छ ।

पत्रकारिता सुुरुमा रहरको विषय बनेको हुन्छ, जो कसैका लागि पनि । विस्तारै यो पेशा(बाँच्ने कर्म) बन्न पुग्छ । यो आफैँमा सम्मानित व्यावसायिक कर्म हो । तर, रहर, लहर र फुर्सदी खास्टो प्रवृत्तिले नेपालमा यो पेशा करार जस्तो बन्न पुगेको छ । जो आफ्नो कामप्रति प्रतिवद्ध छैनन्, आफ्नो योग्यता, दक्षता र शीपप्रति विश्वास गर्न सक्दैनन् । उनीहरूले यसलाई टपरटुँइया  पेशाका रुपमा बुझेका हुन्छन् । र, भँगेरे अक्षरमा आत्मसन्तुष्टि गर्छन् । तर, म लेखेरै बाँच्न सक्छु, मेरो यो नै एकमात्र पेशा बन्न सक्छ भन्ने जसलाई विश्वास छ उसले जोडी जागिर गर्नु पर्दैन ।

सञ्चारगृह, पत्रकार महासङ्घ र पार्टी निकट पत्रकार संस्था पनि मौसमी पत्रकार बनाउन जिम्मेवार छैनन् भन्ने ठाउँ छैन । आफु अनुकूल र आफ्ना निकट मान्छेहरूलाई परिचय पत्र दिने र महासङ्घको सदस्यता, सञ्चारगृह र पार्टी निकट पत्रकार सङ्गठनको परिचय पत्र बोकेर आफु पत्रकार हुँ भन्नेहहरूको सङ्ख्यामा कटौती गर्ने हो भने पत्रकारहरूको वास्तविक तथ्याङ्क थोरै भए पनि निस्कन्छ ।

मलाई त लाग्छ, पत्रकारिता पेशा मात्र गरेर बाँच्ने र बाँचेकाहरूले छुट्टै तथ्याङ्क निकाल्ने हो भने नेपाली सञ्चार जगतको वास्तविक अनुहार प्रष्ट हुन्छ ।

तर, यहाँ खाडी मुलुकदेखि युरोप र कोरियामा कामदार भिसामा गएकाहरू पनि धेरै आफुलाई पत्रकार भन्ने गर्छन् । जो यो पेशाबाट गुजारा चल्दैन भनेर विदेश भासिएका छन् । उनीहरू त्यहाँ विभिन्न कम्पनीमा काम गर्छन् तर, भन्छन् म फलानो सञ्चारगृहको पत्रकार हुँ ।
पत्रकारहरूको न्युनतम पारिश्रमिक कार्यान्वयन नहुनुको प्रम्ुख कारण पनि जोडी जागिर खाएका र फुर्सदमा पत्रकार गर्नेहरूकै कारण हो । किनकि एउटा पत्रकारको तलबमान कति राख्दा ऊ बाँच्न सक्छ भन्ने कुराको तथ्य निकाल्ने यहाँ अन्योल छ । जसले जोडी जागिर र फुर्सदको पत्रकार गरेका छन् उनीहरूलाई यो विषयमा खासै चासो हुँदैन । जो पत्रकारितै गरेर बाँचेको छ, उसका लागि उसले मागे जति पारिश्रमिक दिन सञ्चारगृह तयार हुँदैन ।

नेपाली पत्रकारिता श्रेत्र भित्र देखिएका व्यावसायिक समस्याको समाधान गर्न व्यावसायिक र स्वतन्त्र पत्रकारिता पथमा लागेका जो यो पेशालाई आमा झैँ श्रद्धा र सम्मान गर्छन् । उनीहरूकै पहलले मात्रै टुङ्गो लगाउँछ । हैन भने गफ मास्टर र खास्टो प्रवृत्तिलाई नै हावी हुन दिने हो भने पत्रकारहरूका समाचार पनि हुँदैन, उनीहरू समाचारका शिर्षक पनि बन्दैनन् । किनकि पत्रकार भनेका पत्रकार हुन । पत्रकारले पत्रकारको समाचार लेख्दैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: