‘कि पुनर्वास, कि मुआब्जा देउ’

  प्रकाशित मिति
१९ माघ २०७४, शुक्रबार १०:५६


 

काँकरभिट्टा । एसियाली हाइवेको फोर लेन सडकसँगै मेचीमा नयाँ पुल बन्ने भए पछि मेचीनगर–६ मेचीडाँडाका २७ परिवार विस्थापित हुने त्रासमा छन् ।

विस्थापितको जोखिममा रहेका मेचीडाँडाबासीले बस्ती हटाउनु अघि यहाँका बासिन्दालाई पुनर्वास वा मुआब्जाको उचित व्यवस्था मिलाउनु पर्ने माग गरेका छन् ।

एसियाली विकास बैङ्कको करिब १ अरब ५० करोड लगानीमा मेची नदीमा फोरलेनको नयाँ पुल निर्माण हुने तरखर चलिरहेको छ । पुलसँगै एसियाली हाइवे नेपालसँग जोडिने छ ।

एसियाली हाइवेले भारत, नेपाल, भूटान, बङ्गलादेश, श्रीलङ्का लगायतका दक्षिण एशियाली मुलुकहरुलाई सडक सञ्जालले जोड्ने छ ।
तर यो पुल र एशियाली हाइवेको लिङ्क रोड निर्माण हुँदा विस्थापित हुने सूचीमा परेका मेचीडाँडाबासीलाई के गरिने हो भन्ने विषयमा हालसम्म ठोस निर्णय हुन सकेको छैन ।

बस्ती हटाइने निश्चित भए पनि त्यहाँका परिवारलाई कहाँ पुनर्वास गर्ने वा कति मुआब्जा प्रदान गर्ने भन्ने विषयमा नेपाल सरकारले नै निर्णय गर्नु पर्ने सम्झौता रहेको बुझिएको छ ।

सामान्य व्यापार व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका मेचीडाँडाबासीमा विस्थापित हुने खबरले चिन्ता थपेको छ ।
मेचीनगर नगरापालिकाको प्रतिनिधिमण्डल यसै विषयमा समाधान खोज्न यतिबेला राजधानी दौडाहामा छ । मेयर विमल आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल राजधानी गएको हो ।

‘अब हामी कहाँ जाने ?’, विस्थापितको सूचीमा परेका मेचीडाँडाका कुमार पाठक भन्छन्–‘यतिका वर्षदेखि यहि ठाउँमा बसोबास गर्दै आएका छौँ । बस्ती हटायो भने जाने ठाउँ अन्त कहिँ छैन ।’

नयाँ पुल बनिने खबरले एकातिर खुशी थपे पनि विस्थापित हुने विषयले स्थानीयबासीमा पीडा दिएको पाठक बताउँछन् ।
‘हाम्रो बसोबासका लागि सरकारले उचित व्यवस्थापन गर्नुपर्छ’, पाठक भन्छन्–‘हामी अहिलेको ठाउँ छोड्न तयार छौँ, तर जाने ठाउँ पहिले देखाइदिनु पर्यो ।’

मेचीडाँडाबासीले आफ्नो बसोबासको ग्यारेन्टीका साथ व्यवस्थापन गर्न स्थानीय सरकार (मेचीनगर नगरपालिका)सँग समेत माग गरेका छन् ।
मेचीडाँडाका धेरै मानिसको धनीपुर्जा छैन । ग्रामीण आवास कम्पनीले उनीहरुलाई धनीपूर्जा दिइसकेको छैन । धनीपूर्जा अभावका कारण मुआब्जाका समस्या आउने हो कि भन्ने पनि स्थानीयवासीमा चिन्ता छ ।

‘हामी पुल र सडक निर्माणका लागि बस्ती छोड्न तयार छौँ’, पीडित कोपिला खत्री लोकतन्त्र पोस्टसँग भन्छिन्–‘तर हाम्रो उचित व्यवस्थापन हुनु पर्छ, नत्र हामी कहाँ जाने ?’ स्थानीय जनप्रतिनिधि, सांसद र राजनीतिक दलहरुले स्थानीयवासीलाई घरजग्गाको उचित मुआब्जा दिलाउने र उचित बासको प्रबन्ध मिलाउने आश्वासन दिदै आएका छन् । हालैको चुनावमा समेत यो विषयले चर्चा पाएको थियो ।

एशियाली विकास बैङ्कका प्रतिनिधिहरुको टोलीले मेचीडाँडामा बस्ती हटाउनु पर्ने सिमाङ्कन गरेको थियो । उनीहरुले सडकको सम्भावित क्षेत्रमा रातो घेरा समेत लगाएका छन् । त्यो रातो घेराभित्र हाल २७ घर परिवारको बसोबास छ । तर यो सङ्ख्या अझ बढ्ने सम्भावना समेत देखिन्छ ।
सीमामा पुल बन्ने भएकाले यसका लागि नेपाल सरकार र भारत सरकारबिच सम्झौता समेत भइसकेको छ । पुल निर्माणका लागि आरए आइपीएल कम्पनीले ठेक्का लिएको छ । हालको मेची पुल भन्दा उत्तरतर्फमा नयाँ पुल निर्माण हुने भएको छ । उक्त पुल ३ वर्षमा निर्माण सम्पन्न हुने सीमाङ्कनमा आएका इन्जिनियर राकेश सिंहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: