किसानको उत्पादनमा बिचौलिया हावी

  प्रकाशित मिति
२३ पुष २०७७, बिहीबार २१:०१



झापा, २३ पुस । ः किसानले उत्पादन गरेको ताजा तरकारी विचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् ।

झापाको भद्रपुर र अर्जुनधारामा व्यावसायिक रुपमा बेमौसमी लहरे तरकारी उत्पादन गर्दै आएको मामा भान्जा कृषि फार्ममा प्रति केजी रु. ३० का दरले फर्सी र रु. ४० ले बोडी विक्री भइरहेको छ । तर, फार्मभन्दा केही किलोमिटर टाढा रहेको भद्रपुर र चन्द्रगढी बजारमा फर्सी प्रतिकेजी रु. ७० र बोडी रु. ९० का दरले बिक्री हुने गरेको छ ।

उत्पादक किसान र उपभोक्ता बीचमा दोब्बर मुनाफा राखेर बजारमा तरकारी विक्री हुँदै आए तापनि कुनै निकायले यसको अनुगमन गरेका छैनन् । विचौलिया हाबी हुँदा मूल्य नाजायज ढंगले बढाइएको छ । त्यसको लाभ पाउनबाट वास्तविक किसान र उपभोक्ता बञ्चित छन् ।

झापामै ठूलो परिमाणमा व्यावसायिक तरकारी खेती गर्ने मामा भान्जा कृषि फार्मले बार्षिक नौ हजार मेट्रिक टन बेमौसमी तरकारी उत्पादन गर्दै आएको जनाएको छ । बचिौलियाको हातमा उत्पादन बेच्नु परेको कारण मनग्य फाइदा उठाउन नसकिएको फार्मका सञ्चालक निर्मल अधिकारी बताउँछन् ।

“बजारीकरणको समस्या छ, आफैंले बेच्न लैजान सकिदैन”, उनले भने “बाध्य भएर विचौलियालाई दिनुको विकल्प छैन, उनीहरुले बजारमा बेच्ने मूल्यभन्दा आधा मात्र दिन्छन् ।”
सो फार्मले अर्जुनधारा, मेचीनगर र भद्रपर नगरपालिकामा ३० विगाह जमिन लिजमा लिएर लहरे तरकारी खेती गर्दै आएको छ । भद्रपुर–४ गौशाला नजिक १६ विगाह जमिनमा फार्मले यतिबेला फर्सी, करेला, काक्रा, बोडी, टमाटर, सिमीलगायतका तरकारी लहलह फलाएको छ ।

फार्मबाट किनेर ल्याएको फर्सी प्रतिकेजी रु. ७० ले बेच्ने गरेका भद्रपुरका खुद्रा व्यापारी श्यामनारायण साहले खरिद मूल्य रु. ६० पर्ने गरेको दावी गरे । “हामीले बिचौलियासँग प्रतिकेजी रु. ६० का दरले फर्सी किन्छौं”, उनले भने, “दश रुपैयाँ मार्जिन राखेर विक्री गर्दा अलिकति महंगो भइहाल्छ नि ।”

फार्मका सञ्चालक अधिकारीले चाँडै आफैंले तरकारी विक्री कक्षहरु खोल्ने तयारी गरिरहेको बताउनुभयो । उनले भने, “किसान र उपभोक्तालाई सिधै जोड्न र सुलभ मूल्यमा तरकारी उपलब्ध गराउन भद्रपुर, मेचीनगर र अर्जुनधारामा विक्री कक्ष खोल्ने तयारीमा छौं ।”

सीमापारि भारतबाट भित्रिने तरकारीभन्दा स्वदेशी तरकारी नै उपभोक्ताको रोजाइ हुने गरेको छ । यसबाट स्थानीय कृषि फार्महरु फस्टाउने वातावरण बन्दै गएको छ । तथापि, बजारमा बिचौलियाको बिगबिगी भएका कारण उपभोक्ता महँगीको मारमा र उत्पादक किसानहरु भाउ नपाएर नोक्सानीमा पर्ने बिडम्बना उत्पन्न भएको छ ।

बेमौसमी लहरे तरकारी खेतीबाटै वार्षिक रु. एक करोड आम्दानी गर्दै आएको मामा भाञ्जा कृषि फार्ममा कोभिड १९ को महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएका ४५ युवाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: