किरियाकर्म छरितो पार्ने कि !

  प्रकाशित मिति
२७ कार्तिक २०७३, शनिबार ११:३३


kiriya

दार्शनिक दृष्टिकोणले हेर्ने हो भने संसारभरका मानिसलाई दुईवटा समूहमा विभक्त गरेर हेर्न सकिन्छ । प्रथम, प्रत्ययवादी वा आदर्शवादी वा यो संसार सर्वशक्तिमान ईश्वरको रचना हो, ईश्वरको इच्छाविना यहाँ पात पनि हल्लिँदैन भन्ने विश्वास गर्नेहरुको समूह । यो चराचर जगत, पृथ्वी, ग्रहहरु, नक्षत्रहरु, सूर्य, आकास, पताल सव ईश्वरका देन हुन्, पृथ्वीका सब प्राणीहरुका भाग्यविधाता यहाँसम्म कि सानोभन्दा सानो कमिलोदेखि ठुला हात्ती, ह्वेल वा प्रचण्ड विर–विद्वान मानिसहरु सबैको स्रष्टा, पालनकर्ता, संहारकर्ता उनै ‘ईश्वर’ (भगवान) हुन् भन्ने समूह । चेतनाको अभाव र अध्ययनको एकाङ्गीपनले र अनेक रहस्यपूर्ण घटना तथा वस्तुहरुको उचित कारण र परिणाम थाहा नपाएकाले मानवजगतको ठुलो पङ्क्ति यही समूहमा पर्दछ ।

दोस्रो समूह छ, भौतिकवादी, यथार्थवादी । यो समूहका दृष्टिमा यस दुनियाँका हरेक वस्तु या घटनाका पछाडि भौतिक कारण छ र हुन्छ । चाहे यो चराचर जीवजगत्, वनस्पति जगत होस् वा पृथ्वी, ग्रहहरु, नक्षत्रहरु, सूर्य, आकास, पताल आदि यो सवको उत्पत्तिदेखि सञ्चालन सबमा प्राकृतिक र वस्तुगत कारणहरु छन् । यसमा कुनै–कसैको इच्छाको या देनको कुराको कुनै तुक छैन । अध्ययन गर्दै जाँदा यस धर्तीमा यस जगतका अनेक घटना परिघटनाहरुको कारण र परिणाम पहिल्याउन सकिन्छ । आजसम्म विगतमा नबुझिएका अनेक गुत्थीहरु बुझिएका, सुल्झिएका छन् । जेजति नसुल्झिएका वा नबुझिएका छन् हाम्रा अध्ययनको व्यापकता र पहुँचले ती व्रmमशः बुझिँदै जाँदैछन् र बुझिन्छन् ।

आजको प्रसङ्ग यो सब आदर्शवादी जगत र भौतिकवादी जगतका बिचको बहस होइन । आज त सानो, हाम्रा समाजको अनेक जाति, धर्म र सम्प्रदायमध्येको एउटा खास जातिको सनातन परम्परा अनुसार गर्ने मृत्यु संस्कारको विषयको कुरा हो । अझ आजै यो विषय उठान गर्नु पर्नाको प्रसङ्ग भने ‘प्रजातान्त्रिक योद्धा’ कुल प्रसाद घिमिरेको निधन र उहाँकी धर्मपत्नी शकुन्तला घिमिरे, सुपुत्र विश्व विजय घिमिरे तथा बुहारी पद्मा घिमिरेसहित घिमिरे परिवारले स्व.कुलप्रसाद घिमिरेको इच्छावमोजिम ७ दिनमा किरिया कर्म सक्ने निर्णय र त्यसमा असहमत गाउँसमाजका केही व्यक्तिको भने ‘१३ दिन नै बार्नु पर्छ’ भन्ने रुढीगत ढिपीको कुरा हो । यस बेला हामीले सम्झनु पर्ने छ– स्व. कुलप्रसाद घिमिरेले केही वर्ष पहिलो आफ्नो जेठो छोरा ज्ञानेन्द्र घिमिरेको किरियाकर्म पनि ७ दिनमा सकाउनु भएको थियो । त्यसबेला हाम्रा पुरेतबाहरुले गरेको असहयोग म अहिले सम्झिरहेको छु । पुरेतबाको असहयोगको क्षतिपूर्ति आजका सांसद रविन कोइरालाले गर्नु भएको सम्झना मेरो मनमा ताजै छ ।

मैले एउटा भनाई सुन्ने गरेको थिएँ– ‘भाले नवास्तैमा उज्यालो हुँदैन र !’ भन्ने । हाम्रा पुरेतबाहरुले आफू सरिक नभए समाज अगाडि बढ्न रोकिन्छ कि भनेर सोच्नु भएको भए त्यसले उहाँहरुलाई पछाडि छोडेर समाज अगाडि बढ्छ नि !

हामी हाम्रै समाजमा विभिन्न जातिहरुमा परिपरिका मृत्यु संस्कार देख्छौँ । ३÷४ दिनमा मातापिताको किरियाकर्म सक्नेदेखि ७ दिन, १० दिन, १३ दिन, १५ दिनमा किरियाकर्म गर्ने विविध संस्कार संस्कृति भएका हामी नै हौँ । अझै १०÷१२ भाइ छोराहरु, १२÷१४ बुहारीहरु र थप छोरीहरु भए ती सब एकै घरमा नाङ्गै मुडुलै भएर लाजमर्दो पहिरनमा रहेर बडो घच्चारोसँग किरियाकर्म गर्ने पनि छौँ र एक भाइले मात्र बार्ने र अरुले घरव्यवहार साविक रुपमा चलाएर किरियाकर्म सक्ने पनि छौँ । किरियाकर्मका बेलामा कस्तो पहिरन हुनु पर्छ भन्ने बारेमा काहीँ कुनै ग्रन्थमा उल्लेख छैन । तर, लुगा सिलाउने मेसिन आविष्कार हुनुभन्दा पहिलाका हाम्रा पुर्खाले आफ्ना मातापिता मर्दाका बखत लगाएका पहिरनको जडसुत्री नक्कलमा हामी निमग्न छौँ । आधुनिक जुत्ता चप्पलको सुरुवात हुनुभन्दा पहिला लगभग जङ्गली घुमन्ते युगबाट कृषियुगमा प्रवेश गरी एक ठाउँ स्थिर बसोबास सुरु गर्दाको चलनलाई आजको सहरी समाजमा नक्कल गर्नुमा गौरव मान्ने हाम्रो रुढ संस्कार छ । हामी आज फेसनमा पेरिसलाई उछिन्न खोज्छौँ, लण्डन र न्यूयोर्कलाई पछाडि छाड्छौँ र तर जब मृत्यु संस्कारमा हामी पुग्छौँ हामी हजार वर्ष पछाडिको रुढीगत कठोर र असभ्य संस्कारलाई अँगालो मार्छौँ । त्यसमा परिवर्तन गर्ने कुरा कोही कसैले उठाएमा कठोर विरोध गर्छौँ र त्यस कुरालाई मरेका मातापिताप्रतिको श्रद्धासँग गाँस्छौँ । हामी किन यसो गर्छौँ ? बहस गर्नु मात्र होइन गम्भीर छलफल चलाउन आवश्यक छ ।

सभ्यताको विकास, विज्ञान र प्रविधिको विकासले मानिसलाई हिजो कृषि युगमा झैँ फुर्सदको जीवनबाट खोसेर व्यस्तजीवन दिइसक्यो । कृषियुगमा असार–साउनमा खेती लगाएर मङ्सिरमा उठाएपछि अरु आधा वर्ष फुर्सदै फुर्सद थियो । आज जागिरको, बन्द व्यापारको, उद्योग व्यवसायको रुटिनबद्ध व्यस्त जीवनले हिजोका संस्कार संस्कृतिमा आमूल परिवर्तनको माग गर्दैछ । अब आजको प्राविधिक र व्यस्त सामाजिक जीवनपद्धतिमा पस्न बाध्य भएका हामीले यही अनुकूल हाम्रा संस्कार संस्कृतिलाई परिवर्तन गरेनौँ भने निश्चित छ, हामीले डार्विनको भनाई सम्झनु पर्छ– ‘बदलिँदो परिस्थितिसँगै जसले आफूलाई अनुकूल बनाउँदै जान्छन् ती रहन्छन्, जो यसो गर्न सक्तैनन् तिनीहरु छाँटिँदै जान्छन् ।’

एउटा उद्योग व्यवसायीले बाबुको निधनमा १३ दिन उद्योग बन्द गर्छ, त्यसपछि लगत्तै आमाको पनि निधन भएमा अर्को १३ दिन बन्द गर्छ, अझ सौतेनी आमा पनि छिन् र थप १३ दिन उद्योग बन्द गर्ने हो भने त्यस्तो उद्योगले अर्कोसँग प्रतिस्पर्धा गर्न सक्छ ? एक दिनको उद्योगको बन्दले कहिलेकाहीँ निर्णायक रुपमा उद्योगको उत्थान कि पतनको रोल खेलिरहेको हुन्छ । अब हामीले हाम्रो श्रद्धेय माता वा पिताको किरियाकर्म गर्ने रुढीगत निहुँमा परिवारलाई टाट उल्टाउन पटि लाग्ने कि मातापिता उपर श्रद्धा गर्ने समयानुकूल तरिका अपनाउँदै किरियाकर्ममा सुधार ल्याउने सद्बुद्धि लिने ? सोच्ने बेला भएन र !

कति दूरदर्शीहरु भन्छन्, बाँचुञ्जेल पिर दिनु र मरेपछि खिर दिनुको कुनै अर्थ छैन । यथार्थमा श्रद्धेयजन बाँचुञ्जेल राम्ररी सेवा सुश्रुषा गर्नु पर्छ । मरेपछि किरियाकर्म भनेको त मर्नेले पाउने होइन, त्यो त गर्नेले आफ्नो कर्तव्य गर्ने मात्र हो । यथार्थमा मर्ने त मरेपछि म¥यो नै । अब जेजति बाँचेको छ, बाँचेका मानिसहरुका मनमा मात्र ऊ हुन्छ । नत्र त या गहिरो खाडलमा हालेर पुराका पूरा ऊ पुरियो या डढाएर खरानी पारेर बगाइयो, बढारियो । ऊ त सकियो । भौतिक रुपमा ऊ निशेष सकियो । त्यसपछि मरेको मानिसले पाउँछ भन्ने सम्झेर केही दिनुलिनु भनेको अत्यन्त केटाकेटी खेलजस्तो नाटकीय मनोरञ्जनको कुरा मात्र हो, या त शोकग्रस्त परिवारको जायजेथा जिप्ट्याउने छलकपटपूर्ण कुरा मात्र हो । त्यस सिवाय केही हो भने छलफल गरौं, गम्भीर बहस गरौं । यही कुरालाई राम्ररी बुझेर विश्वेश्वरप्रसाद कोइरालाले बाबुआमाको किरियाकर्मको यो नाटकीय कुरा गरेनन् । रामबाबु प्रसाईंले ७ दिनमा सकेर निस्किए । माधव नेपालले त्यसरी नै ७ दिनमा सकेर निस्किए । पुष्पकमल दाहालले किरिया बारेनन् । खगेन्द्र सङ्ग्रौलाले किरिया बारेनन् । हाम्रै झापा दमकका कमल जङ्गलीकी श्रीमती जयकला आचार्यको निधन हुँदा कमल जङ्गली तथा उनकी पत्नीको इच्छाबमोजिम छोराहरुले कोरो ढिकुरोको नाटक गरेनन् । यस वापत आचार्य परिवारका केही साँघुरा अन्धविश्वासीहरु, रुढीबुढीहरु रिसाएर उखपात गरे । हाम्रा काँकरभिट्टा निवासी रामचन्द्र उप्रेती बन्धुहरुले सेतो गञ्जी लगाए, सेता प्लास्टिकका कुर्सीमा बसे, सेता चप्पल लगाए, नियमित रुपमा झर्के थालमा पस्केर खाना खाए र अलिक नयाँ पारामा किरियाकर्म गरे । त्यसले धेरैलाई चप्पल लगाउने बाटो खुल्यो र आज निकैले किरियाकर्मका बखत चप्पल लगाएको देख्न सकिन्छ ।

२०६० साल जेठको पहिलो साता बिर्तामोड देवी वस्ती निवासी कपिलमुनि प्रसाईंको दशगात्रको दसौँका दिन उहाँका घरमा प्रसाईं पारिवारिक ट्रष्ट (प्रसाईंहरुको सङ्घ) को विस्तारित भेला थियो । संयोगले म पनि उपस्थित भएको थिएँ । त्यहाँ त्यो भेलाले पनि ‘उप्रान्त प्रसाईं बन्धुहरुले ७ दिनमा विmरियाकर्म सिध्याउने’ भन्ने सर्वसम्मतिले निर्णय गरेका थिए । हो, त्यो कार्यान्वयन भने हुन सकेको छैन, सायद त्यसमा विरालाका घाँटीमा घण्टी बाँध्ने एक सपुतको साहसपूर्ण अगुवाइको आवश्यकता परेको होला ।

गत २०७२ साल माघमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घले इटहरीमा पूर्वाञ्चल स्तरीय व्यापक भेलाको आयोजना गरेर किरियाकर्म छरितो पार्ने बारेमा बहस गरायो । म पनि त्यस कार्यव्रmममा आमन्त्रित र सहभागी थिएँ । पिण्डेश्वर क्याम्पसका प्राध्यापकदेखि विभिन्न मठमन्दिरका पण्डित पुजारीहरुले पनि विचार व्यक्त गरेका थिए । धेरै विद्वानको भनाईको सार थियो– ‘हामीले आज मान्दै आएका सबै संस्कार र संस्कृतिहरु कुनै दैवी वा ईश्वरीय शक्तिले थोपरेका होइनन्, हामी आफैँले नै चलाएका र स्थापित गरेका हौँ । हामीलाई सुविधा हुने र मानवता तथा विश्वभाइचारालाई मद्दत हुनेगरी सधैँ ती परिवर्तित गर्न सकिन्छ र भइरहनु पर्छ ।’

बहस गर्ने हो भने कसैले उत्तर दिन सक्तैनन्, कुनै धातुको भाँडोमा पकाउनु हुन्छ, पन्युले पस्किन हुन्छ अनि त्यही धातुले बनेका थालमा खान हुँदैन ? यस कुराको कुनै तार्किक कारण कसैले दिन सक्छ ? उनीको कालोसेतो चेक राडी ओछ्याउन हुन्छ, त्यस्तै उनीको कम्बल ओड्न हुन्छ तर त्यस्तै उनीको स्वेटर लाउन हुँदैन र नाङ्गै बस्नु पर्छ । के यसको कुनै तार्किक कारण दिन सकिन्छ ? त्यही हिन्दुको एकथरीले जेठो छोराले किरियाकर्म गर्दा र त्यस बखत सेता कुर्ता सुरुवाल लगाएर बस्दा हुन्छ तर त्यही हिन्दुको अर्कोथरीले सबै छोराबुहारी झुत्तिएर बस्नु पर्छ र नाङ्गो भुतुङ्गो बस्नु पर्छ । के यसमा कुनै तार्किक उत्तर दिन सकिन्छ ? यस्ता अनेकन बिरालो बाँध्ने चलन हामीले बोकेर ल्याएका छौँ तर ती चलनमा सुधार ल्याउनु पर्छ भन्दा एकधुर लागेर चिच्याउँछौँ भने हाम्रो बुद्धिको हामी आफैँले मूल्याङ्कन गर्नु पर्छ ।
यही कात्तिक ७ गतेका दिन प्रशिद्ध साहित्यकार मोदनाथ प्रश्रितकी आमा बालिका देवी पौडेलको ९७ वर्षको उमेरमा काठमाडौँमा निधन भयो । हाम्रो धर्मशास्त्र र पूर्वीय दर्शन तथा हाम्रा पुराण–उपनिषदका ज्ञाता प्रश्रितजीले थुप्रै विद्वान र पण्डितहरुलाई छलफल गराएर ७ दिनमा नै आमाको किरियाकर्म सिध्याउनु भयो । धेरै पण्डितहरुले यसरी ७ दिनमा किरियाकर्म सिध्याउनु एकदम समयानुकूल र उचित भएको प्रतिव्रिmया दिए । एक दुई कुपमण्डुकहरु बर्बराए ।
सन्तकविरको एउटा उक्ति छ–
लिकलिक पर गाडी चले लिक पर चले कपुत
विना लिक तीन चले सायर, सिंह, सपुत ।

अर्थात् अर्काले बनाइदिएको बाटो मात्र हिँड्नु हो भने मानव सभ्यता आजको ठाउँमा आई नै पुग्दैनथ्यो । सपुतहरु निडरतापूर्वक, निर्भिकतापूर्वक नयाँ बाटो हिँड्छन्, नयाँ–नयाँ खोजी गर्छन् र सभ्यतालाई अगाडि बढाउँछन् । हामीले ती सपुतहरुलाई धन्यवाद दिन हिच्किचाउनु हुँदैन ।

म यस सानो लेखमा धेरै कुरा लेख्न सक्तिन । हामीले दस पन्ध्र वर्ष पहिला कर्मकाण्ड वारेमा छलफल पनि चलाएका थियौँ । झापाका लीला उदासी, एसएल शर्मा, नरेश बर्मा आदिलाई र धुलाबारीका केही पण्डितलाई समावेश गराएर धुलाबारीको अतिथि सदनमा छलफलको आयोजना गरेका थियौँ । तर, एउटा मात्र बहस वा छलफलले यस्ता हजारौँ वर्षदेखि संस्कारको रुपमा हामीलाई किचेर बसेका कुरा उखेलिँदैनन्, मासिँदैनन् । लामो समयदेखि मानिआएकाले हामीलाई ती अत्यन्तै जड र बेठीक कुरा पनि ठिकै हुन् कि भन्ने जस्तो सोच्ने बनाएको छ । हामीले निरन्तर यस्ता विषयउपर छलफल र बहस चलाउन आवश्यक छ । यथार्थमा आफूलाई अलिक माथि उठाएर गम्भीरतापूर्वक आफैँले पनि ती कुराहरु उपर चिन्तन ग¥यौँ भने हामी हाम्रा ती कार्य सम्झेर आफैँ हाँस्छौँ ।

म सबैसँग अपिल गर्न चाहन्छु, हामी हाम्रा संस्कृतिको रुपमा आएका बेठीक र जड कुराहरुलाई सच्याएर समयानुकूल परिवर्तन गर्न लागौँ । आज विश्वविजय घिमिरे तथा शकुन्तला घिमिरेज्यूहरुले गर्नु भएको उचित र साहसपूर्ण कार्यको खुला हृदयले सम्मान र समर्थन गरौँ । यो उहाँहरुको कार्य लर्तरो र सामान्य कदम होइन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: