झापा, २८ वैशाख । लगानीको दोब्बर मुनाफा हुने आशाले पन्ध्र कठ्ठा जमिनमा टमाटरको व्यावसायिक खेती गरेका मेचीनगर–२ का रमेश दंगाल अहिले नबिकेर कुहिन लागेका टमाटर हेर्दै पुर्पुरोमा हात राख्न बाध्य छन् । कोभिड–१९ को सङ्क्रमण रोक्न लगाइएको बन्दाबन्दीका कारण व्यापारीहरु आउन छाडेपछि टमाटर बारीमै खेर गएको छ ।
“बारीभरि टमाटर पाकेर राताम्य छन्, विक्री छैन”, बन्दाबन्दीको मार खेपिरहेका दंगाल भन्छन्, “सबै लगानी डुब्यो, भोक न निद्राको स्थिति सिर्जना भयो ।” उहाँले रु. ४ लाख खर्चेर हुर्काएका ११ हजार बोटमा यतिबेला लटरम्म टमाटर पाकेका छन् ।
कोराना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीको प्रत्यक्ष मार किसानमा परेको छ । लाखौं खर्च गरेर लगाएको बाली पाके पनि बजारसम्म लगेर विक्री वितरण गर्न नसक्दा उनीहरु ऋणमा डुबेका हुन् । “यस्तो अवस्था आउँछ भन्ने सोचिएको थिएन”, उनी भन्छन्, “टमाटर राम्रो फलेको थियो दोब्बर आम्दानी हुने भयो भनेको त लगानी नै पो डुब्यो ।”
उनका बारीमा यतिबेला एक हजार क्वीन्टलभन्दा बढी टमाटर पाकेका छन् । भतिजा दिपेश दंगालले बर्षेनी टमाटरबाट राम्रो आम्दानी गरेको देखेर उहाँले पनि यस बर्षदेखि टमाटर खेती सुरु गरेको बताउँछन् ।
टमाटर खेतीमा होमिएका मेचीनगर–१४ का राजु राईको अवस्था पनि उस्तै दर्दनाक छ । उनले दुई बर्ष अघिदेखि दुई विघा जग्गा लिजमा लिएर टमाटर, बन्दाकापी र मकै लगायतको खेती गरिरहेका छन् । महेन्द्र राजमार्गको धाइजनमोडबाट एक किलोमिटर दक्षिणमा एक विघा जमिनमा १८ हजार टमाटरको विरुवा रोपेका थिए । जसमा ५० क्वीन्टल टमाटर फलेको अनुमान छ ।
बन्दाबन्दीका कारण उनले उत्पादन गरेका सबै टमाटर बारीमै कुहिएको छ । अरु बेला व्यापारी तथा विचौलिया बारीमा नै तरकारी लिन आउने गरेका भए पनि यसपाली कोही नआएको उनको भनाई छ । ‘वार्षिक रु. २ लाखभन्दा बढी आम्दानी हुन्थ्यो’, उनले भने, ‘यसपटक ५० केजी बिक्यो होला, अरु सबै बारीमै कुहिएर गयो ।’
उत्पादन गर्न हौसला दिने सरकारले उत्पादित वस्तुलाई बजारीकरण गर्न भने कुनै चासो नदिएको किसानहरुको आरोप छ । ‘हामी दुःख गरेर उत्पादन गछौँ’, राईले भने–‘गाउँ डुलाएर बेच्ने आफसँग कुनै साधन थिएन, यत्रो उत्पादन खेर जाँदा स्थानीय सरकारले चासो नदिएकोमा दुःख लागेको छ ।’
मेचीनगर नगरपालिकाको १, २ र ३ नम्बर वडाका किसानले २० विघा भन्दा बढी जमिनमा व्यावसायिक रुपमा टमाटर खेती गर्दै आएको मेची मूल कृषक समूह मेचीनगरका अध्यक्ष पूर्णबहादुर कटुवाल बताउँछन् । उनका अनुसार अधिकांश किसानले जग्गा लीजमा लिएर टमाटर खेती गर्दै आएका छन् । प्रत्येक किसानले पाँच कठ्ठादेखि २ विघासम्ममा टमाटर लगाएका छन् । उनीहरु सबैको लगानी यसपाली बन्दाबन्दीले गर्दा डुबेको छ ।
“बर्षौदेखि व्यावसायिक खेती गर्दै आएका किसान बन्दाबन्दीको मारमा परे”, उनी भन्छन्, “सुरुमा भारततिरबाट खुला र लुकीछिपी भित्रिने टमाटरले स्थानीय उत्पादनलाई बजार पुग्नै दिएन, नाका बन्द भएपछि बोलाउँदा बजार सबै बन्द छ भन्दै खरिदेहरु आउन मानेनन् ।”
उनले टमाटर विक्री नहुँदा किसानलाई ऋणको चिन्तामाथि विहान बेलुकाको छाक टार्न समेत समस्या हुन थालेको बताए ।
हिउँदमा पाकेको टमाटर लामो समयसम्म बोटमा टिक्दैन । गर्मीमा दुई तीन दिनपछि बोटमै कुहिने उनी बताउँछन् । गत बर्ष प्रतिकेजी रु. ४० मा विक्री हुँदै आएको टमाटर यस बर्ष भने प्रति किलो रु. ७ दिदा समेत विक्री नभएको किसानहरु बताउँछन् ।
विगतमा विर्तामोड, धरान, विराटनगरका व्यापारी आफैं आएर राम्रै दाम दिएर लैजाने गरेको टमाटर यस बर्ष किसानले कयौं पटक बोलाउँदा समेत कोही नआएको गुनासो छ ।
“विर्तामोडको कृषिथोकसम्म पुर्याउँदा प्रति क्यारेट रु. २५० देखि ३०० सम्म दिन्छन्”, उनले भने, “त्यसमा पनि व्यापारीलाई १० प्रतिशत कमिसन दिँदा प्रतिकेजी रु. सात पनि किसानको भागमा पर्दैन ।” यसपाली कृषि थोक बजारसम्म उत्पादनलाई पुर्याउन नपाउँदै नोक्सानी भएको किसानहरुको गुनासो छ ।
एक क्यारेटमा २३ केजी हुने किसानको भनाई छ । बजारमा यतिबेला व्यापारीले मूल्य रु. ३५ देखि ४० सम्ममा टमाटर विक्री गर्दैै आएका छन् । दुःख गरेर किसानले गरेको खेतीको फाइदा विचौलियाले लिने गरेको उनीहरुको आरोप छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्र झापालाई समेत किसानहरुले टमाटर विक्रीको लागि पहल गरिदिन आग्रह गरेका छन् ।
(अम्बिका भण्डारी/रासस)