मेचीनगर । खुला सीमाको नाजायज फाइदा उठाउँदै हुने गरेको भारतीय कुखुरा, अण्डा र मासुको तस्करी रोक्न नेपाली कुखुरा पालक किसान र व्यवसायीले जोडदार माग गरेका छन् ।
झापा जिल्ला कुखुरा व्यवसायी सङ्घको आह्वानमा शनिवार सयौं किसान तथा व्यवसायीले भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै काँकरभिट्टामा चेतनामूलक र्याली र अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
काँकरभिट्टामा माविको प्राङ्गणबाट दिउँसो निस्किएको र्यालीले बजार र नाका परिक्रमा गरेको थियो भने त्यसपश्चात मेची बस व्यवसायी कम्पनीको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
र्यालीका सहभागीहरुले भारतीय कुखुरा भित्र्याउन पाइँदैन, किसान मास्न पाइँदैन, भारतीय कुखुराको तस्करी बन्द गर, तस्करीमा संलग्नलाई कार्वाही गर लेखिएका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै झापा जिल्ला कुखुरा व्यवसायी सङ्घका अध्यक्ष विवेक निरौलाले भारतीय कुखुराको तस्करी बेलैमा नरोक्ने हो भने त्यसबाट मुलुकले नै ठूलो क्षति व्यहोर्नु पर्ने बताए ।
भारत सरकारले बर्ड फ्लु नियन्त्रण गर्न सक्दिन भनेर भनिसकेको अवस्थामा उताबाट लुकाइछिपाई कुखुरा र अण्डा भित्रिदा नेपालमा रोग भित्रिने उच्च जोखिम भएको अध्यक्ष निरौलाको भनाई थियो ।
नेपालमा २०६४ सालमा काँकरभिट्टामै पहिलोपल्ट बर्डफ्लु देखा परेको र त्यो रोग भारतबाटै भित्रिने कुखुराबाट आएको स्मरण गराउँदै रोग लाग्न दिनु भन्दा पहिले नै राज्य, सचेत नागरिक र आम व्यवसायी मिलेर कुखुराको आयात ठप्प बनाउनु पर्ने उनले बताए ।
उनले भारतीय कुखुराको अबैध आयातका कारण कुखुरा पालन गरिरहेका हजारौं किसानहरुको व्यवसाय नै धराशायी भएको र ऋण काढेर गरेको लगानी डुब्ने अवस्था सिर्जना भइरहेको गुनासो गरे ।
नाकामा रहेको प्रहरी र प्रशासनलाई भारतबाट कुखुरा, अण्डा र मासु आयातमा पूर्णतः रोक लगाउने सरकारी निर्णयको कार्यान्वयन गर्न आग्रह समेत गर्दै अध्यक्ष निरौलाले यस विषयमा सङ्का तर्फबाट दुईपल्ट जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र बुझाइसकेको जानकारी दिए ।
नेपाल भेटनेरी एसोसिएसन प्रदेश नं. १ का कोषाध्यक्ष सीताराम यादवले अन्तरक्रिया कार्यक्रममा बोल्दै केही होटल र व्यवसायीहरुले नै सस्तो मूल्यको लोभमा परी भारतबाट कुखुरा र मासु लुकाई छिपाई भित्राउने गरेको दावी गरे ।
प्रहरी र प्रशासनले कडाई गर्ने हो भने नाकाबाट भारतीय कुखुराको तस्करी ठप्प हुने जनाउँदै उनले अहिलेकै अवस्थामा तस्करी भइरहने हो भने कुनै पनि बेला बर्डफ्लु भित्रिने चेतावनी दिए ।
बर्डफ्लुबाट हालसम्म विश्वमा ७ सय ४७ जना मानिसको मृत्यु भइसकेको र यो रोग कुखुराबाट मानिसमा र मानिसबाट मानिसमा सर्न सक्ने सङ्क्रामक भएको यादवले बताए ।
सङ्घका अध्यक्ष विवेक निरौलाको अध्यक्षता र कोषाध्यक्ष नीलु कार्कीको स्वागत मन्तब्य रहेको अन्तरक्रिया कार्यक्रममा मेचीनगरका नगर प्रमुख विमल आचार्य प्रमुख अतिथि र झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल विशेष अतिथि रहेका थिए ।
नगरप्रमुख आचार्य र सहायक प्रजिअ पोखरेलले भारतबाट तस्करी भएर भित्रिने कुखुरा र पंक्षीजन्य बस्तुले बर्डफ्लु भित्राउने जोखिम बढेको र नेपाली पोल्ट्री व्यवसायलाई धराशायी बनाइरहेको स्वीकार गर्दै तस्करी नियन्त्रणमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।
नगर प्रमुख आचार्यले व्यवसायी र किसानलाई परेको पीरमर्का हटाउन स्थानीय सरकार सदैव तत्पर रहेको र नाकामा नियन्त्रण संयन्त्र बलियोसँग परिचालन हुने पर्ने बताए ।
सहायक प्रजिअ पोखरेलले मुलुक कुखुरा र अण्डामा आत्मनिर्भर रहेको जनाउँदै भारतबाट आयात गर्न आवश्यक नरहेको बताए ।
पोल्ट्री व्यवसायका कारण नेपालमा १५ लाख रोजगारी सिर्जना भएको र ८० अरब लगानी भइसकेको चर्चा गर्दैै पोखरेलले स्वदेशी व्यवसायको सुरक्षा गर्न र बर्डफ्लु भित्रिन नदिन प्रशासन कडाइका साथ लाग्ने बताए ।
उनका अनुसार झापा प्रशासनले भारतबाट कुखुरा र अण्डा भित्राउने दुई जनालाई मुद्धा लगाइएको र विगत २ महिनामा १२ क्वीन्टल मासु नाकामा बरामद गरिएको जानकारी दिए ।
कार्यक्रममा सङ्घका अध्यक्ष निरौलाले कुखुरापालन व्यवसायको वत्र्तमान अवस्था, बर्डफ्लु भित्रिने जोखिम र भारतीय कुखुराको तस्करीले निम्त्याएको सङ्कट बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले कार्यपत्रमा पंक्षीजन्य अबैध आयातलाई प्रतिबन्ध लगाए पनि कार्यान्वयन कडाइका साथ नभएको उल्लेख गरेका छन् भने स्थानीय नगरका वडाहरुको सम्भाव्यता अध्ययन गरी ‘पोल्ट्री क्षेत्र’ घोषणा गर्न माग गरेका छन् ।
बधशाला निर्माण गर्न, किसानहरुलाई तालिमको व्यवस्था गर्न र बजारको अनुगमन गर्न उनले माग गरेका छन् ।
(लोकतन्त्र पोस्ट दैनिक)