किसानका सारथी

  प्रकाशित मिति
१० मंसिर २०७३, शुक्रबार १३:२१


 

nk-tiwariचर्चित पुस्तक ‘सोच’का लेखक कर्ण शाक्यले भनेका छन् – ‘नेपाललाई समृद्ध बनाउन किसानको जीवनस्तर उकास्नु पर्छ ।’ पर्याप्त पूर्वाधार नहुँदा र उन्नत कृषि प्रणालीको अभावका कारण नेपालमा कृषि पेसामा संलग्न नागरिकको आर्थिक आधार तयार हुन सकेको छैन । आन्तरिक कृषि उत्पादनलाई प्रवद्र्धन गर्नकै लागि सरकारले ठोस कार्यक्रम नल्याउँदा आमनागरिकको लाखौँको सम्पती विदेशिएको छ । तर, कृषिबाटै आर्थिक क्रान्ति सम्भव भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा बाहुनडाँगीका अगुवा निलकण्ठ तिवारी ।

धान, मकै गहुँदेखि सुपारी र तरकारी उत्पादनको पकेट क्षेत्र बाहुनडाँगीका सक्रिय सामाजिक अगुवा प्रायः खेतबारीमै व्यस्त हुन्छन् । समयको सदुपयोग गर्न सिपालु तिवारीले चार विगाह जमीनमा खेती लगाएका छन् । बिहान–बेलुका खेती किसानीमा रमाउने तिवारी सामाजिक सेवा र राजनीतिमा पनि सक्रिय छन् । चिया खेती, मरिच, सुपारी र तेजपातका बिरुवासँग साइँनो जोड्दै स्थानीयबासीको भरअभरमा पनि उनी सदा कृयाशील हुन्छन् ।

बाल्यकाल र शिक्षा
वि.सं. २०१४ साल कात्तिक ९ गते तेह्रथुमको चुहानडाँडामा बुबा धनपति र आमा हरिमायाको कोखबाट जन्मिएका निलकण्ठ तिवारीको सङ्घर्ष, राजनीतिक जीवन र प्राप्त सफलताको कथा ज्यादै प्रेरणादायी छ । तेह्रथुमकै सूर्योदय प्राविमा कक्षा ५ सम्म पढेपछि २०२५ सालमा उनी झापा झरेका हुन् । तिवारीले हल्दिबारी स्कूलमा निमावि र चन्द्रगढीस्थित वीरेन्द्र उच्च माविबाट एसएलसी पास गरेको हुन् । आइए पढ्दा–पढ्दै उनले औपचारिक शिक्षाबाट विश्राम लिए । तर, उनको सामाजिक एवम् राजनीतिक ज्ञान आर्जनको शिलाशिला त्यसपछि मात्रै सुरु भयो ।

औपचारिक पढाई बिट मारेपछि तिवारी झापा जिल्ला पञ्चायतमा बैदारको जागिर खान पुगे । दर्ता–चलानी फाँटमा काम पाएका उनको चिठ्ठी लेख्ने फाइलिङ गर्ने र रोडसेस दस्तुर लिने जिम्मेवारी थियो । वि.सं. २०३० सालदेखि २ वर्षसम्म यही श्रृङ्खला चल्यो । अनि तिवारीको प्रवेश शनिश्चरेस्थित मेची अञ्चल विद्युत उपशाखा कार्यालयमा सहयोगीको भूमिकामा भयो । शनिश्चरे, बिर्तामोड, भद्रपुरभरि विद्युतको काम गर्नु पथ्र्यो उनले । तर, १ वर्षपछि नै उनको सेवाको पाटो नै बदलियो । २०३४ सालमा भानु निमाविमा मुखियाको जिम्मेवारीमा शिक्षायलमा प्रवेश गरे । र, २०३७ देखि २०४३ सालसम्म शिक्षक भएर काम गरे ।

राजनीतिमा प्रवेश
हल्दिबारी निमाविमा पढ्दादेखि नै हरिचरण शिवाकोटाको सङ्गतले १३ वर्षको उमेरमै निलकण्ठ तिवारीमा राजनीति चेतना जागृत भएको थियो । भरत शिवाकोटीमार्फत तिवारीलाई राजनीतिक शिक्षा दिने गरेका थिए हरिचरण शिवाकोटीले । विभिन्न पेसामा सक्रिय रहेपनि उनको राजनीति यात्रा पनि अविरल बगिरहेको थियो। शिक्षकको जागिर छोडेर उनी वि.सं. २०४३ सालमा जनपक्षीय प्रधानपञ्चमा उठेका थिए ।

तिवारीले वि.सं. २०२९ सालमा वीरेन्द्र उच्च माविमा पढ्दा स्कूलको मैदानबाट शव लादै गरेको देखे । कुरा चल्यो – ‘पुलिसले मान्छे मा¥यो ।’ उनमा खुल्दुलीले विस्तारै प्रभाव पार्दै गयो । तिवारीले पछि थाहा पाए, वाम राजनीति गर्नेलाई पुलिसले सिध्याए छ । २०३५ सालमै क्रान्तिकारी बुद्धिजीवी सङ्घमा आबद्ध भए उनी । गणेश सुबेदी, टिकाराम न्यौपाने र निलकण्ठ तिवारी सहभागी थिए । लगतै शिक्षक संघर्षमा पनि उनी सहभागी भए ।

२०४१ सालको काठमाण्डौ जाऔं आन्दोलनको अगुवा भएर अघि आएका तिवारी जनपक्षीय काममा सधै कटिबद्ध भएर लागिरहे । ‘विदेशीले देख्ने भए भनेर सरकारले दवाव दियो’, उनी सम्झिन्छन् – ‘तर, जुलुश ग¥यौँ आन्दोलन जारी रह्यो ।’ निजामति कमचारी सरह तलब सुबिधा बढाउनु पर्ने माग उनीहरुको थियो । १० दिनसम्म काठमाण्डौमा प्रदर्शन गरेपछि तत्कालिन सरकारले तिवारीसहितका आन्दोलनकारीलाई कोइला बोक्ने गाडीमा पानी पनि पिउन नदिई झापा ल्यायो । झापा आइपुगेपछि उनीहरुलाई हिरासतमा हालियो । यद्यपि आन्दोलन अझै सशक्त र संगठित हुँदै गयो । राजनीतिक सक्रियता सँगसँगै तिवारीले घरपरिवार पनि समेट्दै गए । वि.सं. २०४९ सालमा बाहुनडाँगी गाविस अध्यक्षमा विजयी भएका तिवारीले २०५४ सालमा पनि गाउँबासीको विश्वासको मत बटुल्न सफल भए । एमालेको क्षेत्रीय कमिटीमा लामो समय काम गरेका तिवारीले जिल्ला कमिटीमा पनि लामो समयदेखि सक्रिय भएर काम गरिरहेका छन् ।

बहुआयामिक व्यक्तित्वका धनी तिवारीको शुरुवाती जीवन निकै संघर्षपूर्ण रह्यो । तर, यहाँसम्म आइपुग्दा उनलाई आफ्नो गरेका कुनै कामप्रति पनि उनलाई गुनासो छैन । उनी भन्छन् – ‘मैले सकेसम्म सबैलाई सहयोग गरेको छु । कसैप्रति गलत दृष्टिकोण राखेको छैन । समाजमा सबैसँग मिलेर बस्नु पर्छ । विश्वासिलो हुनुपर्छ । र, काममा सधै कटिबद्ध हुनु पर्छ । सफलताको मन्त्र त्यही हो ।’ तिवारी अहिले बाहुनडाँगीको विकासप्रति नै चिन्तित छन् । उनका अनुसार कृष्णथुम्की, मिनी माउन्टेन तथा हात्तीसँग सम्बन्धित संग्रहालय निर्माण गरेर पर्यटक भित्र्याउन योजनाबद्ध कार्यक्रम बनाउनु पर्छ । सुपारी, फलफूल र तरकारीबाट मात्रै पनि गाउँलाई समृद्ध बनाउन सकिने बताउँदै उनले भने – ‘राज्यले मल, बिउबिजनमा सहुलियत दिनु पर्छ, सिँचाईको व्यवस्था गर्नुपर्छ । उत्पादित सामग्रीको बजारको सुनिश्चितता पनि राज्यले नै गर्नु पर्छ, । र, श्रम गर्ने वर्गको सम्मान हुनु पर्छ । अनि मात्रै किसानमा अपनत्वको बोध हुन्छ । सँगसँगै जीवनस्तर पनि उक्सिन्छ ।’

नेपाल सुपारी खेती विकास संस्थाका महासचिव, नागरिक समाज बाहुनडाँगीका अध्यक्ष, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष, एमाले जिल्ला सदस्यसहित विभिन्न संघसस्थाको नेतृत्व गरिरहेका तिवारी झापा, मोरङ, सुनसरी, इलामसहित पूर्वका विभिन्न जिल्लाका किसानलाई आर्थिक रुपमा समृद्धि बन्न प्रेरित गर्दै आएका छन् । ‘कृषकहरुमा अझै धेरै गतिशिलता चाहिन्छ’, उनी भन्छन् – ‘आफ्नो श्रम र क्षमतामा विश्वास गर्नुपर्छ, सफल हुन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: