‘कि त्यल्लाई देखा ! होइन भने तँ मरिस्’

  प्रकाशित मिति
२ श्रावण २०७३, आईतवार ११:०६


    punya kharelपुण्यप्रसाद खरेल

असारका सुरुसुरुका दिन खडेरी खडेरीकै बेला । गर्मीले टपक्क ज्यानै लिने जस्तो छ । किसानको जीवन त साँच्चै हुर्मतकै जीवन हो । यति दुःख र भुर्नहत्ते गरेर पनि एक पेट खान र एक आङ लगाउन नपुग्ने भनेको त हरिबिजोक नै हो नि त । गर्यो–गर्यो गर्यो–गर्यो, मङ्सिरमा गेडो मुठो जम्मा गर्यो, यति यति अलिकति हुन्छ । त्यसैबाट नून–तेल, त्यसैबाट हाट–बजार, त्यसैबाट लुगाफाटो, त्यसैबाट पाहुनापाछो, त्यसैबाट जोगीनेगी, त्यसैबाट चाडवाड । तैपनि त पुर्याउनै पर्यो । त्यसमाथि सामन्तहरूका बाङ्गा आँखा परिरहेका हुन्छन् ।

खेतीपातीको पिरोलो त के पिरोलो र ! आफ्नो सुतीखेती एक ढुक्कले गरिखान पाए त हुनसम्मको खुसी मान्दा पनि हुन्थ्यो ! तर किसानले उज्यालो मुख लाउनै नहुने यो देशमा सामन्तको झटारो खप्नु पर्ने एकातिर हुन्छ भने पुलिस–प्रशासनको लात्तेभकुण्डो पनि हुनुपर्छ । त्यसमाथि साँप्रामाथि पिंडो थप भएर अहिले पुलिसले राजनीतिको निहुँ पाएको छ ।

दिनभरिको कामको झटारोले लथ्रक्क परेर बलेंसीमा थचक्क बसेथे कृष्ण । त्यस्तै गलेकी धनमायाँ भने त्यसरी बस्न पनि पाइनन् । अगेनो उनैले जलाउनुपथ्र्यो, दुई गाँस भुलुक्क उनैले उमाल्नुपथ्र्यो । भित्र पसेर धुनीफुनीमा लागेकी मात्र थिइन्, वाहिर बुटका आवाज गड्याप्–गड्याप् बजे । झसङ्ङ भइन् धनमायाँ । यो बुटको आवाज उनका लागि सबभन्दा त्रासद हो । उनका आङभरि काँडा उम्रिए । डराउँदे वाहिर आइन् । उनका आँखामा भयानक तस्वीर देखापर्यो– कृष्णका छातीअगाडि बन्दुकको मुहरी छ र पुलिस ठ्याङ्ङ पार्न खोजे झैं छ । आत्तिएर उनी कृष्णेका अगाडि उभिन पुगिन् र भनिन्– “मलाई मार ! जे गर्नु छ मलाई गर ! यी विचरा गौप्राणीलाई क्यै नगर !”

कृष्णेका वरिपरि ५ जना पुलिस थिए । धनमाया पनि पुलिसका घेराभित्र नै परिन् । एक जना पुलिसले धनमायाका कपालमा कर्याप्प समाएर लछार्दै दैलाका ठेलातिर धकेलिदियो । करायो पनि– “तैंले बाठी हुने काम छैन । अब तेरो लोग्ने बचाउने हो भने त्यो चण्डे कि जण्डे भन्ने टाउको कट्टा कहाँ छ ? त्यो ठेकान लाउनु पर्छ !”

उता बन्दुक समात्ने पुलिसले बन्दुकको मुहरीले कृष्णेको छातीमा घोच्तै भन्यो– “त्यो जण्डे कहाँ लुकाको छस् भन् ! कि त्यल्लाई देखा ! होइन भने तँ मरिस् आज !”

अरु ३ जना पुलिस खम्बा जस्तो भएर उभिएका उभियै थिए । तिनीहरूको अनुहारमा देखिने क्रुरताले कृष्णेको मुटु हुनसम्म थर्केको थियो । कृष्णेको कुनै होसहवास थिएन । उनी डरले बेहोस भैसकेका थिए । उनी गोलीको डर होइन, गोली हानिसकेको जस्तै भैसकेका थिए । उनका आँखा त खुल्लै थिए । उनले आँखा नझिम्काई एकोहोरो आँखा पल्टाएका थिए । उनी दृष्टिशून्य भएका थिए । पुलिसले बन्दुकको मुहरीले घोच्ता पनि, धकेल्दा पनि कुनै प्रतिक्रिया नजनाई एकोहोरो आँखा हेरेको हेर्यै गरे । उनको अनुहार फुस्रो भएको थियो ।

punya sir“बोल ए टाउको कट्टाका पित्र ! त्यो अपराधीलाई कहाँ लुकाएको छस् ? त्यल्लाई देखाइनस् भने आज तँ ? … के भन्नु र ? तेरो खैराँत छैन आज !” अर्को पुलिस कृष्णेलाई हप्काउन लाग्यो ।

कृष्णेका आँखा खुल्लाका खुल्ला थिए । उनले डराउनु, जोगिनु, बोल्नु केही प्रतिक्रिया देखाएनन् । पुलिसलाई पनि शङ्का लाग्यो– ‘बेहोस् भयो कि क्या हो ?”

उता धनमाया लोग्नेको त्यस्तो अवस्थाको छनक पाएर झन् आत्तिई । “के भयो ? के भयो तपाईंलाई ? दाजु कहाँ छन्, थाहा छ भने भन्दिनू !” उनी कृष्णेतिरै जान खोजिन् । एउटा पुलिसले च्याप्पै अँगालो हालेर समायो र पछाडितिर तान्यो । भएभरको बल लगाएर त्यो पुलिसबाट उनी फुत्किइन् र अकास थर्किने गरी चिच्याइन्– “गुहार ! … … गुहार् गुहार् ! … पुलिसले मेरा लोग्नेलाई मारे है ! गुहार् !…”

धनमायाको आवाज माथि भोटेटारको ठुलो रुखमा ठोक्कियो, तल बुधबारेको ठुला घरको भित्तामा ठोक्कियो, चन्द्रकान्तेको घरको बुर्जामा ठोक्कियो । उनको त्यो डरलाग्दो आवाज त…ल एकान्तमा कुलकुलाउँदै बग्दै गरेको हँडिया खोलाको बगरमा पनि ठोकियो र प्रतिध्वनित भएर ‘गुहार् गुहार् …’ गर्दै अलिक मसिनो स्वरमा यहीं फिर्ता पठायो । केहीलाई त्यो आवाज, त्यो चित्कार संगीत जस्तो पनि लाग्यो होला । कृष्णेका छिमेकीहरूमा यस आवाजले खतराको घण्टी बजायो । साँझ पर्न लागेको बेलाको यो ‘गुहार’ सुनेर आए छिमेकीहरू आवाज पैल्याउँदै ।

महेन्द्री पनि पो आइपुगिन्, पर्तिर ढकाल्नी आमै आइन् । उनको छोरो लठेब्रो लठेब्रो थियो, उ पनि सामसाम सुमसुम गर्दै आइपुगेछ । गर्दागर्दै ४÷५ जना मान्छे आए । पुलिसले झेनाकुल्टुङ पार्न लागेको कृष्णेको अवस्था देखेर र विचेत जस्तो कृष्णेको अवस्था देखेर महेन्द्री कराइन्– “मार्यौ कि क्या हो यी विचरा सोझो कृष्णलाई ? मान्छेले आफ्नो एक लग काम गरेर खान पनि नपाउने ? के यो निराजको मुलुक हो ? ए जेमराज हो ! हान हामी सप्पै गाउँलेका छातीमा गोली ! विचरा सोझा जनता मार्न आएका हौ भने एक–एकलाई ताकेर हान ! … को ? कहाँ ? के गर्छ ? आएर सोझासाधा माथि रिस थुर्छौ ! के बिराए यिनले ? के गल्ती गरे यिनले ?”

पुलिस अरगज्ज परे एक छिन् । बन्दुक ताकेकाले बन्दुक झार्यो र काँधमा झुण्ड्यायो । कृष्ण नचल्मलाईकन त्यही अवस्थामा बसिरहे ।
“हामी चण्डीलाई खोज्दै आएका । चण्डी कहाँ छ देखाइ दिए हामी क्यै गर्दैनौं । भर्खर यतै आएको पत्तो पाएका छौं । यिनेरलाई थाहा छ त्यो नक्सलाइट कहाँ छ । त्यसको ठर–ठेगाना नदिने हो भने आज यो, यस्की स्वास्नी दुबैलाई लैजान्छौं ।” एउटा पुलिसले भन्यो । पाँचै जना पुलिस एकतिर उभिए ।

“तिमेरका बाबुआमा, दाजुभाइ, भाउजू–बुहारी कोही छैनन् ? तिमेरलाई यही खैरा लुगाले सधैं सप्पैथोक पुग्छ भन्ने लागेको छ ? हामी त पुलिस पनि हाम्रै भाइ–बन्धु, हाम्रै मित्रहरू सम्झन्थ्यौं ! के गरेको यस्तो बाघ–भालूको जस्तो पारा ? चण्डीका रिसले कृष्णलाई किन यस्तो ? अहिले तिमेरु कहाँ के के गर्छौ ? त्यसको सजायँ तिमेर्का दाजुभाइ, आमाबुबाले पाउने होइन त ! जुन उम्लोमा बिष लाग्छ त्यही उम्लो झर्छ । प्रहरी भाइ हो ! एउटा बिराउने शाखा पिराउने गर्नु हुँदैन नि ! …” महेन्द्रीले लामै कुरा भनिन् ।

“के ‘दाजुभाइ, भाउजू–बुहारी हुनेले पुलिसको जागिर नखानू’ भनेको ? पुलिस–सेना बिना देश चल्छ ? संसारका कुन देशमा पुलिस छैनन् ? पुलिसबिनाका देश देखाउनू त !” एउटा पुलिसले प्रश्न गर्यो ।

“संसारभरि सप्पै देशमा पुलिस पनि छन्, हुनु पनि पर्छ । नियम–कानुन पनि छ नि भाइ ! तिमीहरू पुलिसै भए पनि बिनाबित्थामा कसैलाई कुट्न, पिट्न, हप्काउन, बाँधछाँद गर्न पाउँदैनौ नि ! यी कृष्णले के विगार गरे र बन्दुक ताक्यौ ? अरु देशमा पनि पुलिस छन्, तिमीलाई थाहा रैछ, त्यहाँ पनि पुलिस गाउँमा गएर त्यस्सै जनताका छातीमा राइफल सोझ्याउँछ ? निर्दोष जनतालाई त्यस्सै हप्काउँछ ? कुटपीट गर्न पाउँछ ? ती देशमा पुलिसले यति गर्ने हो भने त त्यसलाई फुली निकालेर सुली चढाउँथे । पुलिसलाई सुरक्षाकर्मी भन्छन् त्यहाँ थाहा छ ?” महेन्द्रीले पुलिसलाई तालाबाला पारिन् ।

“ती देशमा त जनता पनि अर्कोको टाउको काट्तै हिड्दैनन् नि ! जनता पनि नियम कानुन मान्ने गर्छन् । सप्पै नियम–कानुनमा बसेपछि सजिलो हुन्छ । तपाईंहरू पुलिसलाई अचाडु देख्नुहुन्छ । पुलिस नहुने हो भने जो बलियो उसैको मनपरी सुरु हुन्छ । हो कि होइन लु भन्नु त ? निर्धा–निमुखाले बाँच्न कठिन हुन्छ ! पुलिसको गुन पनि देख्नु पो पर्छ त !” पुलिस पनि पछि परेन बोल्न ।

“एक जना कसैले कसैलाई मार्यो भने अनि पुलिस तथानाम् जस्लाई पायो उसैलाई समात्तै राईफल सोझ्याउँदै हिड्छ ? हो, तपाईंहरूले भने झैं पाखुराको बलियो हुनेले, तिघ्राको बलियो हुनेले निर्धालाई हेपेको पनि हेर्नुपर्छ । धनको बलियो हुनेले धनको निर्धालाई बाँच्न कठिन पारेको पनि हेर्नुपर्छ । बलियो भनेको त पाखुराको मात्रै होइन क्या ! तिमेरु पुलिसकै बाबुदाजुहरू पनि यस्तो अन्यायमा परेका होलान् भनेको पो त मैले त ! हाम्रो गाउँ–समाजको होची–अर्घेल्याइँ कतिको हेरेका छौ ?” महेन्द्रीले सोधिन् ।

“ए ऽ हामीलाई चाहिएन यो दस थोक् !”– अर्कोचाहिं पुलिस अलिक झर्कियो । “यहाँ, यिनीहरूसँग वादविवाद गरेर के फाइदा छ ? यी त के–के भन्छन् भन्छन् नि ! यी राजाका विरोधीहरू, यी व्यवस्थाका विरोधीहरू ! काम गर्छन् एक थोक, अनि कुरा गर्छन् अर्कै थोक । यी घरबसी लङ्का चाहार्नेसँग कुरा गरेर समयको नाश ! … भयो !ऽ अब त्यो टाउको कट्टा कसका घरमा पस्या छ ? मान्छे खोजेर निकाल्न कति अप्ठेरो ! ती जता गयो तेतै बिलाउँछन् । साँच्चै तेलपानी एकै ठाउँ पिना बाहिर ! हेर त ! हामी नै पो अचाडु है यहाँ पनि । अनि ? …जौं ! अब कता जाने हो, जौं !”
“जानू जानू ! तर सम्झिनू नि ! जनता तपाईंहरूका शत्रु हैनन् ! जनतालाई शत्रु नमान्नू ! जसलाई पक्रेर ले भन्छन् त्यसलाई भेटियो भने पक्रिएर पुर्याउनू नभए अरुलाई दुःख नदिनू ! जागिर खाएपछि अराएको त गर्नु पनि परो ! जानू ! अब साँझ पनि परो !” महेन्द्रीले भनिन् ।

“हामीलाई जानू, बस्नू भनेर अराउने काम तपाईंको होइन । हामी आफूले के गर्नुपर्ने हो जानेका छौं । ठिकै छ”– लोसोलोसो हुँदै उठ्न लाग्दै अर्कै पुलिस बोल्यो ।

अँध्यारो हुन लाग्यो र भनेकी । बस्नु नै हुन्छ भने, गरिबका घरमा पाकेको सितो–पिठो जे हुन्छ खाने हो, बस्ने हो भने बसे पनि हुन्छ !” महेन्द्रीले भनिन् ।

“होइन तपाईं त निकै सिपालु पो हुनुहुँदीरहछौ त बोल्न त ! यहाँ बुधबारेकी भागिरथा आमै के पर्नुहुन्छ ?” एउटा पुलिसले सोध्यो ।
“ती भागिरथा आमै हाम्रै नेता हुन् ! उनै हुन् हाम्री गुरु !” महेन्द्रीले जवाफ लाइन् ।

“भागिरथा मात्तै देख्यौ बुधबारेमा ?” ढकाल्नी आमै पनि बोलिन्– “दुई–चार बोली बोल्न सक्ने निक्कै छौं यहाँ । आइमाई भनेर हेपिन अब मान्दैनौं । अब यी यो धनमायालाई आज तिमेर्ले पढायौ । मान्छेलाई अत्याचारले पनि पढाउँछ नानी हो !”

धनमायाको मुख अलिक उज्यालो भयो । उता कृष्णको अनुहारको रङ पनि अलिक रातोरातो भयो । जो बोल्छ उसैको मुख टुलुटुलु हेर्दै थिए उनी । पुलिसको हात नपरेका कृष्ण एक्कासि राइफलले छाती ताक्ता होस–हवास नउडोस् कसरी र !

पुलिसहरू गड्याप् गड्याप् आउँदा झैं गरी गड्याप्–गड्याप् बाटो लागे । महेन्द्रीले कृष्णलाई हातमा समाएर उठाइन् । उनी लोसेलोसे हुँदै उठे ।

“तपाईं त स्यालाक्कै भए जस्तै देखें मैले त ! अनुहार पनि फुस्रो न फुस्रो । आँखा पनि एकोहोरो हेर्नुभएको । के भको त्यस्तो ?” धनमायाले सोधी ।

“होइन, आँखा झिमिकमा तिनीहरू आँगनमा ओर्लिसक्ता त बन्दुक पो उजाएर आइहाले ! मलाई त बिताएछन् भन्ने लाग्यो । झपक्क अँध्यारो जस्तो भैराथ्यो । भरे यी महेन्द्री भाउजू बोलेको पो कानमा पर्यो । अर्थोक त केही थाहै भएन” कृष्णले भने ।

“अनि ? म त्यत्रो कराउँदै तपाईंका अगाडि आएँ, ‘लु बरु मलाई मार !’ भनें । त्यो पुलिसले मलाई घँच्याटेर यहाँ दैलाका ठेलामा ल्याइपुर्यायो । तपाईंले क्यै थाहा पाउनुभएन ?” धनमायाले सोधिन् ।
“हन, त्यत्रो काण्ड पो भयो ?” कृष्णले भने ।

“अझ तपाईंलाई राइफल सोझ्याएपछि अनि म चिच्याएँ– ‘गुहार् गुहार !!” भनें । म कराएको सुनेर होला महेन्द्रीदिदीहरू आउनुभएको” धनमायाले दुःख पोख्तै भनिन् ।

“ल ! ल ! अब बस्नू ! अप्ठेरो पर्दाओर्दा खवर गर्ने गर्नुपर्छ । यस्तै हो ! पकाउनू खानू ! धनमाया बहिनी ! छन् नि चामल–सामल त ?” महेन्द्रीले सोधिन् ।

“छन् दिदी छन् ! मकैका भने मकैका, धानका भने धानका पनि छन् दिदी !” धनमायाले भनिन्– “पुलिसले हप्काएको, अँत्याएको, ताहुर–माहुर गरेको त कति हो कति दिदी ! कहिले आएर टाउको कट्टालाई पनि पकाएका छौ ? भन्छ । भात खाएर अलिकति उभ्रिएको भेट्यो अस्ति एक दिन, उखपातै गरो । कति निहुँ खोज्न जानेको ? कति अत्तो थाप्न थानेको ? खप्ता खप्ता खपिनसक्नु !”

ढकाल्नी आमै, महेन्द्री कुरा गर्दैगर्दै बाटो लागे । धनमाया र कृष्ण पनि घरभित्र पसे ।

(२०७३ साउन १ गते शनिवार प्रकाशित )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: